अपांगता भएका बालबालिका लिएर हुम्डेमा समिट एयर

प्रकाश ढकाल
असाेज १५, २०७८
Humde Airport

मनाङ  । गण्डकी प्रदेश सरकारले २०७६ भदौ २६ गते तामझामका साथ मनाङको हुम्डे विमानस्थल खुलाउन चार्टर्ड विमान अवतरण गरायो । समिट एयरको विमानमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, सांसद पाल्देन छोपान लगायत उच्च पदस्थ व्यक्तिहरु पोखराबाट हुम्डे ल्यान्ड गरे । निरन्तर फ्लाइट गर्ने भाषणसहित उनीहरु फर्किए तर उनीहरु फर्केपछि विमान फर्केर हुम्डे झरेन । बाढीपहिरोका कारण अहिले मनाङ आक्रान्त छ । खाद्यान्न ढुवानीमा महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर्ड गर्नुपरेको छ ।
भइरहेको विमानस्थल चलाउन सरकारले ध्यान दिएन । यद्यपि जिल्ला विपद् व्यवस्थापन समितिको पहिलो बैठकले नै हुम्डेमा जहाज ल्याण्ड गराउन सरकारसँग माग गरेको थियो । समितिको माग सरकारले सुनेन । माथिल्लो मनाङमा जिल्लाकै आधा जनसंख्या बस्ने भएकोले विमानस्थल चलाउन अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने बताउँछन् ।
‘पर्यटन मन्त्रालयलाई चिठी लेखेका छौं । केही चरणमा कुराकानी पनि भएको हो तर पहल अघि बढेन,’ प्रजिअ लामिछानेले भने, ‘विमानस्थलमा पक्की पिच छ । बाह्रैमहिना चलाउन सकिन्छ । तर चल्न सकेको छैन । राजनीतिक रुपमा चाहना भएकोजस्तो देखिएन ।’
यहीं विमानस्थलमा बिहीबार चार्टर्ड फ्लाइट भएको छ । शुक्रबार पनि थप एउटा फ्लाइट हुने बताइएको छ । प्रजिअ लामिछानेका अनुसार हिमालयन नामक संस्थाले ६ जना अपांगता भएका बालबालिकालाई थोरङ्ला पास गराउन जहाजमार्फत हुम्डे ल्याएको हो । टोलीमा सहयोगीसहित २ जना इजराइली र अन्य २९ जना छन् । उनीहरुका ४५ नेपाली सहयोगी भने सडकमार्गबाट मनाङ आएका छन् । विश्वको १० औं नम्बरमा पर्ने ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोराङ्ला पास गरी मुक्तिनाथ हुँदै अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्ने तयारीका साथ चार्टर्डको समिट एयरको जहाजमार्फत उनीहरू मनाङ आइपुगेका हुन् । इजरायली र भारतीय फरक क्षमता (अपांगता भएका) विद्यार्थी आइपुगेकोमा उनीहरु ह्विल चियरको सहयोगमा थोराङ्ला पास गर्ने प्रजिअ लामिछानेले जानकारी दिए । चार्टर्ड गरी जहाज आउने भएपछि हाल सञ्चालनमा नरहेको विमानस्थल पनि अब चलायमान बनाएको छ ।

पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा मनाङमा २०५९ सालमा पहिलो पटक विमानस्थल सञ्चालनमा ल्याइएको हो । सडक सञ्जाल जोडिएपछि भने बिस्तारै यो विमानस्थल ओझेलमा पर्‍यो । उक्त एयरपोर्टमा विगतमा ट्वीनअटर जहाजमात्रै चल्ने गरेको थियो तर मनाङ सडक सञ्जालसँग जोडिएपछि एयरपोर्ट अवरुद्ध भएको हो । ट्वीनअटर र पाइलटसमेत पाउन मुस्किल भएपछि एयरपोर्ट बन्द भएको थियो ।
हिमाली जिल्ला भएकोले मनाङको सडक सञ्जाल सहज छैन । अनकन्टार भिर फोडेर बनाइएको सडक वर्षेनी भत्किन्छ । विमास्थल चलाउन सके पर्यटकलाई सहज हुने व्यवसायी विनोद गुरुङ बताउँछन् । ‘विमानस्थल चल्दा मनाङका जनतालाई मात्रै होइन, पर्यटकलाई पनि राम्रो हुन्छ नि,’ उनले भने, ‘अहिले बाढीपहिरोले कति दुख पाएका छौं । जहाज उडेको भए सजिलै आउजाउ गर्न सकिन्थ्यो ।’ विमान कम्पनीहरुले भने यात्रु नपाउने भन्दै जहाज उडाउन आनाकानी गरिरहेका छन् ।
२ महिनाअघिको बाढीपहिरोले सडक सञ्जालमा क्षति पु¥याएर सञ्चालन हुन नसकेको अवस्थामा अब यो विमानस्थललाई निरन्तर गर्न सकिएमा स्थानीयवासीसँगै पर्यटकको आवतजावत र सामग्री ढुवानीमा सहज हुने स्थानीयवासीको भनाइ छ । अहिले पनि यहाँको सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । सडक सञ्जाल अवरुद्ध भएकाले मनाङवासीले सास्ती खेप्नुपरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width