अर्जुन कार्कीलाई एनसेल बाह्रखरी गल्फको उपाधि

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
12khari Golf Final Photo

पोखरा । अर्जुनकुमार कार्कीले शनिबार पोखरामा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाको आयोजनामा भएको प्रतियोगिताको उपाधि जितेका कार्कीले सुनको बल पुरस्कार पाए ।

१८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । ८ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।

पुरुषतर्फ लिलाजंग गुरुङले ३७ अंक जोड्दै दोस्रो स्थान हासिल गरे । पुरुषतर्फको उपविजेतामा गुरुङसँगै आयुश मानन्धरले बराबर अंक जोडेका थिए । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरेका हुन् । गुरुङसँग अंक बराबर गरेका आयुशले काउन्ट ब्याकमा १७ अंक जोडका थिए ।
प्रतियोगितामा रमेश गुरुङले बेस्ट ग्रसको उपाधि जिते । उनले चार ह्यान्डीक्याप खेल्दै ३३ अंक जोडेका थिए । बेस्ट ग्रसमा गुरुङसँगै टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।
महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते । चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।

यस कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भए पनि एक होल केही बिग्रिएकाले दुई होल दोहोर्याएर खेलिएको थियो ।

पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन गरेका हुन् । समापन कार्यक्रममा प्रधानमन्त्री दाहालले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

कप्रमुख प्रायोजक एनसेलका सीईओ जाब्बोर कायोमुभले बाह्रखरी मिडियासँग आफूहरुको सहकार्य विगतदेखि नै रहेको बताउँदै आगामी दिनमा पनि निरन्तरताको प्रयास गर्ने बताए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता सम्पन्न भएको पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्सलाई गल्फको प्रतिष्ठित म्यागाजिन ‘गल्फ डाइजेस्ट ले विश्वकै उत्कृष्ट गल्फ कोर्समध्येको एकमा राखेको छ ।

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले ६ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ । बाह्रखरी गल्फको यो सातौँ संस्करण हो । यसअघि बिहीबार गल्फको पूर्वसन्ध्यामा पोखरालाई पर्यटकीय राजधानीको रूपमा प्रवर्द्धन गर्न साइकल र्याली समेत सम्पन्न भएको थियो ।
यसअघि गत वर्षको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो । २०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

२०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।
त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो । विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width