कस्मेटिक व्यवसायी संघको साधारणसभा

प्रदेशमा धमाधम कानून निर्माण : शर्मा

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
Cosmetic baybasai sangh_Fotor

गण्डकी प्रदेशसभा उपसभामुख सृजना शर्माले सरोकारवालासँग छलफल गरी धमाधम प्रदेशसम्बन्धी कानून निर्माण भइरहेको बताएकी छन्।

सरोकारवालासँगकै छलफलमा ३० वटा ऐन कानून बनिसकेको जानकारी दिँदै अन्य ऐन बन्ने तयारीमा रहेको उनले उल्लेख गरिन्।

कस्मेटिक व्यवसायी संघ कास्कीको छैटौं वार्षिक साधारणसभा उद्घाटन गर्दै उपसभामुख शर्माले प्रदेश संरचना नयाँ भएकाले सुहाउने गरी कानून निर्माणमा ध्यान दिइएको बताइन्। ‘सरकार र व्यवसायीको सहकार्यबाट मात्र समृद्वि आउँछ, ’ उनले भनिन्, ‘सरकार बलियो बनाउन र चलाउन व्यवसायीको साथ चाहिन्छ। ’

उनले महिला व्यवसायीलाई बलियो बनाउन पहल गर्ने प्रतिबद्वता व्यक्त गर्दै महिला मैत्री कानून बनाउन चाहेको बताइन्।

उपसभामुख शर्माले व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक रहेको औल्याइन्।

उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जिवबहादुर कोइरालाले पोखरा महानगरपालिकाले पुँजीमा आधारित रहेर निर्धारण गरेको कर अवैज्ञानिक र अव्यवहारिक भएको बताए।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दु सुवेदीले कर र घर भाँडासम्बन्धी समस्याबाट व्यवसायी नराम्ररी प्रभावित भएको बताइन्।

कार्यक्रममा पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष प्रेमबहादुर भुजेल, संस्थाका संस्थापक अध्यक्ष विष्णुप्रसाद बास्तोला, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष प्रदीपकुमार मुल्मी, सर्वेश्वर व्यवसाय समितिका अध्यक्ष एकनारायण पनेरु, कपडा व्यवसायी संघका महासचिव धर्ममान सिंह भण्डारी लगायतले बोलेका थिए।

त्यस अवसरमा १० जोड २ मा उत्कृष्ट अंक ल्याउने छात्र प्रतीक क्षेत्री र छात्रा कञ्चन भुजेललाई सम्मान गरिएको थियो। त्यस्तै, पुराना एवं उत्कृष्ट व्यवसायीका रुपमा जमालुद्दिन मियाँलाई सम्मान गरिएको छ।

साधारणसभाले महासचिव लक्ष्मणप्रसाद आचार्यको वार्षिक र कोषाध्यक्ष महेन्द्र पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ।

संघ अध्यक्ष उमापति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रेमप्रसाद सुवेदीले धन्यवाद ज्ञापन र महासचिव लक्ष्मणप्रसाद आचार्यले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width