ढोडबेंसीको भन्दै तराईको खुदो बेच्दै विचौलिया

कविराज खनाल
पौष १८, २०७८
lekhnath ukhu

पोखरा । पोखरा ३२, मालेपाटन र ढोडबेंसीका सयौं परिवारले पुख्र्यौली पेसाका रुपमा उखु खेतीलाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय बिक्रीमा समस्या नभए पनि शताब्दी अघिदेखि चल्दै आएको उखु खेती र खुदोको ब्रान्ड, गुणस्तर र पेसा धरापमा परेको हो ।
समस्या विगतका वर्षमा नदेखिए पनि पछिल्ला दिनमा आम्दानीलाई मुख्य पेसाको रुपमा लिँदै आएका किसानले भने यसपटक विचौलिया व्यवसायीले चितवन र तराईको खुदो सस्तो र गुणस्तरहीन खुदो किनेर मालेपाटन ढोडबेंसीको खुदो भनी बजारमा बिक्री गर्दै आएकोले ब्रान्डमा भने समस्या देखिन थालेको हो ।
ठाउँको समेत पहीचान झल्केको खुदो उत्पादन हुने यस ठाउँलाई लगभग ६० देखि ७० जना किसानले उखुबाट वार्षिक ६० लाख नगद भित्र्याउँदै आएका थिए तर यस वर्ष भने सेतो ढुसीका कारण उत्पादन घट्ने देखिएको छ । त्यसैमाथि विचौलियाले अन्यत्रबाट खुदो खरिद गरी अर्काको उत्पादन बिक्री गरेकाले किसानहरु निराश देखिन्छन् । कृषि मन्त्रालय र विभागमार्फत उखु र खुदो उत्पादन गराउन विभिन्न किसिमका मेसिन, उपकरण खरिद र भट्टी बनाउन सहयोग प्राप्त होओस् भन्ने किसानको अपेक्षा छ ।
अर्काको उत्पादन बिक्री वितरण गर्नुभन्दा आफैंले उत्पादन गरी बिक्री वितरण गर्नु नै संस्थाको उद्देश्य रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद वाग्ले बताउँछन् ।
पुसे पन्ध्र र माघे संक्रान्ति लगायत विभिन्न चाड पर्व, मेला, महोत्सव, विवाह, व्रतबन्ध, मर्दापर्दामा यहाँको खुदो खाने चलन चलिआएको छ । यहाँको खुदो कास्कीका छिमेकी गाउँ तनहुँ, लमजुङ, स्याङ्गा, वागलुङ पर्वतलगायत छिमेकी जिल्लामा समेत बिक्री वितरणको लागि लगिन्छ । खुदोबाट विभिन्न परिकार र खाजाको रुपमा कसार, सेलसेटी, चिउरा, मकैमा समेत मिलाएर खाने गरिन्छ । जुन मिठो, स्वादिलो र गुणस्तरयुक्त मानिन्छ ।
अन्य खेतीभन्दा उखु खेतीमा बढी उत्पादन र आम्दानी गरेका किसानहरु यो खेतीमा बढी आर्कषित भएको देखिन्छन् ।
उखुको बिउ रोपेको एक वर्षपछि दुई पटक गोडमेल गरेपछि उखुको लाँक्रा तयार हुन्छ । उखुलाई खुदो बनाउने प्रक्रिया भने पछिल्लो समय हराउँदै गएको छ । विगतमा कोलमा उखुको लाँक्रा काटेर टुक्रा टुक्रा पारी कोलमा राखेर मानिसले कोल घुमाएर पेलेर रस निकालिन्थो । बिस्तारै गोरुले कोल घुमाएर उखु पेल्ने चलन आयो । हालका दिनमा भने बिजुलीबाट मेसिनमा पेलेर रस निकाली सफा कपडाले छानेर ठूला ठूला ड्रममा राखेर आगोमा ६ घन्टा उमालेर खुदो बनाइन्छ ।
हालका दिनमा भने मालेपाटन कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा पोखरा महानगरपालिकाले पनि यहाँको खुदोलाई ब्रान्ड बनाउन लागि परेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width