गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना

यस वर्षको तीजमा ल्याइन् ‘हो निर जाले हो’

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०८०
kalpana nepal

पोखरा ।

‘हत्या हिंसा, बलात्कार घटना
हो निर जाले हो छाउपडी गा’छैन ।
उठ उठ दिदी र बहिनी हो
हो निर जाले हो चुप लाग्न भा छैन ।’

हरितालिका तीज अवसरमा कलाकार कल्पना नेपाल (आचार्य) ले यस वर्ष पनि सांगीतिक कोसेली दर्शकस्रोतामाझ ल्याएकी छन् ।
महिलाको बेदनालाई तीज गीत लयमा ढालेर उनले जनचेतनामूलक गीत ‘हो निर जाले हो’ ल्याएकी हुन् । ‘कल्पनाका छालहरु’ नामक आफ्नै युट्युव च्यानलबाट हालै सार्वजनिक यो गीतको भिडियोले क्रमशः भ्यूअर्स बटुलिरहेको छ ।

‘महिला अधिकार छ भन्छन्, सबैले
हो निर जाले हो,
कहाँ छ नि थाहा छैन ।’
….
‘मनभरि पीडाका पोका छन्,
हो नि र जाले हो
कहाँ खोज्ने थाहा छैन ।’

कलाकार नेपाल खासमा मानवअधिकार अधिकृत हुन् । त्यसैले पनि उनका हरेक गीतसंगीत सस्तो मनोरञ्जनको नभई कुनै न कुनै सन्देश दिने खालका हुने गरेका छन् । आफ्नै रचना, लय, स्वर अभिनय रहेको ‘हो निर जाले हो’ मा पनि उनले महिलामाथि हुने चिथोमिचो अझै नरोकिएको भन्दै महिला हकअधिकार प्राथमिकतामा राखेकी छन् । गीतमा गायिका कल्पनासहित नारायणी अधिकारी, रुपा माण्डव्य, भगवती नेपाल, ललिता नेपाल लगायतको मुख्य अभिनय छ ।

५ वर्षअघि उनले ल्याएको तीज गीत ‘के आए जमाना साइँली’ धेरैले रुचाएका थिए । त्यसमा उनले परम्परागत रीतिरिवाज र संस्कृति भुलेर पर्वका नाममा विभिन्न विकृति विसंगति भित्रिएको भन्दै तीखो व्यङ्ग प्रहार गरेकी थिइन् ।

त्यसअघि दर्शकस्रोतमाझ आएको ‘चेली–नेता संवाद’ त खुवै चलेको थियो । खास तीज शैलीमा गाइएको उक्त गीतमा एउटा चेलीले मुलुकको शासन व्यवस्था, राजनीति र नेताको कार्यशैलीमाथि प्रश्न गर्दै सल्लाह सुझाव दिएकी छन् । जसमा नेताले पनि खुवै चाख मानेर विभिन्न उत्तर फर्काउँदै योजना सुनाएका छन् । उक्त गीतमार्फत नेपाली राजनीतिको नेतृत्व वर्ग पनि केही सचेत बनेको उनको दाबी छ ।

अचेल दैनिक सरदर २५ सय नेपाली युवा त्रिभुवन विमानस्थलबाट बाहिरिने गरेका छन् । कलाकार नेपालले त्यतिबेला नै नेतालाई गीतमार्फत सुझाव दिँदै भनेकी थिइन्–‘विदेश जाने युवालाई रोक, नेताज्यू यही मिल्छ सवथोक ।’

आफ्नो सिर्जनामा उनको आफ्नै लय, स्वर र अभिनयको त्रिवेणी झल्किन्छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाकी नेपाल हाल राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा मानवअधिकार अधिकृत रुपमा कार्यरत् छन् । आफूमा गीतसंगीत तथा साहित्यप्रति रुचि सानै छँदा बसेको उनी बताउँछन् । कक्षा ५ पढ्दादेखि उनले गीत, कविता र कथा लेखेको बताइन् ।

नेपालीमा एमए, बिएड तथा कानुनमा स्नातक उनले स्नातकोत्तर तहमा मूल विषय नेपालीको शोधपत्र आफ्नै सिर्जना ‘इच्छा’ कविता संग्रहमाथि पूरा गरेकी थिइन् । त्यस्तै स्नातक तहमा पनि ‘सिर्जनाको पूmलहरु’ माथि लेखिन् । उनका समसामयिक लेखरचना राष्ट्रिय पत्रपत्रिका तथा अनलाइनमा पढ्न पाइन्छ ।

उनको रुची भजनतिर पनि छ । कल्पनाका छालहरु भजन संग्रह, राम नाम जपेर सहित जनचेतनामूलक गीतसंगीत ल्याइसकेकी छन् । अघिल्लो वर्ष उनको रचनाको मानवअधिकारबारे गीतको भिडियो पनि सार्वजनिक भएको थियो । तराईको मुहसर बस्तीमा खिचिएको उक्त गीतको भिडियो मानवअधिकार रक्षाबारे पहिलो हो ।

Related News

सम्बन्धित समाचार

hero news full width