के हो पर्यटकीय राजधानीको मापदण्ड ?

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०८०
pokhara view

पोखरा । पोहोर अंग्रेजी नयाँ वर्षका दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । विदेशबाट केही चार्टर जहाज आउनेवाहेक आन्तरिक उडानमै विमानस्थल सिमित छ । पोखराको बस्ती नजिकैबाट विमानस्थल केही पर सर्नुवाहेक उपलब्धि हुन सकेको छैन । विमानस्थल उद्घाटनको १५ दिनमै पोखरामा यती एअरको जहाज दुर्घटना भयो । उल्टै पोखराको विमानस्थल असुरक्षित छ भन्ने संकेत फैलियो ।

विमानस्थल बन्दै गर्दा उत्साही भएर होटेल र रेस्टुरेन्टमा लगानी थपेका व्यवसायी अहिले टाउकामा हात राखेर बस्न वाध्य छन् । यता प्रदेश सरकार र पोखरा महानगर भने फेरि पर्यटकीय राजधानीको ‘गीत’ गाइरहेका छन् । पर्यटकीय राजधानी घोषणा गरिदिन माग्दै गण्डकी प्रदेश सरकारले २ पटकसम्म निर्णय गरेर संघमा पठायो । पोखरा महानगरका मेयर धनराज आचार्यले पनि निर्वाचित भएदेखि नै पर्यटकीय राजधानी घोषणा गर्ने भनेर काठमाडौं धाइरहे ।

तर यति सुन्दर पोखरामा सिन्डिकेटकै कारण पर्यटकले हैरानी खेप्दै आएका छन् । फेवातालको डुंगा सयरदेखि प्याराग्लाइडिङको उडानमा समेत सिन्डिकेट छ । प्याराग्लाइडिङमा लाग्दै आएको सिन्डिकेटका कारण उडान नै घटेपछि व्यवसायीहरु बिहीबारदेखि त्यसबाट भने पछि हटेका छन् । पोखरा वरपर शान्ति स्तूप, महादेव मन्दिरजस्ता सिमित संरचनावाहेक अन्य पूर्वाधार थपिएका छैनन् । नजिकैको काहुँडाँडामा अलिअलि पर्यटक जान थालेका छन् । फेवामा आएका पर्यटकलाई वेगनासतिर आकर्षित गर्न सकिएको छैन । विद्यालयहरुले जिम्मा पाएका गुफा र छाँगाको अस्तव्यस्त व्यवस्थापनमा प्रदेश र महानगरले केही गर्न सकेकै छैनन् ।

हाइप्रोफाइलका सय जना पर्यटक एकैपटक आउँदा व्यवस्थापन गर्नसक्ने क्षमता पोखरासँग छैन । अन्तर्राष्ट्रियस्तरका गोष्ठी र समारोहका लागि सभाहल बन्नै बाँकी छ । बालबालिका र ज्येष्ठ नागरिक लक्षित पार्कहरु छैनन् । अर्को मुख्य चुनौती हो, सुरक्षा । संघको गृह मन्त्रालय र अदालतले पोखरालाई २४ सै घन्टा खुलाउने भनेर पटकपटक निर्णय र आदेश गरेका छन् । तर विडम्बना ११ बज्दा नबज्दै लाठी लिएका प्रहरी लेकसाइटका रेस्टुरेन्टमा जुत्ता बजाउँदै आएर सटर बजाउन थाल्छन् । यसमा व्यवसायीहरुले एकजुट भएर आवाज उठाउनै सकेका छैनन् ।

पर्यटकको केन्द्र लेकसाइडमै ११ बज्दा नबज्दै प्रहरी सटर तान्न आउँछन्

एअरपोर्टबाट मुख्यबजार आउने ट्याक्सीले उठाउँदै आएको चर्को भाडा नियन्त्रण हुन सकेकै छैन । यी र यस्ता समस्या समाधान नगरी पोखरा पर्यटकीय राजधानी बन्न सक्ला त ? यसमा पर्यटन व्यवसायीहरु नै प्रश्न गर्छन् । पूर्वाधार बनाएर थप पर्यटक आकर्षित गर्नसके त्यसै पनि मुख्य गन्तव्य बन्न सक्छ पोखरा । नामको अगाडि पर्यटकीय राजधानी थपेर मात्र केही हुँदैन ।

पोखरामा आउने पर्यटक त आइरहेकै छन् त पर्यटकीय राजधानी घोषणा भएपछि हुन्छ के त ? पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘नेपाल आएका विदेशी पर्यटकलाई एकपटक त पोखरा पुग्नैपर्छ भन्ने सन्देश दिनका लागि पनि यो आवश्यक छ ।’ उनका अनुसार विदेशमा समेत पोखराका बारेमा सकारात्मक प्रचार हुन्छ भन्ने विश्वास व्यवसायीहरुमा छन् ।

पोखराको पर्यटन क्षेत्रमा भएको लगानी लगानी, सुविधासम्पन्न होटेल रिर्सोट, साहसिक गतिविधिको हब, सांस्कृतिक र प्राकृतिक सम्पदाको हब भएकै कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुपर्छ भन्ने उनको दाबी छ ।

गण्डकी सरकारले यो वर्षको नीति तथा कार्यक्रममा नै पर्यटकीय राजधानी घोषणा गर्ने उल्लेख ग¥यो । त्यसैलाई कार्यान्वयन गर्ने भनेर अहिले ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा’ सरकारले समिति नै गठन गरेको छ । जसको संयोजकमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द देवकोटा तोकिएका छन् । जुन समितिको बैठक बसेर आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय समेत गरेको छ । बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको हो । राजधानी घोषणाका लागि आवश्यक मापदण्डहरुको पहिचान, घोषणा प्रक्रियाको तयारी, संघ तथा प्रदेश सरकारसँग समन्वय गर्नेलगायत निर्णय गरिएको समिति संयोजक डा. देवकोटाले बताए । समितिले पूर्वाधार पहिचानका सन्दर्भमा गरेको अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने गरी समितिको कार्यक्षेत्र तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…
  • जेसीज सप्ताहमा रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । पोखरा जेसीजको जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन खुला रक्तदान तथा जेसीज सप्ताहको समुदघाटन कार्यक्रम…

hero news full width