सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
film

पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई मल्टिप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक समारोहबीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले सोको उद्घाटन गरे ।

नेपालमै पहिलो पटक सिनेमाघरमा रिभ्यू बक्स राखिएको कास्कीको दाबी छ । मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले हलमा रिभ्य बक्स उदाहरणीय कार्य भएको बताए । उनले यसको संरक्षण र निरन्तरतामा पनि जोड दिए । रिभ्यू बक्सले सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुनुका साथै सिनेमाको विकासमा मद्दत मिल्ने बताए ।

सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स स्थापना गर्न पाउँदा खुसी लागेको बताए । उनले यसबाट नेपाली सिनेमाको सम्बद्र्धन र प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिए ।

चपस कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देलले यो अभ्यास नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । संस्था अध्यक्ष प्रभू अधिकारीले नेपाली सिनेमाको विकास र प्रवद्र्धनका लागि संस्था निरन्तर लागिरहेको बताए ।

शुक्रबार रिलिज नेपाली फिल्म ‘महाजात्रा’ हेरिसकेपछि पोखराका पत्रकार एवं दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् । ती प्रतिक्रियामध्ये एक सातापछि लक्की ड्रमार्फत २ जना विजेता घोषणा गर्ने संस्थाका सचिव सन्तोष बस्यालले बताए ।

विजेताले मिडटाउन सिनेमाज र सिनेप्लेक्समा २÷२ वटा फिल्मटिकट र पपकन निशुल्क प्रदान प्राप्त गर्ने छन् । यस्तै, दमदार बिरयानी र क्लाउड नाइनमा खाजा व्यवस्था हुनेछ । एक महिनापछि विजेताबीच समेत प्रतिस्पर्धा आधारमा १ जना विजेतालाई बन्जी नेपालले निशुल्क बन्जी सुविधा दिनेछ ।

बक्स स्थापनामा परिचयबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width