वात्स्यायनलाई पद्मश्री साधना सम्मान

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
padma shree

पोखरा । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने विसं २०७९ को यस वर्षको ‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गरिएको छ । उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यंग्यका माध्यमबाट नवीन दिशा दिएका छन् ।

१९९९ चैत ५ मा आर्वा (हालको पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् । नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले यसअघि जगदम्बा श्री, प्रबल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार पाइसकेका छन् ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको राशि ३/३ लाख रुपैयाँ छ

उनका ४ ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् । पछिल्लो समय उनी कान्तिपुरका लागि कार्टुन बनाउँदै आएका छन् ।

‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई मनु उपन्यासका लागि शनिबार अर्पण गरिएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस वर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तकको सूचीमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐंठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ परेका थिए ।

यसअघि प्रतिष्ठानले १ सय ८० पुस्तकमध्येबाट १५ वटा पुस्तक छानेर उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये ५ पुस्तक सर्टलिस्टमा परेका हुन् । प्रतिष्ठानले २०६३ देखि पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको रााशि ३ लाख रुपैयाँ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width