महिला दिवसमा वक्तृत्वकला प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
female waling~

वालिङ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको पहुँच अभिवृद्धि’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरेको हो ।
नगरभित्रका सामुदायिक र संस्थागत गरी सात ७ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम साइनभिलेल बोर्डिङ स्कुल वालिङकी छात्रा आस्था पराजुली छन् । त्यस्तै द्वितीय सगरमाथा बोर्डिङ स्कुलकी छात्रा स्नेहा पाण्डे र तृतीय राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा नम्रता कोइराला थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्रालाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । महिलाहरुको नेतृत्व विकास, बौद्धिक क्षमता विकासका लागि यसप्रकारका प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने उपप्रमुख कल्पना तिवारीले बताइन् । समाजमा चेतनाको सन्देश फैलाउनका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहभागी बनाएर अगाडि बढिएको पनि उनले बताए ।
‘महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर होइन, उहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ,’ उनले भने, ‘महिलाहरुको हक अधिकार र अवसलाई सदुपयोग गर्न पनि महिला दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।’
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डे, वडा नं. ६ की वडा सदस्य चीनमाया नेपाली, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षिका भोजकुमारी पाण्डेलगायतले बोलेका थिए ।
वालिङ नगरपालिकाका कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक यूगमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनुषा काफ्लेले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width