पोउवा संघ ६८ औं वर्षमा

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
pcc~

पोखरा । पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघ ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ माघ २५ गते स्थापित संघको संस्थापक अध्यक्ष अमृतप्रसाद शेरचन थिए ।
व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक संस्थाको रुपमा क्रियाशील रह्यो ।
संघका पूर्व अध्यक्ष सुरेशराज राजभण्डारीका अनुसार गाउँबाट सहर बन्दै गरेको पोखरालाई आवश्यक पर्ने पूर्वाधार निर्माण, सामाजिक जागरण र शैक्षिक संस्था स्थापनाको लागि संघले नै अगुवाइ लियो । ‘सहरीकरणको दिशामा वामे सर्दै गरेको पोखरालाई समन्नुत बनाउने काम संघले नै गरेको हो’, उनले भने, ‘शिक्षाको क्षेत्रमा गरेको योगदान त अतुलनीय नै छ ।’ पृथ्वीनारायण क्याम्पसदेखि पोखरा विश्वविद्यालय संघकै पहलमा स्थापना भएका हुन् ।
पूर्व अध्यक्ष राजभण्डारीले पोखराका पुराना सबैजसो शैक्षिक संस्था स्थापनामा आर्थिक सहयोग गरेको जिकिर पनि गरे । सिद्धार्थ र पृथ्वी राजमार्ग, महेन्द्रपुल तथा पोखरा सभागृह निर्माणमा पनि संघले आर्थिक सहयोग गरेको थियो । संघका अर्का पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि लविङ तथा लामो अनसनको नेतृत्व गरेको स्मरण गर्दै भने, ‘पोखरा उद्योग वाणिज्य संघले ६८ वर्षे यात्रामा व्यवसायीको हकहितभन्दा सामाजिक कामलाई नै महत्व दियो र आफूलाई जेठो सामाजिक संस्थाको रुपमा उभ्यायो ।’
संघका वर्तमान अध्यक्ष नारायण कोइरालाले संघसंस्था खोल्न बन्देज भएको पञ्चायतकालीन समयमा जनताको आवाज बोल्ने संस्था नै पोखरा उद्योग वाणिज्य संघ भएको जिकिर गरे । ‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गर्दै सोही अनुरुपका गतिविधि बढाउनु भएको थियो’,उनले भने,‘पोखरा अहिले त्यही रुपले अगाडि बढेकोमा हामी गौरवान्वित छौं ।’ देशमा जनप्रतिनिधि नहुँदा संघले नै जनप्रतिनिधिको रुपमा काम गरेको जिकिर गर्दै उनले भने,‘पोखराको फुटपाथमा भएको अनधिकृत व्यवसाय हटाउँदा होस् वा बजार व्यवस्थापन नै किन नहोस् संघले जनप्रतिनिधिको भूमिका पनि निभाएकै हो ।’
पछिल्लो समय कोभिडका कारण व्यवसायीले भोग्नुपरेका समस्या समाधान, सरकारद्वारा घोषित राहतका कार्यक्रम कार्यान्वयनको लागि दबाब एवं आपतमा परेका व्यवसायीको सहयोगजस्ता कार्यक्रम संचालित रहेको उनले बताए ।
यसैबीच, संघको वार्षिकोत्सव सन्दर्भमा जोखिममा रहेका बालबालिकाका अभिभावकको लागि मास्क, मास्क होल्डर तथा झोला बनाउने तालिम दिएको छ । ३ दिनसम्म चलेको तालिमलाई किडासा नामक गैरसरकारी संस्थाले सघाएको थियो । संघले बालश्रम न्यूनीकरणको लागि लामो समयदेखि काम गर्दै आएकोमा पछिल्लो समय जोखिममा परेका अभिभावकको आयआर्जनमा ध्यान दिएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।
कार्यक्रममा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान बिजुक्छे, पूर्व अध्यक्ष सुरेशराज राजभण्डारी, अध्यक्ष कोइराला लगायतले तालिममा सहभागीलाई मास्क र झोला बनाउने कच्चा पदार्थसहित प्रमाणपत्र वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width