न्यायालयको शुद्धिकरण आवश्यक: घिमिरे

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७८
bar~ (1)

पोखरा । नेपाल बार एसोसिएसनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायीहरुको समूहका उम्मेदवारको बुधबार उम्मेदवार परिचय कार्यक्रम भएको छ ।
सो समूहको नेतृत्व गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाल बारलाई अग्रज एवं नवोदित कानुन व्यवसायीको साझा संगठनको रुपमा विकास गरी नागरिक समाजको अग्रणी सामाजिक संस्थाको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले न्यायपालिकालाई विकृति, विसंगति र भ्रष्टाचारमुक्त बनाउन शुद्धिकरण अभियानलाई निरन्तरता दिन आफ्नो समूह लागिपर्ने वाचा गरे ।
उनले प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगलाई टुंगोमा पुर्‍याउन बार कटिबद्ध रहेको दोहोर्‍याए । घिमिरेले कानुन व्यवसायीमाथि लागेको बिचौलिया र भ्रष्टाचारीको दाग मेटाउनसमेत अघि बढ्ने बताए । भ्रष्टाचारको जगमा टेकेर कानुन व्यवसाय गर्न नमिल्ने उनको तर्क छ ।
महासचिवका उम्मेदवार अञ्जिता खनालले न्यायालयलाई विकृति र विसंगतिमुक्त बनाउन आफ्नो समूह लागिरहने बताइन् ।
गण्डकी प्रदेशबाट उपाध्यक्ष पदका उम्मेदवार वीरेन्द्र केसीले न्याय क्षेत्रमा शुद्धिकरण नै लोकतान्त्रिक समूहको पहिलो एजेण्डा हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख बाबुराम कुँवर, वरिष्ठ अधिवक्ता कृष्ण भण्डारी, अधिवक्ता वीनिता नेपाली, उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष नारायणप्रसाद पौडेल, सचिव सन्तोष अधिकारीलगायतले न्यायालयको सुधार नभएसम्म अन्य क्षेत्रको सुधार हुन नसक्ने बताए ।
बारको चुनाव चैत १९ मा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width