कांग्रेसको चुनावीसभा र घरदैलो अभियान जारी

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७६
congress (1)

पोखरा, ८ मंसिर । नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रम जारी छ । यस अभियान अन्तर्गत चुनावी सभा र मतदातालाई पार्टीको प्रतिवद्धता जनाउने कार्यक्रम हो ।

यो संगै घरदैलो अभियान पनि जारी छ । केही वडामा उम्मेदवारसहितको र केही वडामा नेता कार्यकर्ता सहितको घरदैलो जारी छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७/७ दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित गर्यो । तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए । ‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ । जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं’, सभापति केसीले भने, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं ।’

आइतबार पोखरा–२० भलाममा उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता एवं चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले जानकारी दिए । केही टोल बाहेक अधिकांशमा मतदाता भेटघाट सकिएको उनले बताए । वडा भित्र पनि कलष्टर छुट्याएर अभियान सञ्चालन गरिएको संयोजक शर्माले बताए । उनले भने, ‘टोलै पिच्छे छुट्टाछुट्टै समिति गठन गरेर अभियान अघि बढाएका छौं । साथै पार्टीका सबै संयन्त्रलाई पनि परिचालन गरेका छौं ।’

नेविसंघका नेता कार्यकर्ताले विद्यार्थी, महिला संघका नेता कार्यकर्ताले महिला, तरुण दलका नेता कार्यकर्ताले युवा, जनजाति संघका नेता कार्यकर्ताले जनजातिहरूसंग भेटघाट गरेको नेता शर्माले बताए । उनले भने, ‘कांग्रेस पार्टीप्रति विश्वास र उम्मेदवार खेमराज पौडेलको लोकप्रियताले मतदाता निकै उत्साहित छन् । कांग्रेसको पक्षमा मत दिन आतुर छन् ।’
यता, पोखरा १६ मा पनि घरदैलो अभियान जारी छ । जसअन्तर्गत पहिलो चरणमा मतदाता भेटघाट कार्यक्रम भएको छ । चुनाव प्रचार समितिका संयोजक कुमार खड्काका अनुसार यस क्षेत्रमा आगामी मंसिर ५ गते उम्मेदवारसहितको घरदैलो अभियान हुनेछ । त्यसको तयारी पनि भइरहेको र पार्टीका सबै संयन्त्र परिचालन गरि चुनाव प्रचार भइरहेको गण्डकी प्रदेशसभा सदस्य समेत रहेका नेता खड्काले जानकारी दिए ।

यस्तै, पोखरा–११ मा पनि चुनाव प्रचार अभियान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समितिहरू बनाएर अघि बढाइएको छ । संविधानसभा सदस्य समेत रहेकी उनले पोखरा–११ कांग्रेसकै पकड क्षेत्र भएको भन्दै यस क्षेत्रमा पहिला भन्दा डब्बल मत ल्याउन कांग्रेस सक्रिय भएर लागेका जानकारी दिइन् ।

यसैगरी पोखरा–९ मा घरदैलोमार्फत मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको चुनाव प्रचार समितिका संयोजक वीरेन्द्रनारायण विजुक्छेले जानकारी दिए । पोखरा–९ मा विगतका चुनावमा भन्दा धेरै भन्दा धेरै कत तान्न कांग्रेस सक्रिय भएर लागेको र मतदाता पनि निकै उत्साहित रहेको संयोजक विजुक्छेले बताए । यसैगरी पोखरा १७ मा पनि आइतबार अभियान जारी छ । यस वडामा केन्द्रीय सदस्य धनाज गुरुङ, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो । आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताए ।

यता, पोखरा–३३ मा आइतबार बिहानैदेखि घरदैलो अभियान जारी छ । अभियानमा उम्मेदवार खेमराज पौडेललगायत कास्कीका नेताहरू सहभागी छन् । उम्मेदवार पौडेलले पोखरा–३३ सबै क्षेत्रमा आइतबार घरदैलो र चुनावी सभा हुने कांग्रेसका केन्द्रीय सदस्य एवं सो क्षेत्रका चुनावी कमाण्डर जीवन परियारले जानकारी दिए । उनले पोखरा–३३ ठूलो वडा भएकाले आफूले धेरै दिन देखि खटिएर अधिकांश मतदातासंग भेटघाट गरिसकेको र केही मतदातासंग अझै भेट्ने कार्यक्रम रहेको बताए । उनले भने, ‘भेट्घाटका क्रममा जनताका गुनासा धेरै नै पायौं, अब उनीहरूका गुनासालाई पार्टीमा छलफल गरेर संवोधन गर्न तर्फ पनि ध्यान दिन्छौं ।’ उनले कांग्रेसप्रति जनताको विश्वास अझै कायमै रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width