ढोर दरबार पुनःनिर्माण हुँदै

रासस
जेठ २८, २०७६
61562479_2287445611506052_596118787552444416_n

दमौली, २८ जेठ (रासस) तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनःनिर्माण शुरु गरिएको छ । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको एक ढोर राज्यको यो दरबार संरक्षणको अभावमा खण्डहर बन्दै गइरहेकाले पुनःनिर्माणको थालिएको हो ।

ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको यो दरबारको संरक्षण गर्ने सकिए इतिहासबारे बुझ्न खोज्नेहरुका लागि उपयुक्त गन्तव्य बन्ने स्थानीयवासी बताउँछन् । पछिल्लो समय दरबारलाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना देखेर स्थानीयवासी संरक्षणमा जुटेको ढोर मूलकोट संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँण बताउछन् । उनले भने “शुरुमा दरबारको महत्व बुझिएन । अग्रजहरुले पनि संरक्षण गर्न जानेनन् । दरबारको महत्व बुझेसँगै संरक्षणमा जुटेका छौँ ।” दरबारसँगै कुटी, भैरव मन्दिर, खड्ग कालिका मन्दिर र कोटमन्दिर रहेका छन् ।

खाँणका अनुसार ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको दरबारको पुरानै नक्शामा पुनःनिर्माण थालिएको छ । भत्किएको गा¥होमा पुरानो स्वरुप कायम रहने गरी भक्तपुरका ईंटा प्रयोग गरेर पुनःनिर्माण थालिएको छ । भग्नावशेषमा परिणत भएको दरबारको पुरातत्व विभागको रु बा¥ह लाखको लगानीमा पुनःनिर्माण भइरहेको छ ।

दरबारको संरक्षण र पुनःनिर्माणमा स्थानीय तहले पनि चासो देखाएको छ । शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा दरबारको संरक्षणका लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले ढोर मूलकोट रोयल पार्क निर्माण तथा गुरुयोजना तयार पार्न दुई शीर्षकमा रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । वडा कार्यालयले समेत दरबार संरक्षण गर्न रु चार लाख विनियोजन गरेको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दरबारसम्म पुग्ने कृति रजस्थल मोटरमार्गलाई रु तीस लाख विनियोजन भएको छ । उक्त रकमले मोटरमार्गको सडक स्तरोन्नति गर्ने काम भइरहेको छ । सडक स्तरोन्नति भएपछि दरबारमा पर्यटक पुग्नलाई सहज हुने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष भण्डारी भने – “संरक्षण अभावले भग्न बनेको दरबारको पुनःनिर्माण गरेर नमूना पर्यटकीय स्थल बनाउने लक्ष्य लिएका छौं । सहस्राब्दी मार्ग (मिलेनियम ट्रेक) को रुटमा पर्ने भएकाले दरबारले पर्यटनको प्रचूर सम्भावाना बोकेको छ ।” उहाँका अनुसार दरबारको पुनःनिर्माणसँगै दरबार परिसरलाई तारबार गर्ने, पूर्वाधार थप गर्ने योजना छ ।
उनले – “शुक्लागण्डकीको पहिचानलाई स्थापित गराउन दरबारको भूमिका महत्वपूर्ण छ । नगरले दरबारको गुरुयोजना तयार पार्दैछ भने वडा तहबाट गर्नुपर्ने काममा हामीले कुनै कसर बाँकी राख्दैनौं ।”

ढोर राज्यको अन्तिम राजा सिद्धि खाँण ठकुरी हुन् । गोरखा दरबारका तत्कालीन राजा इन्द्र राज्यलक्ष्मीले कास्कीकोटका राजासँग मिलेर विसं १८३७ ढोर राज्यमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर ढोरका राजा मारिए । राज्य र प्रजा जोगाउन मृत्युसँग पनि नडराई युद्धमा होमिएका राजाको मृत्युपछि ढोर राज्य गोरखा राज्यसँग विलय भएको जानकारहरु बताउँछन् । त्यसपछिको साढे दुई सय वर्षको समयमा दरबारको जीर्णोद्धार हुन सकेन ।

दुई दशक अगाडिसम्म दरबारका थुप्रै संरचनाहरु देख्न सकिने अवस्थामा थिए । ऐतिहासिक वस्तुहरुको संरक्षण नहुँदा कतिपय चोरिए भने भने कतिपय जमीनमुनि पुरिए ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट बा¥ह किलोमिटरको दूरीमा ढोर दरबार अवस्थित छ । समुद्री सतहदेखि एक हजार २७० मिटरको उचाइमा रहेको दरबार परिसर दृश्य अवलोकन गर्ने उपयुक्त स्थान पनि हो ।

मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग मिलेनियम ट्रेकमा पर्ने ऐतिहासिक ढोर दरबारबाट देखिने सूर्योदय र सूर्यास्तले सबैलाई लोभ्याउँछ । अग्लो ठाउँमा रहेको दरबार परिसरबाट शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा देख्न सकिन्छ । यहाँबाट कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, लमजुङ, गोरखा, नवलपरासी लगायतका गण्डकी प्रदेशका अधिकाँश जिल्लाका भू–भागहरु देखिन्छ । ढोर दरबारको नजीकै रजस्थल गाउँ छ । गुरुङ, मगर, ठकुरी, तामाङ र दलित समुदायको मिश्रित बस्ती रहेको यस ठाउँमा विसं २०६० सालसम्म ६५ घर थिए । अहिले ४० घरधुरीको मात्रै यहाँ बसोबास छ । अधिकाँश घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । युवायुवती कोही शहर झरेका छन् त कोही विदेश लागेका छन् ।

विसं २०६० सालमा गाउँमा सडक पुगेपछि गाउँलेहरु शहर झर्न थालेको रजस्थल टोल विकास संस्थाका अध्यक्ष याम बहादुर राना बताउनुहुन्छ । उनले भने – “धेरैजसो छोराछोरीलाई अङ्ग्र्रेजी माध्यमको विद्यालयमा पढाउने बहानामा शहरतिर झरे । कति श्रीमान् विदेश जानासाथ छोराछोरी बोकेर झरे । गाउँमा अहिले बूढापाका र महिलामात्रै छन् ।”
विदेश पसेका र शहर झरेकालाई गाउँ फर्काउने सपना देखेका छन् रजस्थलवासीले । गाउँको शिरानमा रहेको ऐतिहासिक ढोर दरबारलाई पर्यटनसँग जोडेर नमूना गाउँ निर्माण गर्ने

अठोटका साथ लागेका उनीहरुको सपना अझसम्म पनि पूरा भने भएको छैन । ग्रामीण पर्यटनको महत्वपूर्ण आधार मानिने होमस्टे यहाँ सञ्चालन गरिएपनि सोचेजस्तो प्रगति हुन नसकेको रानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाइसे राज्यअन्तर्गतको राज्य ढोर दरबार ओझेलमा पर्दा घरबाससमेत सञ्चालन हुन सकेन ।

Related News

सम्बन्धित समाचार

  • पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ ।…
  • मनाङमा पर्यटक चहलपहल बढ्यो

    रासस असाेज १८, २०८१
    मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मंगलबार मात्रै २ सय ८६…
  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने

    रासस असाेज १७, २०८१
    काठमाडौं । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५…
  • बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा, १७ असोज । बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार…

hero news full width