सुनौलो बचतको निक्षेप झण्डै १८ करोड

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
Sahakari pic_Fotor

पोखराको बैदाम स्थित सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७५/०७६ अन्त्य सम्म झण्डै १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। संस्थाको १२ औं वार्षिक साधारणसभा एवं चौंथो अधिवेशनका अवसरमा कूल निक्षेप १७ करोड ९८ लाख २८ हजार ६ सय २६ रुपैयाँ रहेको जानकारी दिइयो।

अघिल्लो आर्थिक बर्षमा त्यस्तो निक्षेप ११ करोड ८६ लाख पाँच हजार सात सय चौवीस रुपैयाँ रहेको संस्थाका सचिव सोमबहादुर थापा मगरले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिएका थिए। संस्थाले अघिल्लो आर्थिक बर्षमा १२ करोड ४८ लाख १५ हजार सात सय १७ रुपैयाँ कर्जा लगानी गरेकोमा गत आर्थिक बर्षमा भने त्यस्तो लगानीमा वृद्धि गरी १५ करोड २४ लाख ३१ हजार ६ सय ९२ रुपैयाँ पुर्याएको थापाले सुनाए।

सहकारीले गत आर्थिक बर्षमा १५ लाख ५५ हजार नौ सय १३ रुपैयाँ नाफा आर्जन गरेको छ। उक्त सहकारीले बचत खातामा ८ देखि साडे ९ प्रतिशत सम्म र आवधिक बचत खातामा अवधिको आधारमा ९ देखि १३ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ। ऋण लगानीतर्फ भने १४ देखि १६ प्रतिशत ब्याज अशुल्ने गरेको छ।

यसैगरी आईएमई, प्रभू, हिमाल, वेष्टर्न युनियन, सम्सरा रेमिटहरूसँग सम्झौता गरी विप्रेषण कारोबार गर्दै आएको छ। क्यालेन्डर प्रकाशन, सहकारी तालिम, अध्ययन अवलोकन भ्रमण, सदस्यता विस्तार, आधुनिक बैंकिङ प्रणालीको सुरुवात, कर्माचारीलाई पोशाक व्यवस्था जस्ता गतिविधि पनि संचालन गरेको छ। सो सहकारीमा २८ जना महिला सहित कूल एक सय ११ जना शेयर सदस्य रहेका छन्। शेयर पुँजी भने आर्थिक बर्ष २०७५/०७६ मा दुई करोड ८८ लाख २१ हजार सात सय रुपैयाँ पुगेको छ।

सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले पहिला बैंकमा मात्र आधारित हुने आधिकारिक कारोबार सहकारीहरूको स्थापनाले विस्तारित र विविधिकृत भएको बताए। आफ्नो रकम आफ्नै सहकारीमा बचत गर्ने र त्यहींबाट ऋण लिएर लगानी गर्ने प्रचलने झनै सहजता थपिएको उनले सुनाए। सहकारीहरूमा नियमन र पारदर्शीताको आबश्यकता पनि उनले सो अवसरमा औंल्याए। जेजस्तो अवस्था भए पनि सहकारीलाई व्यवस्थित गर्न अव कसैले रोकेर नरोकिने उनले सुनाए। सहकारीहरूले बोनस बाँड्ने मात्र नभई सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने सुझाव उनले राखे।

सहकारीहरूले कागजमा मात्र काम नदेखाएर वास्ताविक काम गर्नुपर्ने र वातावरण संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले बताए। विदेश भ्रमण भन्दा स्वदेशमा नै सहकारीहरूले भ्रमण आयोजना गर्न सके राम्रो हुने तर्क पनि उनको थियो। सो अवसरमा उनलाई देश किन बनेन नामक पुस्तक आयोजक संस्थाका अध्यक्ष टिकाराम सापकोटाले मायाको चिनोको रुपमा प्रदान गरेका थिए। सापकोटाले सो अवसरमा आर्थिक गतिविधि र सहकारी अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताए। खासगरी साना तथा मझौला व्यवसायमा आधारित व्यवसायीलाई सहकारीको सदस्यता प्रदान गरी आफूहरूले कारोबार गर्दै आएको उनले जानकारी दिए। सोही अवसरमा उनले कर तिर्न सबै व्यवसायी तयार रहेको र तिर्दै पनि आएको भन्दै सरकारले पनि त्यसको बदलामा करदातालाई सेवा सुविधा दिन सक्नुपर्ने बताए। संस्थाका सल्लाहकार गणेशबहादुर भट्टराईले सो सहकारीले महिला सदस्य थप्न प्रयास गर्नुपर्ने सुझाव राख्दै शिक्षा र सामाजिक क्षेत्रमा पनि केही काम गर्नुपर्ने भनाई राखे। साना उद्योगलाई सहकारीले लगानी गर्नुपर्ने भन्दै उनले राष्ट्र बैंक र सरकारले पनि सहकारीलाई सहज हुने वातावरण सिर्जना गर्नुपर्ने सुझाव उनको थियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पर्यटन क्षेत्रमा छरिएर रहेको पुँजी संकलनमा उक्त सहकारीले राम्रो भूमिका खेलेको भन्दै सहकारीलाई अर्थव्यवस्थाको खम्बा भनिए बमोजिमको व्यवहार सरकारले गर्नुपर्ने भनाई राखे। संस्थाका उपाध्यक्ष भोजकुमार श्रेष्ठले पनि सो अवसरमा बोलेका थिए।

कार्यक्रममा सहकारीका सल्लाहकारहरू बच्चुराम तिवारी, गणेशबहादुर भट्टराई, डम्बर बहादुर केसी र विष्णुबहादुर गुरुङलाई सम्मान गरिएको थियो। यसैगरी उत्कृष्ट विद्यार्थीहरू कृतज्ञ पाण्डे र अभिरुची लम्साल, सेयर सदस्य त्रिसा श्रेष्ठ बोम्जन तामाङ, सरस्वती अधिकारी, खेमराज पौडेल, सूर्यनाथ पौडेल र उत्कृष्ट कर्मचारी गणेशबहादुर क्षत्रीलाई सो अवसरमा सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width