सहारा एकेडेमीलाई केसी परिवारको साथ

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७८
sahara

पोखरा । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।
केसीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा पोखरामा बुधबार स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लब पोखराका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ समेत नामकरण गरिएको छ । सम्झौताअनुसार केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने सहमतिपत्रमा उल्लेख छ ।
सहयोगदाता भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशिको सहयोग केसी परिवारले गरेको हो । कार्यक्रममा स्व. सूर्यबहादुर केसीका सुपुत्रहरु प्रकाश, किरण र रोशन केसीले बुवाको योगदान उद्योग, समाजसेवा, राजनीतिलगायतमा बिर्सनै नसकिने गरी रहेको स्मरण गरे ।
एकेडेमीमा हाल १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालक आश्रित रहँदै आएको क्लबका अध्यक्ष गुरुङले बताए । उनले सो रकम आश्रित बालकहरुको शिक्षा दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्ने बताए । एकेडेमी चलाउनकै लागि क्लबले २ दशकदेखि निरन्तररुपमा आहारा गोल्डकप आयोजना गर्दै आएको छ ।
यसैबीच, सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले बताए ।
हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटबल प्रतियोगिताको मुख्य प्रायोजनसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width