मनाङ र मुस्ताङमा फेरि देखिए संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७८
Corona Banner

पोखरा । पूर्ण खोप सुनिश्चित भएको जिल्ला मनाङ र मुस्ताङमा कोरोना संक्रमित भेटिएका छन् । केही समय अगाडि पूर्ण खोपयुक्त भनिएको प्रदेशका यी २ जिल्लामा भदौ महिनाभर शून्य संक्रमित रहेका थिए । तर बुधबार दुवै जिल्लामा समान १६/१६ जना संक्रमित भएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार मनाङमा गत साउन १५ गते २ जनामा संक्रमण भए यता कसैमा संक्रमण भएको थिएन भने मुस्ताङमा साउन २७ गते १ जनामा कोरोना देखिए यता कोही पनि संक्रमित भएका थिएनन् ।
दैनिक शून्य संक्रमित भएपनि मंगलबारसम्म मनाङमा ३ र मुस्ताङमा ११ जना सक्रिय संक्रमित थिए । बुधबार १६÷१६ जना संक्रमित थपिएसँगै मुस्ताङमा २७ र मनाङ १९ संक्रिय संक्रमित पुगेका छन् । अहिलेसम्म ३ सय २ जना संक्रमित भएको मुस्ताङमा २ सय ५९ जना निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ । यसैगरी मनाङमा कुल १ सय ५२ जना संक्रमित भएकामध्ये १ सय ३१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
मनाङ र मुस्ताङमा संक्रमित भेटिएसँगै गण्डकी प्रदेशका ११ वटै जिल्लामा ४ सय ९६ संक्रमित थपिएका छन् । १ हजार ६ सय ७६ जनाको नमुना परीक्षण गर्दा २९.५९ प्रतिशतमा कोरोना देखिएको हो । कास्कीका १ सय ९८ सहित तनहुँका २९, गोरखाका २१, लमजुङका ४, नवलपुर ९२, स्याङ्जाका २८, पर्वतका २५, बागलुङका ५९ र म्याग्दीका ८ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । योसँगै प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ९८ पुगेको छ । प्रदेशमा ३ सय ८० संक्रमणमुक्त भएसँगै कोरोना निको हुनेको संख्या ७४ हजार २ सय ३९ पुगेको छ ।
देशभर पछिल्लो २४ घन्टामा १ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ७ सय ११ आरडिटी पिसिआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, ५ हजार ५ सय ७९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ८१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ६४ जना पुगेको छ ।
अहिलेसम्म ९३.५ प्रतिशत संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २ हजार २ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण मृत्यु हुने बढ्न थाले
गण्डकी प्रदेशमा थप १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो पछिल्लो १ महिनामा कोरोनाबाट ज्यान गुमाउनेको सबैभन्दा बढी हो । योभन्दा अघि साउन ३१ गते १२ जनाको कोरोनाकै कारण ज्यान गएको हो । बुधबार कास्कीका ७ सहित स्याङ्जाका २, बागलुङ, तनहुँ र पर्वतमा १÷१ जनाको ज्यान गएको छ ।
कास्कीको पोखरा महानगरपालिका १४ की ४८ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १० की ९२ वर्षीय महिलाको होम आइसोलेसनमा निधन भएको हो । पोखरा २२ का ७७ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । पोखरा २५ का ६५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
यसैगरी कास्कीकै पोखरा १४ का ८२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । कास्कीको रूपा गाउँपालिका ३ का ६२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । पोखरा ७ का ६८ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । स्याङजा बिरूवा गाउँपालिका १ का ४६ वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो ।
यसैगरी स्याङजाकै फेदीखोला गाउँपालिका २ का ४८ वर्षीय पुरूषको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङको ताराखोला गाउँपालिका ५ की ७४ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो । तनहुँको व्यास नगरपालिका ५ का ३९ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचारको ज्यान गएको हो । पर्वतको फलेवास गाउँपालिका ११ का ६३ वर्षीय पुरूषको पनि संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ । यसैगरी नेपालभर कोरोना संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै १० हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width