लेखनाथ महोत्सवमा साढे ६ करोडको कारोबार

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
Lekhnath Festival Ending manibhadra

लेखनाथ । १७ औं संस्करणको लेखनाथ महोत्सवमा साढे ६ करोडको कारोबार भएको छ । गत चैत २६ देखि संचालित महोत्सव २ लाख २० हजार दर्शकले अवलोकन गरे ।
१२ दिन चलेको महोत्सव सोमबार समापन गर्दै गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटकीय हिसाबले सम्भावना बोकेको लेखनाथ क्षेत्रको प्रचारको लागि उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पर्यटकीय विकासको लागि उचित कार्ययोजना ल्याउन सके आगामी वर्षबाट नै प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताए ।
उनले तनहुँ र कास्कीको सिमानामा रहेको पुडीटार क्षेत्रलाई प्रदेश सरकारले औधोगीक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको वताउँदै आगामी एक दुई महिनाभित्रै नेपाल सरकारसँग जग्गाको भोगाधिकार लिन सफल हुने विश्वास व्यक्त गरेका थिए ।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले यहाँका पर्यटकीय क्षेत्रको विकासका लागि राज्यको मुख मात्र ताक्ने नभई सबै व्यवसायी मिलेर सहकार्यमूलक ढंगले अगाडि बढ्नुपर्ने बताए । कम्पनी मोडेलको रुपमा पुर्वाधारको विकास गरी पोखरा आउने पर्यटकलाई लेखनाथसम्म ल्याउने वातावरण तयार गर्नुपर्ने बताए ।
अध्यक्ष आत्रेयले आगामी १८ औं संस्करणको लेखनाथ महोत्सव आगामी पुस ७ देखि १८ सम्म सञ्चालन गरिने जानकारी समेत दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर र्कोराला, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले बोलेका थिए ।
महोत्सवमा राखिएका करिब ३ सय स्टलहरुमध्ये सिटिजन फर्निचर ट्रेड प्रालिले सबैभन्दा उच्च कारोबार गर्न सफल भएको थियो भने स्थानीय कृषि उत्पादनमा हेमजा तरकारीको स्टलले सफल कारोबार गर्न सफल भयो । कोरोनाको खोप लगाउने स्टलमा महोत्सव अवधिमा करिब ७ सय जनाले खोप लगाए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) र धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width