दुर्गादेवीलाई सेतुलीमाया शाक्य सम्मान

आदर्श समाज सम्वाददाता
माघ ७, २०८०
siddhi setuliब

पोखरा ।  ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान २०८०’ बाट नारी अभियान्ता दुर्गादेवी सापकोटालाई सम्मान गरिएको छ । सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा आइतबार भएको कार्यक्रममा उनलाई सो सम्मान अर्पण गरिएको हो ।

सापकोटालाई नगद १ लाख रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । एकल महिला अभियानमा उल्लेखनीय र उदाहरणीय कार्य गरेको भन्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानका ज्येष्ठ सदस्य बिलबहादुर गुरुङले सम्मानित व्यक्तिले नेपाली समाजमा एकल महिलाको मनोबल उच्च राख्न योगदान दिएको बताए । समाज परिवर्तनमा सम्मानित सापकोटाको खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाज र राष्ट्रका निम्ति सम्मानित सापकोटाको योगदान अतुलनीय रहेको बताए । प्रतिष्ठानबाट गरिएको सम्मान समावेशी ढंगबाट भएको भन्दै नारी शक्ति सम्मानित भएकोमा गर्विलो महसुस गरेको उनले बताए । प्रतिष्ठान समयको पालना गर्ने विषयमा पनि अब्बल रहेको उनको भनाइ थियो ।

सम्मानित व्यक्ति सापकोटाले प्रतिष्ठानबाट गरिएको सम्मानले आफूलाई काम गर्नका लागि अझ ऊर्जा मिलेको बताइन् । यसले गर्दा जुनसुकै क्षेत्रमा रहेर पनि एकल महिलाको जन्मसिद्ध अधिकार प्राप्तिका लागि लडिरहरने बताइन् । ‘एकल महिलाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ त्यो मैले भोगिसकेको छु,’ उनले भनिन्, ‘मैले पनि १६ वर्ष कोरा जीवन बिताएर २०५९ सालदेखि क्रान्तिमा लागेको हुँ । यो सम्मानले अझ यसमा लाग्ने प्रेरणा मिलेको छ ।’

कार्यक्रममा प्रतिष्ठानका प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तिका बारेमा परिचय दिएका थिए । प्रतिष्ठानका संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले संस्थाका बारेमा जानकारी गराए ।

सम्मानपछि संरक्षक सोनाम साङ्पो, पूर्व अध्यक्ष भुपनिधि पन्तलगायतले प्रतिष्ठानले समाज रुपान्तरण भूमिका खेलेका व्याक्तिहरुलाई सम्मान गरेर उनीहरुमा काम गर्ने हौसला प्रदान गरेको बताए ।

सोही कार्यक्रममा गत पुस १ गते प्रतिष्ठानको नवौं अधिवेशनबाट निर्वाचित भएका कार्य समितिको पदस्थापना पनि गरिएको छ । अधिवेशनबाट अध्यक्षमा दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष प्रमिला ताझ्या, सचिवमा इन्द्रकमल मानन्धर र कोषाध्यक्षमा गोविन्द ताम्राकार सर्वसम्मत चयन भएका थिए । यस्तै सदस्यहरुमा लोकदर्शन कोइराला, सतकुमारी शेरचन, विनोदरत्न शाक्य, सुरेशकुमार मानन्धर र श्रुति मुल्मी चयन भएकी थिइन् । अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्रकमल मानन्धरले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width