झोलाबाट अफिस चलाउँदै बाल संगठन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
Bal Sangathan Photo 1

पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित बालमन्दिर मावि परिसरमा रहेको कार्यालय त्यहाँ नयाँ भवन बन्ने भएपछि बाहिरिएर झोलामा सीमित छ ।

संस्थाको नेतृत्व बामदेव ढुंगानाले सम्हालेका छन् । सरकारले उनलाई २०७९ सालमा संगठन चलाउने गरी नियुक्ति दिएर पठाएको हो । सरकारले नै तदर्थ समितिको जिम्मेवारी पाएपछि उनले नयाँ सदस्यता बाँडेर समितिलाई पूर्णरुप दिए । त्यसपछि कामकाज गर्न कार्यालय सञ्चालनका लागि भवन माग गर्न पुग्यो ।

अध्यक्ष ढुंगानाका अनुसार तत्कालीन ‘बालमन्दिर’ नै अहिले ‘बालमन्दिर मावि’ नामले सञ्चालन भएको हो । ‘मैले विधान अनुसार नै समिति बनाएर अधिवेशन गरी आधिकारिक सभापति बनेँ । त्यसपछि विद्यालयसँग हामी संस्थापक हौं भनेर भनेपछि एउटा कोठा दिनुभयो । महानगरको अनुदानले फर्निचर खरिद गरेर कार्यालय बनाएँ,’ उनी भन्छन्, ‘२०८० साउनतिर फेरि विद्यालयले विद्यार्थी बढाउन कोठा पुगेन हामी नयाँ भवन बनाएपछि दिउँला भन्यो । हामीले ठाउँ छोड्यौं । अहिलेसम्म नयाँ भवन बनेको छैन । झोलाबाट अफिस चलाउन बाध्य छौं ।’

पहिलेको बालमन्दिर अहिले विद्यालय बनेपछि जग्गा सबै विद्यालयको नाममा गएकाले आफूहरुलाई समस्या भएको उनले सुनाए । पहिलो विद्यालय व्यवस्थापन समितिमा संस्थागततर्फबाट सदस्य समेत नराखिएको उनको गुनासो छ । अनाथ र सहाराविहीन बालबालिकालाई शिक्षा दिने बालमन्दिरको मर्मविपरीत आर्थिकरुपले सम्पन्न अभिभावकका विद्यार्थी पढाउने गरिएको उनले आरोप लगाए ।

पहिलेको बालमन्दिर अहिले विद्यालय बनेपछि जग्गा सबै विद्यालयको नाममा गएको

झोलाकै अफिसबाट भए पनि अनाथ र सहाराविहीन बालबालिकाको लागि कार्यक्रम गरिरहेको संगठन उपाध्यक्ष रामहरि ढुंगाना बताउँछन् । बालमन्दिरले मर्म अनुसारको काम नगर्दा आफूहरुले सिविनसँग सहकार्य गरेर काम गर्नुपरेको बाध्यता उनले सुनाए । संस्थाले गत वर्ष अनाथ र सहाराविहीन बालबालिकाको उद्धार गरेको उनको भनाइ थियो । उनले जनचेतनाका लागि धेरै कार्यक्रम गरिरहेको बताए ।

आइतबार ‘संगठनले बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा पत्रकार सुमन ढुंगाना र सुरेश रानाभाटले बालमन्दिर बाल संरक्षणका विषयमा कार्यपत्र प्रस्तुत गरे । पत्रकार ढुंगानाले नदीपुरमा संगठनले बालमन्दिर सञ्चालन गरे पनि त्यहाँ रहेको जग्गा विद्यालयको नाममा गरिएको बताए । ७ कित्तामा रहेको १६ रोपनीभन्दा बढी जग्गा २०७१ सालमा बालमन्दिर माविको नाममा दर्ता गरिएको उनको कार्यपत्रमा छ । बालमन्दिर माविले बाल संगठन चलाउने कि संगठनले विद्यालयले चलाउने ? भन्ने सवाल गहन र जटिल रहेको उनले बताए ।

कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष एवं पोखरा महानगर प्रवक्ता मोतीराज तिम्सिनाले बालबालिकाको हितका लागि विभिन्न कार्यक्रम गरिरहेको सुनाए । महानगरभित्रका सबै वडालाई बालमैत्री घोषणा गर्न न्यूनतम मापदण्डका विषयमा काम गरिरहेको उनले बताए । महानगरमा दर्ता भएको एजजिओ÷आइएनजिओले कस्तो काम गरिरहेको छ र बालगृहमा कस्तो खानासँगै व्यवहार गरिरहेको छ भन्ने विषयमा पनि महानगरले अनुगमन गरिरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग