आहा रारा पोखरा गोल्डकपलाई वडा ९ को साथ

आदर्श समाज सम्वाददाता
पौष १४, २०८०
23 aaha rara

पोखरा, १३ पुस । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा वडा कार्यालय ९ ले साथ दिएको छ । प्रतियोगिताको सह–उपप्रायोजक बन्ने सम्बन्धमा वडाध्यक्ष दीपेन्द्र मर्सानी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा वडाका प्रतिनिधि एवं क्लबका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगिता सफल पार्न देशविदेशबाट सहयोग आउनेक्रम जारी छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मन्त्रका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराकै एक ब्रान्ड बनिसकेको छ ।

अखिल नेपाल फुटबल संघबाट हालै मात्र प्रतियोगिताको तालिका प्राप्त भएपछि आयोजकले तयारीसमेत तीव्र पार्दै गएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए । प्रतियोगितामा यसपालि पनि विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजकले भाग लिने छन् । गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । क्लब विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोबिल्लामा प्रदान गर्दै आएको छ । हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width