भोलिदेखि पोखरामा टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८०
blind woman cricket

पोखरा । नेपालमा मंगलबारदेखि दोस्रो नेपाल–भारत दुईपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज हुँदैछ । १२ देखि १७ वैशाखसम्म पोखरा र काठमाडौंमा हुने प्रतियोगिताको आयोजना नेपाल नेत्रहीन संघ नेपालले गरेको हो ।

नेपालले पहिलो पल्ट दृष्टिविहीन महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । दृष्टिविहीन युवा तथा बालबालिकाहरुको क्रिकेट खेल विकासका लागि आयोजना गर्न लागिएको प्रतियोगिताका पहिला २ दिनका खेल पोखरा रंगशालामा हुनेछ भने बाँकी खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपालले यसअघि १५ खेलाडी छनोट गरी गत १७ चैतदेखि १० वैशाखसम्म बन्द प्रशिक्षणमा राखेको थियो । पोखराकी भगवती भट्टराईको कप्तानी तथा गीता पौडेलको उपकप्तानीमा मैदान उत्रिने नेपाली टिमको प्रमुख प्रशिक्षक रिजन प्रजू हुन् । प्रशिक्षक नहेन्द्र निरौला र टोली व्यवस्थापक ज्योति केसी हुन् ।

विजेताले ७५ हजार, उपविजेताले ४५ हजार तथा प्लेयर अफ दि म्याचमा प्रति खेल ५ हजार पुरस्कार पाइनेछ । प्रतियोगितामा जित र हारभन्दा पनि समाजले दृष्टिविहीन व्यक्तिहरुप्रति हेर्ने सोच परिवर्तन, उनीहरुको खेलकुद अधिकार सुनिश्चित गर्न चुनौतीबीच पनि प्रतियोगिता आयोजना गरिएको नेपाल नेत्रहीन संघ नेपालका महासचिव अमृत बरालले बताए ।

दृष्टिविहीन महिला क्रिकेटहरुको आ–आफ्नै वर्गीकरण छ । मैदानमा बि१, बि२ र बि३ का खेलाडी देखिने छन् । कप्तान भगवती भट्टराई बि२ हुन् । यस्तै, उनीसहित गीता पौडेल, मनकेशरी चौधरी, कान्ती योगी, सरिता घिमिरे, विनिता मगर सोमै बि२ हुन् भने बि१ मा प्रतिभा राई, माया लुंगेली, सुष्मा तामाङ, मुना अर्याल, रीता थापा छन् । बि३ विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीसरा धमला हुन् । ११ खेलाडीमध्ये बि१ वर्गीकरणका कम्तीमा ४ खेलाडी अनिवार्य हुनुपर्छ ।

बलमै बेल हुने दृष्टिविहीन क्रिकेटमा हरेक बलिङपूर्व कल हुुनुपर्ने लगायत केही फरक नियम छन् ।

नेत्रहीन क्रिकेट संघ नेपालको स्थापना २०६३ सालमा भएको हो । संस्थाले यस अवधिमा ७ सय भन्दा बढी दृष्टिविहीन व्यक्तिहरुलाई क्रिकेट खेलमा समेटेको कास्की अध्यक्ष अक्षय खड्कीले बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो । नेपाली टिमका कप्तान भगवती भट्टराई र भारतीय टिमकी कप्तान सुष्मा पटेलले ट्रफी सार्वजनिक गरेका हुन् । कार्यक्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, सचिव नीलकण्ठ तिमिल्सिना, भारतका महासचिव जोन डेभिड लगायतले बोलेका थिए ।

सन् २०१२, १६, १८ र २२ मा गरी ४ वटा विश्वकप प्रतियोगितामा संघ अन्तर्गत पुरुष टोली सहभागी भइसकेकोमा महिला टोलीले सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गरी जित समेत हासिल गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width