पुरुष फुटबलको उपाधि एपिएफलाई, आर्मी सडनडेथको शिकार

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७९
312022385_841185527079969_7474658083681244671_n

पोखरा, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि विभागीय एपिएफले जितेको छ । पोखरा रंगशालामा बिहीबार फाइनलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई सडनडेथको शिकार बनाउँदै एपिएफले स्वर्ण जितेको हो ।
निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा पनि कुनै टिमबाट गोल ननिस्केपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा एपिएफले ६–५ गोलअन्तरले कायम गरेको थियो ।

सुरुआतको पेनाल्टी प्रहारमा दुवै टिमले ४–४ गोल गरेका थिए । आर्मीका सुमन अर्यालको प्रहार एपिएफका कीपर राजु नगरकोटीले बचाए ।
स्वर्णको हकदार बनाउने अन्तिम प्रहार भने एपिएफका विश्वास उदासले गरेका थिए । त्यसअघि सेसेहाङ आङदम्बेको प्रहार राजुले बचाउँदा एपिएफका सनिस श्रेष्ठको प्रहार बाहिरिएको थियो ।

एपीएफका लागि नवीन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, ऋतेश धिमाल र विश्वास उदासले गोल गरे । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवक बस्नेत र विकास खवासले पेनाल्टीमा गोल गरेका हुन् ।
पुरुष फुटबलको कांस्य पदक घरेलु टिम गण्डकीले जितेको छ । बुधबारको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै काँस्य जितेको हो ।

पुरुष फुटबलमा ७ प्रदेशसहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width