वन क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Ban Campus Photo

पोखरा । हालैमात्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेको पोखराको वन क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । क्याम्पसमा आगामी असोज १ देखि ३ सम्म सम्मेलन हुन लागेको हो ।

कृषि तथा वातावरण प्रविधि विकास समिति (एइटिडिएस) उत्तरखण्ड भारतसँगै नेपालका ३ वटा विश्वविद्यालयको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । यो सम्मेलनको नाम ‘जलवायु परिवर्तन र यसको प्रभावमा केन्द्रित कृषि, वन, वातावरण र खाद्य सुरक्षामा विश्वव्यापी प्रयास–२०२२’ हुनेछ । जसमा नेपाल, भारत, चिन र इजिप्टका संस्था आयोजकरुपमा छन् ।

सम्मेलन निर्देशन डा. अर्जुन बास्तोलाले विभिन्न संघसंस्था र विदेशीको सहयोगमा क्याम्पसमा धेरै कार्यक्रम गरिए पनि ती कार्यक्रम होटल तथा क्याम्पस बाहिर गरिंदै आएकोमा अन्तर्राष्ट्रिय सम्मेलन वन विज्ञान अध्यन संस्था पोखरा क्याम्पस (वन क्याम्पस) परिसरमै गर्न लागिएको बताए ।

नेपालबाट त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र गण्डकी विश्वविद्यालय आयोजक छन् । यस्तै चीनको रुट बायोलोजी विश्वविद्यालय र इजिप्टको कृषि तथा माटो, पानी र वातावरण अनुसन्धान केन्द्रको सहकार्य रहनेछ । साथै पोखरा विश्वविद्यालयले पनि कुनै न कुनै माध्यमले सहभागिता जनाउने छ ।

सम्मेलनमा १५ देशका वैज्ञानिक, प्रोफेसर, अनुसन्धानकर्ता लगायत १ हजार जनाको सहभागिता रहने सम्मेलन निर्देशक डा. बास्तोलाले जानकारी दिए । जहाँ ३ सय बढी प्रतिवेदन प्रस्तुत हुनेछन् । प्रत्यक्षरुपमा सहभागी हुन नसक्नेलाई अनलाइन सम्मेलनसमेत व्यवस्था छ ।

यसैबीच, वन क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्राप्त गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र बिहीबार सार्वजनिक गरियो । क्याम्पस प्रमुख विनोद हेंजुले क्युएए प्रमाणपत्र सार्वजनिक गरेका हुन् । वन विज्ञान र कृषि अध्यन गराउने क्याम्पसमध्ये क्युएए प्राप्त गर्ने यो पहिलो भएको उनको दाबी छ । यो गुणस्तरको प्रमाणपत्र आयोगको निश्चित मापदण्ड पूरा गरेपछि मात्र प्रदान गरिन्छ । उनले क्याम्पसलाई यस दिशातर्पm लैजान सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीको अथक मेहनत र परिश्रमबाट मात्र सम्भव भएको बताउँदै शिक्षामा गुणस्तरियता कायम राख्न आफू प्रतिबद्ध रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width