जहाँ ठाडोबत्ती बाले सन्तान मिल्ने विश्रवास छ

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७९
Ishaneshwor ठाडो बत्ती1

लमजुङ । दोस्रो पशुपतिनाथरूपमा परिचित सन्तानेश्वर अर्थात् ईशानेश्वर महादेव मन्दिरमा शनिबार महाशिवरात्री मेला लाग्दैछ ।

लमजुङको मध्यनेपाल ७, करापुटारस्थित ईशानेश्वर मन्दिर परिसरमा हरेक वर्ष महाशिवरात्रि अवसरमा विशेष मेला लाग्ने गर्दछ । यस वर्ष २ दिनसम्म लाग्ने मेलाको तयारी पूरा भएको आयोजक ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनायो ।

मेला अवसरमा मन्दिरमा दूध चढाउन शनिबार बिहान ३ बजेदेखि नै भक्तजनका लागि प्रबन्ध मिलाइएको समिति अध्यक्ष रामचन्द्र शास्त्रीले बताए । उनका अनुसार मेलामा दूध चढाउने बाहेक ठाडोबत्ती बल्ने, बसेर बत्ती बाल्ने, सामूहिक ब्रतबन्ध, भलिबल प्रतियोगिता, रक्तदान कार्यक्रम, कृषि मेला प्रदर्शनी तथा प्रतियोगिता, साँझदेखि रातभर ठाडोभाका गायन र छायाकन, १०८ धारामा स्नान, श्लेषमान्तक वनमा रहेको रुद्र मन्दिर र १०८ शिवलिंग दर्शन लगायत कार्यक्रम हुनेछन् ।

यस्तै ४ वर्षदेखि सञ्चालित भण्डाराको काम यस वर्ष पनि निरन्तरता दिइएको छ । त्यसका लागि भारतको हरियानाबाट सन्तहरूको टोली आइसकेको भण्डारा उपसमिति संयोजक गुणराज घिमिरेले बताए । भण्डारामा करिब ३ लाख खर्च हुने अनुमान छ ।

शिवरात्रि अवसरमा ईशानेश्वर महादेवमा यस वर्ष ९ सय जनासम्मको लागि ठाडोबत्ती बाल्ने प्रबन्ध

स्थानीय ईशानेश्वर क्याम्पसका प्रमुख एवं साहित्यकार रमेशचन्द्र घिमिरेले मन्दिरको विशेषताबारे प्रकाश पार्दै भने, ‘सन्तानको रहर हुने दम्पती त्यसमा पनि खासगरी पुत्र लाभका लागि मन्दिर परिसरमा आएर रातभर जाग्राम बसेर ठाडाबत्ती बाल्ने गर्दछन् ।’ त्यसैले पनि सन्तान लाभको लागि हरेक वर्ष यहाँ दम्पतीको भीड लाग्ने गर्दछ ।
विगतमा ठाडोबत्ती बाल्न ७ सय जनाको लागि प्रबन्ध गरिएकोमा यो वर्ष ९ सयका लागि प्रबन्ध गरिएको सो मेला आयोजक समिति सदस्य एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताए । ठाडोबत्ती बाल्न रातभरका लागि ५ सय रूपैयाँ लिने गरिएको छ । उनका अनुसार विगतका वर्षझैं यो वर्ष पनि शनिबार रातभर ठाडोभाकाको प्रस्तुति र छायांकन हुनेछ । त्यस्तै, ठाडोभाकाको विशेष कार्यक्रम हुनेछ ।

मन्दिर परिसरमा बसेर बत्ती बाल्नेहरूका लागि ३ सय रूपैयाँ शुल्क तोकिएको छ । समितिका अनुसार ठाडोबत्ती बाल्नेहरुका लागि छतको प्रबन्ध गरिएको छ भने बसेर बत्ती बाल्नेहरु खुला आकाशमुनि आफूखुसी बस्न सक्ने छन् । मेला व्यवस्थितरूपमा सञ्चालन गर्न ३२ उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width