अर्थतन्त्रमा सुधार आउने

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
LCCI

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी र बैंकर्सबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ ।

छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख रामशरण खरेलले अबको केही समयमा अर्थतन्त्रमा सुधार आउने विश्वास ब्यक्त गरे । उनले हाल अर्थतन्त्रमा व्याप्त समस्याका कारण व्यवसायीहरुमा केही अप्ठ्यारो अवस्था आए पनि यसको सही निकासका लागि राष्ट्र बैंक चिन्तनशील भएकाले अब छिट्टै यो अवस्थाको अन्त्य हुने विश्वास दिलाए ।

कोभिडका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको र त्यसको प्रभाव नेपालमा पनि परेको कुरा मनन गर्दै प्रमुख खरेलले यहाँका व्यवसायीको जुन आवाज छ, त्यसले सकारात्मक सन्देश दिने भएकाले अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा ल्याउन व्यवसायीको साथ र सहयोग चाहिने बताए ।

व्यवसायी र बैंकर्सबीच छलफल तथा अन्तक्र्रियामा व्यवसायीले राष्ट्र बैंकले सही नीति र कार्ययोजना ल्याउनु पर्ने सुझाव दिए

सरकारले ल्याएको मौद्रिक नीतिदेखि रेमिट्यान्समा देखिएको सुधार र पर्यटन आवागमनमा भएको वृद्धिले यसलाई सहज तुल्याउने र राष्ट्र बंैकले पनि बैंकहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन प्रेरित गरेकाले अबका केही दिनमा अर्थत्रन्त्रमा क्रमशः सुधार आउने बताए ।

नेपाल बंैकर्स एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष सविन केसीले बैंकहरुमा देखिएको अस्वस्था ब्याजको प्रतिस्पर्धा र लगानीका सम्भावनाको खोजी नगर्दा अर्थतन्त्रमा कमजोर अवस्था आएकाले निराकरणका लागि राष्ट्र बैंकले महत्वपूर्ण भूिमका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

ग्रिन डेभलपमेन्ट बैंकका नि. कार्यकारी निर्देशक हरि बुढाथोकीले लगानीमैत्री वातावरण सृजना गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकारले प्रेरित गर्ने हो भने २÷४ महिनामा नै अर्थतन्त्रमा सुधारका लक्ष्यण देखिने धारणा राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरिले समस्या निराकरण नगर्ने हो भने अझ बढी कठिन अवस्था आउनेतर्फ संकेत गर्दै यसका लागि साझा अवधारणाको खाँचो औंल्याए ।

आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले व्यवसायीमा लगानी गर्ने अवस्था नभएकाले कसरी धानिने भन्नेमात्र चिन्ता रहेकाले समाधानका लागि राष्ट्र बैंकले सही नीति र कार्ययोजना ल्याउनु पर्ने सुझाव दिए । संघ महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width