२ लाख रुपैयाँ राशिको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७९
kiran-kharel

पोखरा । अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो ।

नेपाली गीतसंगीका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, अम्बर गुरुङ राष्ट्रिय संगीत कोषको स्थापना गरी नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार समर्पण गर्ने प्रावधान अनुसार परिवारले योजना बनाएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा ६ दशकभन्दा बढी समयदेखि अनवरतरुपले साधनारत् ज्येष्ठ गीतकार श्री किरण खरेललाइ समर्पण गरिने जानकारी गराउँदछौं ।’
अध्यक्ष पौडेलका अनुसार अम्बर गुरुङ राष्ट्रिय पुरस्कारको राशि २ लाख रुपैयाँ नगद र सम्मानपत्र हुनेछ । पुरस्कार प्रत्येक २ वर्षमा समर्पण गरिनेछ । पुरस्कार समर्पण समारोह यो पालि आउने वैशाख १६ गते पोखरामा गरिने भएको छ ।

‘करिब ५ दसकदेखि नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील यस संस्थाद्वारा स्थापित महत्वपूर्ण पुरस्कारद्वारा नेपाली संगीतकर्मी एवं संगीतप्रेमी समस्त महानुभावहरुले खुसी र गर्वबोध गर्नेछन् भन्ने हामीले अपेक्षा गरेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

१९९५ सालमा काभ्रेको खरेलथोकमा जन्मेका खरेल नेपाली गीत संगीत क्षेत्रका सदावहार सर्जक हुन् ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीर, जिन्दगीलाई जीत होइन हारले स्वागत गरी, नमान लाज यसरी, वनमा फुल्यो फूलैफूल, लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा, कसले चो¥यो मेरो मन, मन्दिरमा छ कि मूर्तिमा माया, हिमालको काखमा छ सानो मेरो गाउँ लगायत गीत उनैले रचना गरेका हुन् । २०३९ सालमै छिन्नलता पुरस्कार पाएका उनले सयौं सम्मान प्राप्त गरेका छन् । ३ वटा गीत संग्रह किरण खरेलले प्रकाशन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width