शून्य समयमा सांसदले उठाए नागरिकका सवाल

आदर्श समाज सम्वाददाता
फागुन २१, २०८०
sita sundas

प्रदेश सभा सदस्य सीता सुन्दास

पोखरा । संघीय सरकारमा फेरबदलको चर्चा चलिरहँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भए पनि गण्डकी प्रदेश सभाको बैठकमा भने त्यसको प्रभाव परेको छैन । त्यसो त माथिको समीकरणले यहाँको सरकार समेत धरमराएको छ ।

प्रदेश सभाको आइतबारको बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरुले नागरिकसँग जोडिएका सवाल उठाएका छन् । सदस्य डिल्लीराम सुवेदीले बागलुङको पश्चिमी खण्डका सडकहरु तत्काल पुननिर्र्माण गर्न ध्यानाकर्षण गराए । निर्मला थापाले कृषि विमा प्रभावकारी नभएको बारे भनाइ राखिन् । पद्मा जिसी श्रेष्ठले चितवन बुटवल सडक खण्डमा यातायात आवागमन बन्द हुँदा यात्रुले सास्ती खेपेको भन्दै सरकारको ध्यानकर्षण गराइन् ।

पार्वती तामाङले मध्यपहाडी लोकमार्ग अन्तर्गत मध्यनेपाल नगरपालिकाको भोर्लेटार र सुन्दरबजार खण्डको निर्माणले गति लिन नसकेको बताइन् । उनले भनिन्, बजार भत्काउने कि वैकल्पिक बाटो खोल्ने टुंगो लागेको छैन, यसको निक्र्योल गरेर काम थाल्न आग्रह गर्छु ।’ प्रकाश बरालले कास्कीको अन्नपूर्ण २ मा र पोखरा २३ मा गत वर्षको बाढीले पु¥याएको क्षतिका पीडितले राहत नपाएको बारे ध्यानाकर्षण गराए ।

प्रकाशबहादुर केसीले पोखरा १४ बाच्छेबुडुवामा सेती र फुस्रेखोलाले शिव मन्दिरमा क्षति पुर्‍याएको नजिकैको वृद्धाश्रम समेत खतरामा विषय उठान गरे ।
फडिन्द्र देवकोटाले प्रदेश सभाबाट ६६ वटा कानुन बने पनि तर कार्यान्वयनको अवस्था बारे प्रदेश सभा र सरकार बेखबर रहेको बताए । सुविधा सम्बन्धमा जोडिएका कानुन कार्यान्वयन भए पनि अरु कानुन कार्यान्वयन किन हुन सकेनन् ? भनेर उनले प्रश्न गरे ।

विकल शेरचनले खानेपानी सबडिभिजन कार्यालय मुस्ताङको स्तरोन्नती गरी सिँचाइ हेर्ने गरी डिभिजनल इन्जिनियरको दरबन्दी कायम गर्न माग गरे । भीमबहादुर कार्कीले सरकारले पुजीगत खर्च गर्न नसकेको बताए । दम्सादी पुलले गति लिन नसकेन, ढुंगे खोलाको पुल, पोखरा १७ कै बाटो बन्न नसकेको, प्रदेश सकारको कार्यालय वरपरको बाटो हिलाम्मे रहेकामा उनले ध्यानाकर्षण गराए ।

सीताकुमारी सुन्दास ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागिएको भन्दै सरकारले महिलाको उत्थान, विकासमा कामको प्रगति विवरण माग गरिन् । श्यामराजा महतले दुलेगौंडाबाट स्याङ्जा जोड्ने सेतीको पुल जीर्ण, दुलेगौंडा बजारसमेत कटानका कारण जोखिममा रहेको भन्दै जोगाउन तत्काल पहल गरियोस् भनी माग गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width