माझीकुनाको परिचय फेरिँदै

रामबहादुर थापा
माघ १८, २०८०
Majhikuna

????????????????????????????????????

गण्डकी । बेगनास आफैँमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो–बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । १५ वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ ।

बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायांकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्नुहुन्छ, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी । ‘माझीकुनाले बढी चर्चा पाएको यस्तै ५/६ वर्षजति भयो,’ ५२ वर्षीय जलारीले भने, ‘मुख्य रूपमा यहाँको पोलेको माछा ग्राहक र पर्यटकमाझ प्रख्यात छ ।’ युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमबाट पनि माझीकुनाको व्यापक प्रचार भएको उनले बताए ।

माझीकुनाको पोलेको माछा र अरु परिकारबारे नेपाली खाना प्रवद्र्धन गर्ने टिकटिक प्रयोगकर्ताले बनाएका भिडिओ सामग्री अहिले पनि सामाजिक सञ्जालतिर भेटिन्छन् । विशेषगरी आन्तरिक पर्यटक त्यसमा पनि युवा पुस्तामाझ माझीकुना माछाका परिकारको स्वादसँगै घुमफिर गर्ने गन्तव्यका रूपमा लोकप्रिय बनेको हो । ‘यहाँ धेरै आउने भनेको आन्तरिक पर्यटक नै हो, पर्यटकीय याममा विदेशी पाहुना पनि आइरहनुहुन्छ,’ दी फिसरम्यान रेष्टुराँका सञ्चालक जलारीले भने, ‘चाडबाड, नयाँ वर्ष र बिदाका समयमा त पर्यटकको भीड नै लाग्छ, रेष्टुराँमा भ्याइनभ्याइ हुन्छ ।’ जलारीले विसं २०७२ को गोरखा भूकम्पपछि रेष्टुराँ व्यवसाय थालेका हुन् । उनको रेष्टुराँमा पनि पोलेको माछा नै मुख्य परिकार हो । तिलापिया जातको माछालाई आगोमा पोलेर स्थानीय स्वादमा पाहुनालाई चखाउने गरेको जलारीले सुनाए ।

३० वर्षसम्म बेगनास तालमै माछा मारेर परिवार धानेका उनी अहिले माझीकुनाको सफल रेष्टुराँ व्यवसायीका रूपमा चिनिन्छन् । माझीकुनामा २५ भन्दा बढी रेष्टुराँ तथा होटल खुलेका छन् । तिनमा करोडौंको लगानी छ । सयौँले रोजगारी पाएका छन् । जलारीको रेष्टुराँमा काम गर्ने ५ जना छन् ।

बेगनासमा रहेको जलारी समुदायले माछाबाटै आर्थिक उपार्जन गर्ने गरेको उनले बताए । ‘मत्स्य अनुसन्धान केन्द्रबाट अनुमतिपत्र लिएर मात्र माछा मार्न पाइन्छ, वार्षिकरूपमा शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘मैले पनि पहिला माछा मारेर बेच्ने काम गर्थे, अहिले रेष्टुराँ व्यवसातिर लागेँ, यसमै सन्तुष्ट छु ।’

१५ वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ

कोरोना महामारीले सुस्ताएको व्यापारले पछिल्लो समय गति लिएपछि माझीकुनाका व्यवसायी खुसी छन् । मुलुकले झेलिरहेको आर्थिक मन्दीको प्रभाव छिटो अन्त्य भए व्यवसायले अझ फड्को लिनेमा उनीहरू आशावादी छन् ।

माझीकुना नजिकैको सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले माझीकुना बेगनास क्षेत्रको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भएको बताए । पहिले खासै चर्चामा नआएको सो क्षेत्र अहिले आगन्तुकको रोजाइमा पर्ने गरेको उनले सुनाउ ।

विशेषगरी सप्ताहन्तमा परिवारजन, जोडी र साथी मिलेर माझीकुना आउने बढी हुने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । तालतिर टहल्दै माछाको स्वाद लिन पाहुना पर्यटक माझीकुनामा लोभिने गरेका हुन् । कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल पोखराको पृथ्वीचोकदेखि १४ किमी र लेखनाथको तालचोकबाट साढे ३ किमी यात्रामा पुगिन्छ ।

साततालको वाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । सहरको कोलाहल र व्यस्तता छलेर छिनमै पुग्न सकिने मनोरम गन्तव्य बेगनास क्षेत्र हो ।

बेगनास पुग्दा डुंगा सयर, पदयात्रालगायत पर्यटकीय गतिविधिले पनि आगन्तुकलाई आकर्षित गर्ने गर्छ । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले पर्यटकको आउजाउमा केही कठिनाइ उत्पन्न भइरहेको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए । प्रकृतिले सिंगारेको बेगनास पर्यटन पूर्वाधार र प्रवद्र्धनका दृष्टिले भने अझै पनि पछाडि परेको उनको भनाइ छ । वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width