बन्दीपुरका उपाध्यक्षको जनप्रिय काम

क्षति हुनै नदिन पहल, भइहाले राहत र सान्त्वना

सविन लामिछाने
असार २४, २०७८
bandipur upadhyakshya karuna

दमौली । बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ अहिले बाढीपीडितको घरघरै पुग्ने गरेकी छिन् । पीडितका घरमा पुग्छिन्, अवस्था बुझ्छिन्, सान्त्वना दिन्छिन् साथमा सम्भव भएसम्म राहत पनि । गुरुङको अहिलेको दिनचर्या नै यही हो भन्दा अन्यथा हुँदैन ।
उपाध्यक्ष गुरुङ अहिले बाढी पहिरोले क्षति पुर्‍याएपछि सान्त्वना दिन र राहत बाँड्नमात्र गएकी होइनन् । लगातार वर्षा हुन थालेपछि जोखिम हुनसक्ने क्षेत्र पहिचान गरी सुरक्षित स्थानमा लैजान पनि उनी खटिएकी थिइन् । उपाध्यक्ष गुरुङ भन्छिन्, ‘ग्रामीण क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहेकाले वडाध्यक्ष र टोल अध्यक्षको समन्वयमा सबैलाई सुरक्षित स्थानमा रहन सचेत गराइरहेका छौं ।’
बुधबार रातिदेखि परेको भीषण वर्षापछि आएको बाढीपहिराले बन्दीपुर गाउँपालिका वडा नं २ खहरेका ४८ घर घरधुरी विस्थापित भए । बाढीपहिरोले एउटै वडामा ४८ सहित बन्दीपुरमा ७२ घर विस्थापित भएका छन् । त्यसपछि उपाध्यक्ष गुरुङ बाढीपहिरोबाट विस्थापित भएकालाई सुरक्षित ठाउँमा स्थान्तरण गर्न बिहीबार बिहानै घटना स्थलमा पुगिन् । उनले तत्काल जोखिम क्षेत्रमा रहेकालाई कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरिन् ।
बन्दीपुर २ खहरे, धारापानी, वडा नं ३ रामकोट, वडा ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् । बाढीले खहरेमा १३ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति पुर्‍याएको छ भने २६ घर उच्च जोखिममा छन् । गत साताको बुधबार उपाध्यक्ष गुरुङ बाढीपहिरोको जोखिम क्षेत्रमा अनुगमनका लागि गएकी थिइन् । अनुगमनका क्रममा बन्दीपुर–३ तामुङको १ घर पहिरोको उच्च जोखिममा भएको देखिन् । त्यसपछि उनले तत्काल उक्त स्थान छोडी आफन्तकोमा गएर बस्न आग्रह गरिन् । तर उपाध्यक्ष गुरुङको आग्रह सुनेको उक्त परिवारले आफ्नो झुपडी नै महल ठान्यो, तत्काल छाड्न सकेन ।
त्यहाँबाट फर्किएको केही समयपछि निरन्तर परेको पानीबाट बाटोमा रोकिएको पहिरो बस्ती छिर्‍यो । पहिरोमा परी बस्तीका २ जनाको ज्यान गयो । ६ जना घाइते भए । उपाध्यक्ष गुरुङ सम्झन्छिन्, ‘बाढीपहिरोबाट जोखिममा रहेको क्षेत्रबाट तत्काल छोडी सुरक्षित स्थानमा गएर बस्न आग्रह गर्दा मान्नु भएन, केही समयमै दुखद् घटना भयो ।’ उनले भनिन्,‘मान्छेलाई आफ्नो भन्ने चिज प्यारो लाग्दो रहेछ । घर छोड्न नसक्दा अकालमै ज्यान गयो ।’ गाँउपालिकाको आन्तरिक स्रोत धेरै नभएकाले पीडितलाई तत्कालका लागि गास र सुरक्षित बासको व्यवस्थापनमा गाउँपालिका लागिरहेको उनले बताइन् ।
उनले भनिन्, ‘पीडितहरुको बाढीपहिरोले अन्न बगाएको छ । तत्कालको लागि पीडितलाई गास र बास आवश्यक छ ।’ अहिलेको अवस्थामा कोरोनाभन्दा पनि बाढीपहिरोको चिन्ता हुनाले प्रभावित क्षेत्रमा गई पीडितलाई सहानुभूति दिएर सुरक्षित स्थानमा राख्ने गरेको उनले सुनाइन् । हालसम्म बन्दीपुरका १ सय २७ घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच गाउँ कार्यपालिका बैठकले घर पूर्ण क्षति भएकालाई ३० हजार र आंशिक क्षति भएकालाई १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width