पर्यटकीय राजधानी घोषणाले के हुन्छ ? पढ्नुहोस् पोखरेलीको प्रतिक्रिया

विजय नेपाल
चैत्र ३, २०८०
pokhara view

पोखरा । सांघाइ कर्पोरेसन अर्गनाइजेसनले बर्सेनि सदस्य राष्ट्रका सहरलाई पर्यटकीय राजधानी घोषणा गर्छ । गत वर्ष काजकिस्तानको अमाती सहर पर्यटकीय राजधानी घोषणा गरिएकोमा अघिल्लो वर्ष भारतको बनारस प्रथम सांस्कृतिक तथा पर्यटकीय राजधानी घोषित भयो । फ्रान्सको राजधानी पेरिस ‘सिटी अफ लाइट्स्’, अमेरिकाको न्यूयोर्क ‘दी बिग एप्पल’, मलेसियालाई ‘ट्रुली एसिया’ र भारत ‘इन्क्रिडिवल इन्डिया’ घोषणा गरेर ब्रान्डिङका प्रयास नभएका होइनन् ।

नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरा पनि आइतबार ‘पर्यटकीय राजधानी’ घोषणा हुँदैछ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा फेवाताल किनार वाराहीघाटमा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त घोषणा गर्नेछन् । प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायत सम्पदाले भरिपूर्ण पर्यटकीय नगरी पोखरा गण्डकी प्रदेशको पनि राजधानी सहर हो । यहाँ अन्तर्राष्ट्रियस्तर तथा राष्ट्रियस्तरका अनुपम विशेषताहरु छन् ।

घोषणापछि प्रदेश सरकार र महानगरको नीति, योजना र कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने, पोखराको ब्रान्ड हुने, पर्यटन क्षेत्रमा उत्साह थपिने, पोखरामा बाह्य तथा आन्तरिक लगानी बढ्ने अपेक्षा छ । योसँगै यहाँको पर्यटन प्रवद्र्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन, रोजगारी सिर्जना, गरिबी निवारणसहित समग्र गण्डकी प्रदेशसँगै राष्ट्रकै समृद्धि हुने अपेक्षा पनि छ ।

पर्यटकीय राजधानी घोषणाले मूर्तरुप लिँदा प्रदेश राजधानी पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । उनीहरु के भन्छन् त ?

२० लाख पर्यटक भित्राउने लक्ष्य राख्नुपर्छ

पोमनारायण श्रेष्ठ
अध्यक्ष, पोखरा पर्यटन परिषद्

हामीहरुको धेरै पहिलेदेखिको माग हो । अहिले आधिकारिकरुपमा घोषणाको तयारी हुँदा ऊर्जा मिलेको छ । हामीहरु उत्साहित छौं । नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरालाई अब ‘पर्यटनको राजधानी’ घोषणाले अन्तर्राष्ट्रिय रुपमा ट्रान्जिट रुपमा ब्रान्डिङ हुनेमा अवसर प्रदान गर्नेछ । यसका साथै अबदेखि केन्द्र, प्रदेश, स्थानीय सरकार सबै तिनै तहका सरकारले आ–आफ्नो कार्यक्रममा पोखरा क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भन्ने योजनाका साथ बजेट विनियोजन गर्नुपर्छ । यसमा हामी पर्यटन व्यवसायीहरु पनि सरकारसँग हातेमालो गर्दै अघि बढ्ने छौं ।

पर्यटकीय राजधानी घोषणाले पोखरा फेरि घुम्न जानुपर्छ भन्ने भावना यहाँ आइसकेकालाई पनि फेरि विकास गर्नेछ । पर्यटन प्रवद्र्धन र विकासमा अन्तर्राष्ट्रियरुपमा प्रचार गर्नेछ । नेपालमा बर्सेनि १०÷११ लाख पर्यटक भित्रिने गरेको तथ्यांक छ, अब हामीहरु गण्डकी प्रदेश क्षेत्रमै २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढ्नुपर्छ । पर्यटकको बसाइँ कसरी लम्ब्याउने भन्नेमा हाम्रो पनि ध्यान केन्द्रित हुनेछ । पोखरा घुम्ने पर्यटक सरदर २÷३ दिन बस्ने गरेकोमा अब ४÷५ दिनसम्म यतै रमाउन सक्ने वातावरण बन्नेछ । यो घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान होस् वा निर्माणाधीन बाटोघाटो लगायत समयमै सम्पन्न गर्न दबाब हुनेछ । भएका पर्यटकीय गन्तव्य संरक्षण गर्दै नयाँ नयाँ गन्तव्य पहिल्याउनु पर्दछ । पोखरा घुम्ने आउने पर्यटकको अभिलेख राखिनुपर्दछ ।

पोखरा आसपासको पर्यटनमा ७ खर्ब लगानी रहेको अनुमान छ । पोखरामै करिब ६ खर्बको लगानी छ । यो लगानी सुरक्षित गर्दै अझै पर्यटन क्षेत्रमा थप लगानी भित्राउन लाग्नुपर्छ । समग्र पर्यटनको क्षेत्रमा लगानी पनि अवश्यक थपिने विश्वास छ । त्यसो त यहाँ चेन होटलहरुले पनि चासो देखाइरहेका छन् । पोखरा अब साँच्चिकै पर्यटकको राजधानी सही सावित हुनेछ । आगामी दिनमा हामीहरु सबै जना कम्मर कसेर अघि बढ्नुपर्छ ।

समग्र गण्डकी प्रदेशकै पर्यटनमा टेवा मिल्ने

हरि शर्मा गैरे
अध्यक्ष, होटल संघ नेपाल गण्डकी प्रदेश

यो सकारात्मक कदम हो । नेपालकै सन्दर्भमा पोखरा पर्यटकीय राजधानीको रुपमा परिचित छ । राजधानीको रुपमा जुन ब्रान्डिङ गर्न खोजिएको छ, त्यो एकदमै सकारात्मक कदम हो । यसको लागि हाम्रो क्षेत्र सधैँ तयार छ ।

पोखरा आसपासमा जति पर्यटकीय पूर्वाधार निर्माण हुनुपर्ने हो, त्यो नभएको जस्तो पाइन्छ । पर्यटनको राजधानी घोषणा पनि एक माध्यम हो, यसले भौतिक पूर्वाधार निर्माणमा ढोका खोल्ने विश्वास छ । समग्र गण्डकी प्रदेशवासीले यसलाई अपनत्व लिएर अघि बढेमा सबैलाई हित हुनेछ । पोखरा प्रादेशिक राजधानी त हो नै तर मोफसलको प्रवद्र्धन नभइकन पोखराको प्रवद्र्धन हुँदैन । नेपालमा भित्रिसकेको पर्यटकलाई पोखरा कसरी भित्राउने हो भन्ने सोच्नुपर्छ । यहाँ आइसकेपछि यस आसपासका पर्यटकीय क्षेत्र घुमाउन ‘लेन्थ अफ स्टे’ अति आवश्यक छ । पोखरा पर्यटनको राजधानी घोषणाले आसपासका जिल्लासहित समग्र गण्डकी प्रदेश एवं नेपालकै पर्यटनमा टेवा मिल्नेछ ।

पोखराको लक्जरियस अकोमोडेसन (आरामदायी बसाइँ) को आर्थिक रुपमा मन्दी भइरहेको बेलामा पोखराले एउटा जमर्को गरेको छ, यसले एक सोचको विकासमा बल प्रदान गरेको छ । एउटा फाइभ स्टार होटल (पोखरा ग्रान्ड) हुँदाहुँदै पनि अरु फाइभ स्टार एवं सुविधासम्पन्न होटल खुल्दै जाने छन् । यहाँको विमानस्थल, गेट–वे मर्मत सम्भार स्तरोन्नतिसँगै हाल करिब ५० प्रतिशतको अराइललाई ८० प्रतिशतसम्म पु¥याउनुपर्छ । त्यो मिट गर्न पनि यो घोषणा कोसेढुंगा सावित हुन सक्छ । हामीसँग गण्डकीका ११ जिल्लाका गरी करिब १५ सय होटल संघमा आवद्ध छन् । त्यसमा फोर, फाइभ स्टारदेखि पर्यटकीयस्तरका होटलहरु (जसले नेपाल सरकारलाई कर तिर्छन्) तिनीहरुले मात्रै हाम्रो सदस्यता प्राप्त गर्छन् । समग्र रुपमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानीको हिस्सा होटलकै छ । हामीहरु के के विषयमा आत्मनिर्भर छौं, जस्तो अन्नमा छौं कि मासुमा छौं कि वा अन्य के कुरामा आत्मनिर्भर छौं ? भन्ने कुरा पर्यटकलाई देखाउन सक्नुपथ्र्यो, त्यसतर्पm हाम्रो निकायले गर्न सकिरहेको अवस्था छैन । त्यसबारे अब छलफलको विषयको बन्ला ।

कुनै निश्चित घेरामा सीमित नहोस्

कमला गिरी
अध्यक्ष, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)

पोखरालाई पर्यटकीय राजधानीरूपमा घोषणा गर्नेसम्बन्धी कसले पनि जस लिनेभन्दा व्यावहारिक पक्ष बलियो र निःस्वार्थ हुन जरूरी छ । पर्यटकीय राजधानीको आवश्यकता र औचित्य पनि के, कसरी र किन छ भन्ने पनि विषय सार्वजनिक हुनु पर्दछ । यसका लागि हाम्रा पूर्वाधार कति तयार छन् ? यो गन्तव्यमा पर्यटक कुन आकर्षणले आउने हुन् ? सरकारी तथा निजी क्षेत्रले कस्ता सुविधाहरू प्रदान गर्ने हुन् ? यहाँ पर्यटक नआई नहुने वातावरण केले बनाउन खोज्या हो, हाम्रा प्रोडक्ट कति आकर्षक छन् ? खाने, बस्ने, बस्ने, रमाउने, घुम्ने स्थानले सबै तह र तप्काका पर्यटकलाई आकर्षण गराउन सकिने छ कि छैन ? यावत् विषयमा पनि पहिला सोच्नुपर्दछ ।

पोखरामा पाँचतारे होटल बन्न सकिरहेको छैन । फूलबारी रिसोर्ट पनि पूर्णतया बन्द छ । कम्तीमा ३/४ वटा त्यो स्तरको होटल हुनु पर्‍यो । त्यही स्तरका पर्यटक ल्याउन सकिएन भने राजधानी भन्नुको औचित्य फेरि नरहला । यहाँ सुविधासम्पन्न क्यासिनो छैन । भए पनि सानातिनो अति नियन्त्रित छ । न त मनोरञ्जनका लागि रात्रीकालीन गन्तव्य छन् । न कुनै अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सक्ने क्षमता छ । न कुनै आर्टिफियिल नै भए पनि आकर्षक गन्तव्य छन् । न त राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा सघन रूपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम छन्, यी सबै अत्यावश्यक हैनन् र ?

हामी केवल प्राकृतिक सौंदर्य, फेवाताल, वेगनास ताल मात्र बेचिरहेका छौं । यो पर्याप्त छैन । पोखरालाई स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिने प्रचूर सम्भावना हँुदाहुँदै यसतर्फ कुनै ठोस पहल भैराखेको पाइँदैन । अब राजधानी घोषणासँगै त्यसमा ध्यान दिनुपर्दछ ।

विविध सम्भावनाको खोजी गर्दै पोखरालाई आकर्षक गन्तव्यरूपमा विकास र प्रवद्र्धन गर्दै जान सकियो भने यसबाट समग्र गण्डकी प्रदेशको सबै जिल्लाहरू र सबै क्षेत्रले अनुभूति गर्न सक्ने छन् । यहाँ लगानीमैत्री वातावरण बनोस् । उद्योगी व्यवसायी, नागरिकले सहजरूपमा सास फेर्न पनि गाह्रो भएको अवस्था छ, अहिले । त्यसैले जे गरिँदैछ, त्यो सबै नागरिकको हितमा होस् । कुनै निश्चित घेरामा सीमित नहोस् । घोषणा गर्नु आफँैमा राम्रो कुरा हो तथापि पोखरा प्रवद्र्धनको हिसाबले हुन लागेको यो प्रयास पनि प्रशंसीय नै छ । सकारात्मक प्रभाव अवश्य पर्नेछ ।

होटल क्षेत्रमा २० प्रतिशत छुट घोषणा

लक्ष्मण सुवेदी
अध्यक्ष, होटल संघ पोखरा

चैत ४ गते पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गर्ने तयारीसँगै हामीहरु निकै उत्साहित छौं । १५ वर्ष अघिदेखि होटल संघले राख्दै आएको माग हो, यो । घोषणाका लागि यहाँको संरचना, पूर्वाधार, आवश्यक सेवासुविधा, राजधानी हुनका लागि होटल, ट्राभल, टे«किङ, क्यासिनो, नाइट लाइभ, एयरपोर्ट लगायत सबै सुविधा चाहिन्छ ।

ती यावत् सबै रहेकोले त्यसबेलादेखि नै हाम्रो माग रहीआएकोमा अहिले आएर पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको जुन पहलकदमी छ, त्यो निकै सह्रानीय छ । हामीहरु दिलदेखि नै स्वागत गरेका छौं । हामीहरुले यही अवसरमा छुटको घोषणा गरेका छौं । राजधानी घोषणको खुसीयालीसँगै नजिकिएको फेवा नव वर्ष महोत्सव–२०८१ प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न प्याकेजसहित २० प्रतिशत छुटको घोषणा गरेका छौं ।

यो सुविधा नेपाली नयाँ वर्षसम्म लागु हुनेछ । होटल संघ पोखरा नेपालले आगामी चैत २९, ३० र वैशाख १ गते १९ औं फेवा नव वर्ष महोत्सव आयोजना गर्दैछ । यो सुविधा संघमा आबद्ध सदस्य होटलहरुमा लागु गर्न सर्कुलर जारी गरिसकेका छौं । हाल संघमा ४ सय २५ सदस्य छन् । पोखरा र आसपासमा १ हजार २ सय होटल छन् । लेकसाइड र ड्यामसाइडमा ७ सय होटल छन् ।

पोखराका होटलमा ४० हजार बेड छन् । होटल क्षेत्रमा मात्र १५ हजार कर्मचारी कार्यरत छन् । पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो हिस्साको लगानी होटलमा हो । करिब पौने ५ खर्बको लगानी त हाम्रो मात्रै छ । केही पनि भएन भन्नुभन्दा, पोखरा पर्यटनको राजधानी घोषणा भइसकेपछि त अझ पर्यटन प्रवद्र्धन र लगानी बढ्ला हाम्रो अपेक्षा छ ।

फेवाताल जोगाउनु पर्छ


–युवराज बराल
पर्यटन व्यवसायी ।

पर्यटकीय राजधानी घोषणा गर्दैमा खासै केही हुने होइन । भौतिक पूर्वाधार निर्माण तथा ताल संरक्षणमा जति ध्यान दिनुपर्ने हो, त्यसतर्फ ध्यान नदिई खालि घोषणा गर्दैमा हुने केही होइन ।

काठमाडौंमा अदालतको आदेशले मेयर बालेनले काम गर्न पाएका छैनन् । तर, यहाँका (पोखराका) मेयरले के कारणले रोकिएका हुन् ? जबकि सर्वोच्चले फेवातालको मापदण्डभित्र पर्ने संरचना हटाउन ६ महिनाको म्याद दिएको हो । खासै काम हुन सकेको छैन । कम्तीमा तालमा नमिसाउने गरी ढल काटेर फाल्ने गरे पनि धेरै हदसम्म राम्रो हुन्थ्यो । पहिले हामीले फेवाको पानी खाएकै हो । स्वीमिङ गर्दा मुखमा पानी परे पनि केही हुँदैनथ्यो । अहिले त्यहाँको पानी छोइए, घरमा आएर हातखुट्टा धुनुपर्ने बाध्यता हुन्छ । नुहाउनु पर्छ ।

म ड्यामसाइडमा न्यू होटल नेचरल्यान्ड चलाउँछु । पहिला यही ड्यामसाइड पर्यटनको केन्द्र थियो । यहाँबाट नै हो, माछापुच्छ«ेको सबैभन्दा सुन्दर छाया देखिने । अहिले यसतर्फ ध्यानै दिइएको छैन । साना साना यस्तै कुराहरुमा ध्यान पु¥याउनुपर्नेमा घोषणाले मात्र केही हुँदैन । होटलहरु पनि अनावश्यक धेरै भए । पोखराको लेकसाइड छेउमा मात्रै होटल थुप्रिने प्रवृत्ति भयो । छेउछाउका रिसोर्ट, होमस्टेसम्म पनि पर्यटक पुग्नुपर्छ । पर्यटकीय राजधानीमा अस्वस्थ प्रतिस्पर्धा हुनुहुँदैन । नियमन हुनुपर्छ ।

चोकचोकमा भाडाका मान्छे खटाएर पोखरा घुम्न आउने गेस्टहरुलाई जबर्जस्ती तान्ने काम रोकिनुपर्छ । सुरक्षा निकायले नियन्त्रण गर्नुपर्छ । होटलमा आइसकेपछि अनावश्यक बार्गेनिङ प्रवृत्ति हुनुहुँदैन । होटलको फेसिलिटी अनुसार रेट छुट्याउनुपर्छ । पोखरामा प्राकृतिक रुपमा पर्यटकीय गन्तव्य धेरै भए पनि मानवनिर्मित संरचना खासै छैनन् । पछिल्लो समय पुम्दीकोटमा बनेको विशाल महादेवको मूर्ति अवलोकनका लागि हामीहरु गेस्टलाई पठाइन्छ । यस्तै अरुहरु पनि बन्नुपर्छ । यस विषयमा तिनै तहका सरकारले सहजीकरण गर्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width