प्रतिभाका विद्यार्थीले चित्रमा उतारे सिमसार क्षेत्र

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
Prativa Simsar

पोखरा । विश्व सिमसार दिवस अवसरमा प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

विद्यालयको क्रिएटिभ माइन्डस क्लबले आयोजना गरेको प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब १ सय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए ।

प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई झल्काउने गरी चित्र कोरेका थिए । प्रकृतिसँग सामीप्यता गराएरै चित्र कोर्दा वास्तविकता झल्किने भएकोले खपौदी क्षेत्रमा लगेको प्राचार्य सापकोटाले बताए । विद्यार्थीले खपौदी क्षेत्रमै बसेर प्रकृति निँयाल्दै सिमसार क्षेत्रको अवस्था झल्काउने चित्र कोरेका थिए ।

बिहीबार चित्र कोरेका विद्यार्थीले शुक्रबार विद्यालय परिसरमा प्रदर्शनी गरे । कार्यक्रमको विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । पौडेलले मानव जीवनका लागि सिमसार क्षेत्रको अति नै महत्व रहेको बताए । उनले जलवायु परिवर्तनले वातावरणमा परेको असरबारे सचेत हुनुपर्ने बताए ।

‘सिमसार क्षेत्रमा परेको असरले मानव बस्तीमा प्रभाव पार्न थालेको छ । यसको चिन्ता विश्वव्यापी रुपमा जनाउन थालिएको छ,’ पौडेलले भने, ‘वातावरण सन्तुलनमा राख्नका लागि सिमसार क्षेत्रको महत्व छ । सिमसार क्षेत्रको महत्व नबुझ्नेले मात्र त्यसको दोहन गरिरहेका छन् ।’

चित्रकला प्रतियोगितामा उत्कृष्ट चित्रलाई पुरस्कृत पनि गरिएको थियो । अमन कुँवरले कोरेको चित्रले प्रथम स्थान हाँसिल गर्दै ५ हजार रुपैयाँ पुरस्कार पायो । आयान इकवालको चित्र दोस्रो हुँदै ३ हजार र निश्चल सुवेदी र केशव शाहीको चित्रले तृतीय स्थान हासिल गर्दै जनही २ हजार रुपैयाँ पुरस्कार पाएको थियो । विद्यालयको क्रिएटिभ माइन्डस क्लवका अध्यक्ष सिद्धान्त खनालले विद्यालयस्तरमै सिमसार क्षेत्रबारे सचेत बनाउने हो भने भविश्य पनि उज्ज्वल हुने बताए । जलवायु परिवर्तनको असर र सिमसार क्षेत्रको महत्वबारे विद्यार्थीलाई ज्ञान आवश्यक रहेको उनले बताए । विश्व सिमसार दिवस हरेक वर्षको २ फेब्रुअरीमा चेतनामूलक विभिन्न कार्यक्रम मनाइँदै आइएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width