भरत खवासको निर्णायक गोलमा आर्मी क्वार्टरफाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Aaha Rara Gold Cup Army Win Photo milan

त्रिभुवन आर्मी र राइजिङ स्टार क्लब पोखरा रंगशालामा प्रतिस्पर्धा गर्दै । तस्बिरः दुर्गाप्रसाद पौडेल

पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकपमा त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा बुधबार राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी अघि बढेको हो ।

खेलको २७ औं मिनेट आर्मीका कप्तान भरत खवासले गरेको गोल नै निर्णायक बन्यो । कमल थापाले मिलाएको पासमा भरतको उत्कृष्ट हेडमार्फत प्रहार गोलमा परिणत भएपछि जितको आधार तयार भएको थियो ।

अधिकांश युवा खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो । उसले विपक्षीलाई दबाबमा राखे पनि थप अवसर भने सृजना गर्न सकेन । नवौं मिनेटमा नै आर्मीले सुनौलो मौका खेर फाल्यो । सबै खेलाडी बिट भइसकेको अवस्थामा जिलेस्पीजंग कार्कीले बक्समा बल पाए पनि पोस्टको दिशा दिन सकेनन् । १३ औं मिनेटमा आर्मीका भरत चौधरीको पासमा कप्तान भरतले पेनाल्टी बक्सबाट गरेको हेड बल बाहिरियो ।

दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् । ५८ औं मिनेटमा राइजिङ स्टारका रुपेश केसीले प्रहार गरेको बल आर्मीका गोलकिपर समित श्रेष्ठले पञ्च गर्दै टिमको संकट टारे । ६२ औं मिनेटमा आर्मीका भरत खवासको क्रसमा रसबहादुर मगरले पेनाल्टी बक्सबाट गरेको हेड राइजिङ स्टारका किपर विशाल सुनारले सहजै बल बचाए ।

८१ औं मिनेटमा राइजिङ स्टारका फागुराम थारुले गोल गर्न ढिला गरे । पेनाल्टी बक्समा बल पु¥याएपछि केही ढिला गर्दा आर्मीका गोलकिपर समितले बचाए । फागुरामले नै ८४ मिनेटमा करिब २५ यार्डबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो ।

अब आर्मीले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ । आर्मीका कप्तान भरत म्यान अफ दी म्यान चुनिए ।

आहारारा पोखरा गोल्डकपमा आर्मीको १५ औं सहभागिता हो । पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहारारा इतिहासमा आर्मी ‘अभागी टिम’ मानिन्छ । यो पटक भने आर्मीलाई उपाधि दाबेदार टिमका रुपमा हेरिएको छ ।

बिहीबार मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच तेस्रो प्रि–क्वार्टरफाइनल खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि, उद्घाटनमा आयोजकलाई २–१ ले हराउँदै थ्रि स्टार क्वाटरफाइनल पुगिसकेको छ ।
प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width