आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७९
Dil Bahadur

स्याङ्जाको फेदीखोला ४ गलेममा १९९६ सालमा जन्मिएका पूर्व मेजर डिलबहादुर गुरुङ सक्रिय समाजसेवीको रुपमा परिचित छन् । ३१ जनवरी १९८६ मा बृटिस गोर्खा आर्मीबाट निवृत्त भएदेखि उनले समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको फेहरिस्त निकै लामो छ । २ जनवरी १९५७ मा बृटिस आर्मीमा भर्ती भई २९ वर्षे फौजी जीवनपछि उनी गाउँको सेवामा जोडिए । वृद्ध उमेरमा पनि उनको जोस र जाँगर लोभलाग्दो छ । २०७७ सालमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पदकबाट उनी शिक्षासेवीका रुपमा सम्मानित भए भने सामाजिक र शैक्षिक विकासमा योगदान पुर्‍याएको भनी उनलाई इटालीको रोमस्थित एक संस्थाले सन् २०१८ मा अन्तर्राष्ट्रिय स्वयंसेवा पुरस्कार प्रदान गरेको थियो । यस्तो सम्मान पाउने आफू एसियाकै पहिलो व्यक्ति भएको उनले बताए ।

सैनिक जीवनको क्रममा उनले रोयल मेम्बर अफ द भिक्टोरिया अर्डर (एमभीओ) पदक पनि पाए । २०६५ सालमा उनले राष्ट्रिय शिक्षा पुरस्कार पनि पाए । उनको जीवनीबारेमा फेदीखोलाका विद्यालयमा कक्षा ७ मा पढाइसमेत हुने गरेको छ । प्रदेश सरकारले प्रदान गर्ने गण्डकी रत्न सम्मानका लागि समेत उनी अन्तिम ८ मा छानिएका थिए । निस्वार्थ र कर्मशील व्यक्तित्वका रुपमा रहेका गुरुङ हाल सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समिति र गलेम राँपु गुरुङ समाजको अध्यक्ष तथा बृहत फेदीखोला पोखरा समाजका सल्लाहकार पनि हुन् । पिता बखतबहादुर र माता कन्याकुमारी (गौरा) बाट जन्मिएका उनका श्रीमती मायादेवी, सुपत्रहरु देवीप्रसाद र नलेन्द्र (दीपक) तथा सुपुत्रीहरु मीना, तारा र शिला रहेका छन् । हालसम्म ४ दर्जनभन्दा बढी मानसम्मानबाट सम्मानित गुरुङसँग आदर्श समाज प्रतिनिधि रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

सडकले गलेम भिर छिचोलेपछि सबैतिरबाट ठूलो प्रशंसा पाउनुभयो, बाटो खन्दाको संघर्षलाई कसरी सम्झनुहुन्छ ?

हामीले निकै मेहनत र कठिनले गलेम भिर काटेर बाटोलाई अगाडि बढायौं । यो निकै ठूलो र डरलाग्दो भिर हो । बाटो खन्न क्रममा एस्काभेटर र डोजरहरु पनि पुरिए । पहिला बाटो नबन्दै यो भिर ओहोरदोहोरको क्रममा केही गाउँलेले ज्यान पनि गुमाउन पुगे । स्थानीय गलेमवासी, गण्डकी प्रदेश सरकार, सहरी विकास मन्त्रालय, फेदीखोला गाउँपालिका, वैदेशिक रोजगारमा रहेका यस क्षेत्रका गाउँले र इटालीको भिस्पे नामक संस्थालगायतको सहयोगमा हामीले बाटो बनाएका हौं । २ हजार ६ सय मिटर लामो भीर खण्डका लागि मात्र करिब २ करोड रुपैयाँ खर्च भएको छ । २०५४ सालमा नै यो सडक खन्न सुरु गरिए पनि गलेम खण्ड भने २०६८ सालमा खन्न सुरु गरी २०७६ भदौमा उद्घाटन गरिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत फेदीखोला १ सर्केटारीबाट गलेम हुँदै बाटोले पञ्चासे छोएको छ । २१ किलोमिटर यो बाटोलाई हामीले सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक नामकरण गरेका छौं । भिरको बाटो हुँदै अहिले पनि ठूला खालका बसहरु चल्न सक्दैनन् । यसको स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सुरुको केही भागमात्र पिच भएको छ । त्यसैले स्तरोन्नति र पिचका लागि हामी गण्डकी प्रदेश सरकासँग अनुरोध गर्न चाहन्छौं ।

गलेम भिरलाई केन्द्रित गरी गाउँमा पर्यटन विकासको योजना पनि बन्दै छन् कि ?

यो भिरलाई पर्यटनसँग जोडेर गाउँलेले फाइदा लिन सक्ने अवस्था हामीले देखेका छौं । यही सोचअनुरुप हामी गुरुयोजना निर्माणमा पनि जुटेका छौं । भिरसँगैको चीलडाँडामा पार्क निर्माणको काम पनि भएको छ । पोखराको छोरेपाटन, भरतपोखरीलगायत सहरको दक्षिण र पश्चिम भेकका बासिन्दालाई पञ्चासे पुग्ने छोटो बाटो पनि यो मार्ग हुन सक्ने हामीले देखेका छौं । यसलाई खन्ने समयमा नै हामीले यस क्षेत्रको समग्र पर्यटकीय सम्भावनालाई समेत मध्यनजर गर्दै काम अगाडि बढाएका हौं । गाउँ पुग्ने राम्रो बाटो, पानी र बिजुलीको उचित व्यवस्था भएपछि विदेश जाने र गाउँ रित्तिने क्रममा पनि कमी आउने हाम्रो आकलन हो । मुख्य कुरा त सरकारले गाउँमै रोजगारीको अवसरहरु सिर्जना गर्न सके गाउँलाई रित्तिनबाट जोगाउन सकिन्थ्यो । म त अहिले पनि कहिले पोखरा त कहिले गाउँ गरिरहेकै हुन्छु । खेतीपाती र कृषिकर्म पनि सक्दो गरिएकै छ ।

रोयल मेम्बर अफ द भिक्टोरिया अर्डर (एमभीओ), राष्ट्रिय शिक्षा पुरस्कार पाएका गुरुङको जीवनी फेदीखोलाका विद्यालय पठनपाठन हुन्छ

फौजबाट निवृत्त भएपछि सम्पूर्ण जीवन समाजसेवामा नै खर्चंदै हुनुहुन्छ, यस क्षेत्रमा के कस्ता कामहरु गर्नुभयो ?

समाजसेवासँग मेरो सानै उमेरदेखिको लगाब हो । मेरी आमा कन्याकुमारी (गैरा) गुरुङमा भएको समाजसेवाको भावनाबाट म प्रभावित हुन पुगें । म आमाको प्रेरणाले समाजसेवामा लागें । २०१४ सालमा स्थापना भएको गाउँको शीतला माविमा म २०५५ सालबाट अहिलेसम्म पनि व्यवस्थापन समितिको अध्यक्षको रुपमा कार्यरत छु । मेरा काइँला बुबा बलबहादुर गुरुङ पछि उक्त विद्यालयको व्यवस्थापनको जिम्मा मैले लिन पुगें । पहिला आमाले पनि यस विद्यालयको समितिमा सदस्यको रुपमा काम गर्नुभएको हो । यस विद्यालयमा १० कोठाको नयाँ भवन निर्माणको काम बृटिस वेलफेयरको १८ लाखको लगानीमा सम्पन्न गरिएको छ । शीतला माविको ८, ९ र १० कक्षा तथा कम्प्युटर भवन, शिशु कक्षा, साइन्स ल्याबलगायत स्थापना गर्न अध्यक्षको रुपमा काम गरेँ । यसका लागि इटालीको इन्टरभिटा नामक संस्थाले १ करोड १७ लाख रुपैयाँ सहयोग गरेको थियो । अर्को कुरा गलेम भिरमा सडक बन्नु पूर्व गोरेटो बाटोको सुधारको लागि पनि मैले काम गरेको थिएँ । बृटिस वेलफेयरको सहयोगमा गाउँमा विभिन्न ४ खानेपानी आयोजनाहरु सञ्चालन गरी गाउँलेलाई पानीको सुविधा पनि पुर्‍याइएको छ । बेलायतबाट आएका साथीहरु तथा आर्मी एप्रेन्टिक्स कलेजदेखि आएको २ लाख ४९ हजार रुपैयाँको लागतमा स्टोर र सरस्वती मन्दिर निर्माणको काम पनि भएको छ । विद्यालयमा २०६४ सालदेखि निशुल्क पोसाक वितरण, कम्प्युटर सुविधा, विज्ञान सामग्री, पुस्तकालयको सुविधा, पर्खाल निर्माण तथा खानेपानी र शौचालयको व्यवस्था जस्ता कामहरु समेत मैले अगाडि बढाएँ ।

शीतला माविबाहेक अन्यत्र पनि यहाँले योगदान पुर्‍याउनुभएको छ, ती कामहरु स्मरण गराइदिनुस् न ।

सन् २००८ देखि २०२१ सम्म मैले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा) मा अध्यक्षको रुपमा रहेर काम गरें । गोनेसाको माध्यमबाट फेदीखोला– ४ गलेम र फेदीखोला बाङ्गेमा इटालीको भिसपे संस्थामार्फत् प्रसूतिगृह र हेल्थपोस्टको निर्माण गरिएको छ । यसैगरी फेदीखोला २ कालभैरव माविमा नेत्रहीनका लागि विद्यालय कोठा र आवास भवनको निर्माण पनि गराएको छु । तत्कालीन रुपा गाविसमा जर्मनी दाताको सहयोगमा ४ वर्षे कृषि विकास योजना सञ्चालनका लागि काम गरेको थिएँ । त्यस्तै २०७२ सालको भूकम्पबाट गोर्खाका केही पीडित विद्यालयमा शिशु कक्षा सञ्चालनका लागि भवन निर्माणमा सहयोग पुर्‍याएको थिएँ । पोखराका सुकुमवासी बस्तीका विद्यालयमा २६ शिशु कक्षा सञ्चालन र निशुुल्क पढाइ साथै खाना खाजाका लागि ५ सय जनालाई लाभ पुर्‍याइएको थियो । यस क्षेत्रका विभिन्न ६ विद्यालयमा अक्षयकोषको व्यवस्थासमेत मैले गराएको छु । यसैगरी आरुखर्क ७ देखि गलेम खाकगलेसम्म कच्ची मोटरबाटो निर्माणमा सक्रिय भएर लागें । गलेम १ आरुखर्क चिहानडाँडाको दाहसंस्कार गर्ने स्थान, शीतलादेवी मन्दिर राम्चे फेदीखोलाको जीर्णोद्वार, धर्मशाला, ठाँटी, खानेपानी, मन्दिर र चौतारा निर्माण तथा व्यवस्थाका लागि समेत म जुट्न पुगेँ ।

तपाईंको लाहुरे जीवन कस्तो रहन पुग्यो ?

अन्य व्यक्तिभन्दा भर्तीसम्बन्धी मेरो कथा अलि फरक छ । म विदेशमा रहँदा नै बृटिस गोर्खा आर्मीमा भर्ती हुन पुगेँ । मेरा फुपाजु क्याप्टेन सुनार गुरुङको पहलमा म हङकङ, मलेसिया र सिंगापुर पुगें । मेरो शिक्षादीक्षा त्यतै भयो । र, पछि मलेसियाबाट म भर्ती भएको हुँ । त्यतिबेला मलेसिया बेलायती साम्राज्यको अंग थियो । मलेसियामा गृहयुद्धको अवस्थाजस्तो भएपछि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारीमा रहेर मैले फौजमा काम गरेँ । फौजी जीवन उति संघर्षपूर्ण त रहेन तर दिएको जिम्मेवारी पूरा गर्न चुकिएन । घरसम्म खबरहरु आदानप्रदान चिठीमार्फत् हुन्थ्यो । चिठी घरसम्म पुग्नलाई कुनै समय त ६ महिनासम्म लाग्थ्यो । निवृत्त भएपछि पनि बृटिस वेलफेयर अफिसरको रुपमा ४ वर्ष र एआरओ वेलफेयर अफिसरको रुपमा ५ वर्ष मैले काम गरेको छु ।

Related News

सम्बन्धित समाचार

hero news full width