मातृभाषा बचाउन जोड

आदर्श समाज सम्वाददाता
असार ३१, २०७८
Janajati pratisthan news

पोखरा । मातृभाषा बचाउन आदिवासी जनजाति समुदाय जागृत हुनुपर्ने एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा ‘स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता’ सम्बन्धी प्रदेशस्तरीय गोष्ठीमा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् ।
आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेश थकालीले मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रमले उत्प्रेरित गराउने धारणा राखे । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै बाँकी अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने भन्दै उनले मातृभाषा बचाउन आदिवासी जनजाति समुदाय जागृत हुनुपर्ने आवश्यकता औंल्याए ।
महासंघका पूर्व उपाध्यक्ष सूर्यबहादुर भुजेलले अरुलाई आरोपित गरेर मात्रै अघि बढ्न नसकिने धारणा राख्दै सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । दललाई आदिवासी जनजातिमैत्री बनाउन त्यति सजिलो विषय नभएको भन्दै उनले आदिवासी जनजाति समुदायबाट उच्च राजनैतिक नेतृत्व तहमा पुग्न नसकेसम्म समस्याको निकास निस्कन गाह्रो हुने बताए ।
आदिवासी जनजाति महासंघ गण्डकी अध्यक्ष खेम पुनमगरले आदिवासी जनजातिको पहिचान स्थापित गर्न एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी जनजाति आन्दोलन अघि बढाउन अब नयाँ संकल्पको जरुरी रहेको बताए । उनले मातृभाषामा पठनपाठनका लागि स्थानीय तहलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल तामाङ घेदुङका दीपक वाइबा तामाङले आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए ।
नेपाल मगर संघ गण्डकी अध्यक्ष सिद्धान्त थापामगरले आदिवासी जनजाति अधिकारका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न मगर संघ तयार रहेको भन्दै आन्दोलन र राजनीतिलाई युवा पुस्ताले हाँक्नुपर्ने बताए ।
प्रतिष्ठान उपाध्यक्ष गोकुल घर्तीमगरले सरकारको नीति तथा कार्यक्रमलाई आदिवासी जनजाति समुदायको बीचमा पु¥याउने काम प्रतिष्ठानले गर्ने बताए । भाषाले देशलाई जोड्ने बताउँदै उपाध्यक्ष घर्तीमगरले सबै मातृभाषाको संरक्षण चुनौतीपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका महासचिव सुजन लामा र प्रतिष्ठानकी कर्मचारी विमला गुरुङले पनि बोल्नुभएको थियो । सो अवसरमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आदिवासी जनजाति तथा मातृभाषी अभियन्ता र जनप्रतिनिधि गरी झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width