खेल महोत्सवमा १२ सय खेलाडी

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
Ward 15 soprts star

पोखरा । पोखरा वडा कार्यालय १५ को आयोजनामा मंगलबारदेखि वडा १५ स्तरीय दोस्रो बृहत् खेलकुद महोत्सव–२०८० सुरु भएको छ ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले एक समारोहबीच महोत्सवको उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् । खेलाडीहरुको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्तर्राष्ट्रिय पदक जितेको बताउँदै अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् । वडास्तरमा हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाइ थियो ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्दै स्वस्थ्य नागरिक उत्पादनका वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाए । आगामी वर्षहरुमा यो कार्यक्रमलाई अझै बृहत्तर रुपमा आयोजना गरिने बानियाँले औंल्याए । महोत्सवमा सहभागिताका लागि वडावासीले देखाएको उत्साहले आफुहरुलाई झनै हौसला र उर्जा प्राप्त भएको उनले बताए ।

प्रतियोगिता संयोजक समेत रहेका वडा सदस्य आशीष भण्डारीले गत संस्करणको खेलकुद महोत्सवमा सहभागि भएको खेलाडीहरुले पोखरामा आयोजना भएका विभिन्न प्रतियोगिताहरुमा उपाधि जित्दै वडाको गौरव बढाएको जनाए । वन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा सुरु प्रतियोगिताको उद्घाटन समारोह वडा सदस्य मन्दिरा परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

त्यसअघि वडा १५ भित्र रहेका झण्डै डेढ दर्जन संघसंस्थाले खेल मैदानमा मार्च पास गरेका थिए । तीनदिनसम्म चल्ने महोत्सवमा खुला फुटबल, विद्यालयस्तरीय फुटबल, महिला तथा पुरुष भलिबल, बास्केटबल, महिला तथा पुरुष दौड, व्याडमिण्टन, रस्साकसी लगायत विभिन्न खेलका झन्डै १ हजार २ सय खेलाडीले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width