सिरुबारीमा गाउँ पर्यटन विषयक अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०८०
wotef intraction

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले सिरुवारीमा ‘गाउँ पर्यटन प्रवद्र्धनका लागि समुदायको सहभागिता’ विषयक अन्तरक्रिया गरेको छ ।

पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सिरुवारी पुुगेको टोलीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्थानीयवासीसँग अन्तरक्रिया गरिएको ओटेफका अध्यक्ष उमा रेग्मीले बताइन् । पर्यटन व्यवसायमा आबद्ध महिलाको क्षमता अभिवृद्धिसँगै विभिन्न पर्यटकीय गाउँमा वार्षिक रुपमा नै प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको उनले बताइन् ।

कार्यक्रममा आँधिखोला १ का वडाध्यक्ष पवनकाजी अधिकारीले नेपालमै घरबास (होमस्टे) पर्यटनको सुरुवात भएको सिरुवारीको मौलिकता कायम गर्दै जानुपर्नेमा जोड दिए । पछिल्ला समयमा ग्रामीण वस्तीहरू खाली हुँदै जाने राष्ट्रिय समस्या यहाँ पनि रहेको उल्लेख गर्दै उनले बढ्दो मानव पलायनलाई रोक्ने विषय आफूहरूको प्राथमिकतामा रहेको बताए ।

होमस्टेको प्रवद्र्धनसँगै पिकनिक स्पट, सडक लगायतका आवश्यक पर्यटकीय पूर्वाधारलाई जोड दिइएको बताउँदै उनले ओटेफले सिरुबारीमा पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

आँधिखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले पर्यटन राजधानी घोषणा भएको पोखराको पर्यटनलाई सीमित दायरामा नराखी आसपासका पर्यटकीय गन्तव्यलाई समेट्नुपर्ने बताए । पछिल्ला समयमा गाउँबाट बजार, बजारबाट विदेश पलायन हुने क्रम बढिरहेको बताउँदै उनले त्यसलाई रोक्ने किसिमका कार्यक्रम ल्याउनुुपर्ने आवश्यकता औंल्याए ।

सिरुवारी सामुुदायिक होमस्टे अध्यक्ष मोहनबहादुर गुरुङ (जितेन्द्र) ले सबैको साथ र सहयोगले सिरुबारी गाउँ पर्यटनको गन्तव्य बनेको बताउँदै यसको मौलिकता जोगाउने विषयलाई आफूहरूले सधैँ आत्मसात गर्ने धारणा राखे ।

ओटेफ अध्यक्ष उमा रेग्मीको अध्यक्षता एवं सचिव शर्मिला न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा संस्थापक अध्यक्ष जमुना पराजुली, कार्यक्रम संयोजक मञ्जुु भट्टराई, पत्रकार महासंघ कास्की उपाध्यक्ष एवं ओटेफ सल्लाहकार जमुना वर्षा शर्मा, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले घरबास पर्यटनको नमुना गाउँ सिरुबारीले आगामी दिनमा पनि यसको गरिमा र महत्वलाई जोगाउने गरी अघि बढ्नुु जरुरी रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width