अधिवेशनको मुखमा एमाले कास्कीमा विवाद, प्रतिनिधि छनौट स्थगित

आदर्श समाज सम्वाददाता
चैत्र २, २०८०
UML

पोखरा । जिल्ला अधिवेशनको मुखैमा आएर नेकपा एमाले कास्कीका विवाद चुलिएको छ । चैत १० र ११ गतेका लागि तय गरिएको जिल्ला अधिवेशनका लागि चैत ३ गते शनिबार प्रतिनिधि छनोटको कार्यतालिका राखिएकामा विवादकै कारण स्थगित भएको छ ।

नेकपा एमालेको केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीको गण्डकी प्रदेश कमिटीलाई पत्र पठाई कास्कीमा प्रतिनिधि छनौट प्रक्रिया स्थगित गर्न निर्देशन दिएका छन् । प्रतिनिधि छनौट विधिका बारेमा संगठन विभागमा उजुरी परेपछि यस्तो निर्देशन दिनुपरेको उनले उल्लेख गरेका छन् ।

नेकपा एमाले कास्कीका इन्जार्ज थममाया थकालीसहित कास्कीबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केही केन्द्रीय सदस्य र जिल्ला कमिटीका केही पदाधिकारीले संगठन विभागमा उजुरी दिएका कारण प्रतिनिधि छनौट स्थगित गर्न निर्देशन दिनु परेको संगठन विभाग प्रमुख अधिकारीले बताएका छन् ।

संगठन विभागले जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट गर्ने विधि बारेको बुझाइमा बिल्कुलै एकरुपता नभएको भन्दै पुन जिल्ला कमिटीको बैठक बसेर एक रुपता कायम गरी प्रतिनिधि छनौट गर्न निर्देशन दिएको छ ।

पहिला पार्टी सचिव बैनबहादुर क्षेत्री थोरै प्रतिनिधि ल्याउने गरी अन्तरपार्टी निर्देशन जारी गरेका थिए । तर पार्टी अध्यक्ष मनबहादुर गुरुङले प्रतिनिधि बढाउने गरी अन्तरपार्टी निर्देशन जारी गरेपछि यसैलाई विवादको विषय मानेर संगठन विभागले हस्तक्षेप गरेको हो ।

अध्यक्षले गुरुङले प्रतिनिधि छनोटका लागि पठाएको सर्कुलर जिल्ला कमिटीको निर्णय विपरीत भएको भन्दै सचिव क्षेत्रीको आरोप छ । उता अध्यक्ष गुरुङले जिल्ला कमिटीको निर्णय र केन्द्रीय समितिको सर्कुलर अनुसार प्रतिनिधि छनोटको मापदण्ड अनुसार नै सर्कुलर पठाएको ठोकुवा गरेका छन् ।

खासगरी गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहकै टकरावका कारण यो स्थिति सिर्जना भएको एमालेकै कार्यकर्ताहरु बताउँछन् । पार्टीका आन्तरिक बैठक र छलफलहरुमा खगराज अधिकारी पिएसविरुद्ध खुलेरै व्यक्तिगत आरोपमा उत्रेको बैठकमा सहभागी कार्यकर्ताहरुले बताएका छन् । म्याग्दी र गोरखामा पिएस समूह विजयी भएपछि कास्कीमा त्यो अवस्था आउन नदिन खगराज समूहले केन्द्र गुहारेको एकथरीको भनाइ छ ।

कास्की जिल्ला कमिटीको बैठकले प्रतिनिधि छनोट गर्दा ४० जना पार्टी सदस्यलाई आधार मान्ने भन्ने निर्णय गरेको थियो । ४० जना पार्टी सदस्यलाई आधार मानेर ती सदस्यबाट २ जना खुला, १ जना महिला र १ जना उत्पीडित प्रतिनिधि चयन गर्ने निर्णय जिल्लाले गरेको छ ।

४० भन्दा बढी पार्टी सदस्य भएको हकमा प्रतिनिधि छनोट गर्ने विषयमा जिल्लाबाटै दुईथरी निर्देशन जारी भएपछि विवाद सुरु भएको हो । अध्यक्ष गुरुङले जारी गरेको अपानिमा ४० भन्दा बढी सदस्य भएको हकमा प्रत्येक २१ जना पार्टी सदस्य बराबर थप १ जना प्रतिनिधि चयन गर्नु पर्नेछ भन्ने उल्लेख छ ।

सचिव बैनबहादुर क्षेत्रीले भने ४० लाई आधार मानेपछि थप ४० जना पार्टी सदस्यबाट १ जना प्रतिनिधि चयन गर्ने निर्णय जिल्ला कमिटीले निर्णय गरेको भए पनि अध्यक्षले जिल्लाको निर्णय विपरीत २१ जनाबाट थप १ प्रतिनिधि पठाउने गरी सर्कुलर गरेको आरोप लगाए ।

केन्द्रले जिल्ला अधिवेशनका सम्बन्धमा पठाएको निर्देशन अन्तर्गत नै रहेर जिल्लामा निर्णय भएको र त्यही अनुसार जानुपर्ने उनको भनाइ छ । ‘महासचिवले पठाएको अपानिमा आधार संख्या तय गरेपछि थप प्रतिनिधि त्यही आधार संख्याको ५० प्रतिशत भन्दा बढी भएपछि थप १ प्रतिनिध चयन गर्नुपर्नेछ भन्ने विषय जिल्ला कमिटी बैठकमै पढेर सुनाएको थिएँ, यसैका आधारमा थप २१ सदस्यबाट १ जना प्रतिनिधि पठाउन सर्कुलर पठाएको हुँ,’ अध्यक्ष गुरुङले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width