ज्याग्दीखोला प्रतिष्ठानको सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
pic srijana

स्याङ्जा । ज्याग्दीखोला साहित्य प्रतिष्ठानले साहित्यकार डा. कृष्णराज अधिकारी, पिताम्बर नेपाली र चिन्तु गिरीलाई सम्मान गर्ने भएको छ ।

प्रतिष्ठान अध्यक्ष देवेन्द्र लम्सालद्वारा बाबुआमाको नाममा स्थापित विश्वराधानेत्रा साहित्य पुरस्कार–२०७९ बाट डा. कृष्णराज अघिकारीलाई सम्मान गरिने भएको हो । पोखरा जन्मिएका अधिकारी ४ दशकदेखि साहित्यिक क्षेत्रमा क्रियाशील छन् । प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित उनका समालोचना, कविता, कथा, निबन्ध लगायतका विधामा कृति प्रकाशित छन् । उनका ‘स्मृतिका बिम्बहरू’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना, २०६६), ‘सुरूङ खन्दैछन् मुसाहरू’ (कविता संग्रह, २०६८), ‘साहित्यिक अवलोकन’ (समालोचना, २०७१), ‘केही सिर्जनाः पृथक विवेचना’ (समालोचना, (२०७८), ‘अँध्यारो यात्रा’ (कथा संग्रह, २०७८) लगायत कृति प्रकाशित छन् ।

यसअघि प्राडा ताराकान्त पाण्डेय, प्राडा रविलाल अधिकारी र दिल साहनी सम्मानित भइसकेका छन् । पुरस्कार राशि १५ हजार नगदसहित सम्मानपत्र छ ।

यसैगरी, ‘ज्याग्दीखोला साहित्य सम्मान–२०७९’ पिताम्बर नेपालीलाई प्रदान गरिने छ । आँधीखोला गाउँपालिकामा जन्मेर ५ दशकदेखि निरन्तर साहित्यमा समर्पित नेपालीलाई २०७९ को ज्याग्दीखोला साहित्य सम्मानबाट पुरस्कृत गरिने भएको हो । नेपालीका ‘पेटको राँको’ (कविता संग्रह, २०२२), ‘सिमानाको गीत’ (बालकविता संग्रह, २०६५), ‘उखरमाउलो’ निबन्ध संग्रह, २०६९), ‘रहरको खहरेमा बयली खेल्दै’ (नियात्रा, २०७१), ‘सिलो’ (कविता संग्रह, २०७२) लगायत कृति प्रकाशित छन् ।

सो सम्मानद्वारा अहिलेसम्म २०७४ मा डा. महेश्वर शर्मा, २०७५ मा प्राडा गोविन्दराज भट्टराई, २०७६ मा केदार शर्मा ढकाल, २०७७ मा देवीप्रसाद वनवासी र २०७८ मा ईश्वरी ओझाले सम्मान पाएका छन् । पुरस्कारको राशि १५ हजार नगदसहित सम्मानपत्र छन् ।

यस्तै, कवि चिन्तु गिरीलाई ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार–२०७९’ प्रदान गरिने छ । पुतलीबजार जन्मेर साहित्यमा विशेष योगदान पु¥याएको भन्दै गिरीलाई सम्मान गरिने भएको हो । गिरीका ‘मेरो धर्ती’ (कविता संग्रह–२०५०), ‘बिरामी वर्तमान’ (कविता संग्रह–२०५९), ‘गोलैँचीका फूलहरु’ (गीति कविता संग्रह–२०६१), छन्दका पत्करहरु (कविता संग्रह–२०६६)’, ‘पछुतो’ (कथा संग्रह–२०६९) लगायत कृति प्रकाशित छन् ।

यसअघि गंगा कर्माचार्य पौडेल, विश्वप्रेम अधिकारी र छायादत्त न्यौपाने ‘बगर’ सम्मानित भैसकेका छन् । पुरस्कार राशि १० र सम्मानपत्र छ ।

प्रतिष्ठान सदस्य मिनुइन्द्र लम्सालको संयोजकत्वमा सल्लाहकार लोकबहादुर थापा र ‘ज्याग्दीखोलाको तरङ्ग’ का कार्यकारी सम्पादक नारायण मरासिनी रहेको ३ सदस्यीय प्रतिभा छनोट समिति गठन गरेर सम्मानित व्यक्तित्व चयन गरेको छनौट समिति सदस्य नारायण मरासिनीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width