युनाइटेड क्लबको १२ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
United club 2

पोखरा । युनाइटेड क्लब पोखराको शनिबार १२ औं वार्षिक साधारण सभा भएको छ ।
सभा उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्की प्रमुख वैनबहादुर अधिकारी क्षत्रीले तत्कालीन समयमा राज्यले सामाजिक संस्थालाई आफ्नो अधिनमा राख्ने काम गरेकै कारण स्वतन्त्रतापूर्वक उल्लेख्य काम गर्न नसकिरहँदा लोकतन्त्रपछि स्थापित युनाइटेड क्लब विशुद्ध रुपमा सामाजिक काममा अगाडि बढिरहेकाले अब सानोतिनो कुरामा अल्मलिन नहुने बताए ।
उनले क्लबले आयोजना गर्ने हरेक काममा साथ दिने बताउँदै पोखरामा निर्माणाधीन अवस्थामा रहेको चिडियाखाना निर्माणका लागि समेत सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
पोखरा–१० का कार्यवाहक अध्यक्ष सम्मरबहादुर श्रेष्ठले क्लबको कामले पोखरालाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउँदै प्रदेश सरकारले पनि यसप्रति चासो दिनुपर्नेमा जोड दिए ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लब स्थापनादेखि निरन्तर लगावका कारण पोखरामा खुला चिडियाखाना निर्माणसँगै आफ्नै जग्गा खरिद गर्न सफल भएको र निकट भविष्यमा आफ्नै जग्गामा क्लबको उद्देश्य अनुरुपको काम गर्ने समेत बताए । अमरसिंह माविका अध्यक्ष तेजस्वी बरालले क्लबले शिक्षा, स्वास्थ्य पर्यटन प्रवद्र्धनजस्ता संवेदनशील क्षेत्रमा गरेको कामको प्रशंसा गरे । पचभैया सामुदायिक वनका अध्यक्ष दीननाथ ढकालले सामाजिक कार्यमा अग्रस्थानमा युनाइटेड क्लबसँग २०६७ बाट सहकार्य गर्दै आएको बताए ।
क्लब अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव शान्तबहादुर थापाले महासचिव र कोषाध्यक्ष सूर्यबहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आजीवन सदस्य सविता श्रेष्ठ रञ्जित, सल्लाहकारतर्फबाट गोविन्द घिमिरे लगायतले बोलेका थिए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम अध्यक्ष लोकबहादुर थापाले स्वागत र महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width