रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतना

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
health news katu

पोखरा । जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी पोखरामा सचेतनामूलक कार्यक्रम भएको छ ।

नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्सले आयोजना गरेको कार्यक्रममा नेपालका एकमात्र इम्युनोलोजिस्ट डा. धर्मागत भट्टराईले सहजीकरण गरेका थिए । नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा. भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए । विश्वका कतिपय मुलुकमा इम्युन कमी भएका बिरामीको निशुल्क उपचार भइरहेको अवस्थामा नेपालमा भने स्वास्थ्यकर्मीमा समेत यससम्बन्धी जानकारी नहुनु दुखद भएको उनको भनाइ थियो । ‘घरको कोठामा लागेको ढुसी हटाउँदैमा ढुसीको समस्या समधान हुँदैन, त्यसको कारणसम्म पुगेर निदान गर्नुपर्छ,’ उनले भने, ‘ज्वरो आयो भने एन्टिबायोटिक वा सिटामोल दिएर केहीबेर सञ्चो बनाउँदैमा रोग निको भएको मान्नुहुँदैन, कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।’

एउटै समस्या पटक–पटक देखियो भने इम्युनसम्बन्धी समस्या हो कि भनेर शंका गर्नुपर्ने उनले बताए । नेपाल सरकारले इम्युनोलोजिस्ट बढाउनेतर्फ ध्यान दिएर कैयौँ जनतालाई अकाल मृत्युबाट जोगाउनुपर्नेमा उनले जोड दिए । डा. भट्टराई काठमाडौंको इम्युनोकेयर उच्च रोग–प्रतिरक्षा तथा बाथरोग केन्द्रमा कार्यरत छन् ।

संस्थाका अध्यक्ष सन्दीप पौडेलले आफूहरूले इम्युनको कमी भएका बिरामीहरूको अभिभावक मिलेर संस्था स्थापना गरी यस्तो समस्याको पहिचान गरी समाधानतर्फ लाग्नका लागि सचेतना फैलाउने अभियान सञ्चालन गरेको बताए । उनले रोगबाट पीडित अरू पनि छन् र उपचार सम्भव छ भन्ने जानकारी आममानिसमा पु¥याउन संस्थाले कार्यक्रम गर्ने बताए । पौडेलका ८ वर्षीय छोरा सुशान्त इम्युन कमीसम्बन्धी विश्वकै एक दुर्लभ रोगका कारण हाल भारतको दिल्लीमा उपचाररत छन् । उनी त्यस्तो रोगले पीडित विश्वकै १८ औं बच्चा भएको बताइएको छ । उपचारका लागि आवश्यक औषधिसमेत नेपालमा वैधानिक रूपमा प्रयोग गर्न नपाइने अवस्था रहेको अनुभव पौडेलले सुनाए । पीडितहरूको संगठित आवाज नेपाल सरकारसम्म पु¥याएर सहज उपचारका लागि व्यवस्था होस् भन्ने पनि संस्थाको उद्देश्य रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग