हिमाली सांस्कृतिक परिवारद्वारा बाल आश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०८०
himali BA KO

पोखरा । हिमाली सांस्कृतिक परिवार पोखराले बाल आश्रमलाई सहयोग गरेर बडादसैंकाे शुभकामना कार्यक्रम गरेको छ । परिवारले पोखरा–१६, अर्मला कुरस्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमलाई सहयोग गरेको हो ।

परिवारका संरक्षक नरबहादुर शेरचन तथा अध्यक्ष ज्ञानबहादुर थापाले आश्रमकी संस्थापक शारदा बस्नेतलाई २६ हजार रुपैयाँ नगद र २० हजार बराबरको खाद्यसामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार तेजबहादुर गुरुङले बालआश्रमलाई सहयोग गर्ने धेरैदेखिको सोच दसैंलगायतका पर्वको उपलक्ष्यमा शुभकामना कार्यक्रममार्फत पूरा गर्न पाएको बताए । उनले देशमा निराशाको बादल मडारिएको बेला अन्नपूर्ण बाल आश्रम जस्ता संस्थाले आशाको सञ्चार गरेको उल्लेख गरे ।

अध्यक्ष आसनबाट परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले परिवार र बालआश्रमबीच मितेरी सम्बन्ध गाँसिएको बताए ।

स्वागत मन्तव्य राख्दै उपाध्यक्ष श्रृजन गुरुङले परिवारले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली संस्कृतिको पहिचान दिँदै आएको बताए ।

आश्रम संस्थापक शारदा बस्नेतले कलाकारबाट समेत संस्थालाई सहयोग प्राप्त भएको भन्दै आभार व्यक्त गरिन् ।

बाल संरक्षण समिति पोखरा–१६ अध्यक्ष आयुषा नेपालीले पनि मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन परिवारका सहसचिव डबिन गुरुङले गरेका थिए ।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकार साथै आश्रमका बालबालिकाले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width