एकतामा नै शक्ति : प्रदेश प्रमुख पौडेल

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
wotef

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुनेमा जोड दिएकी छन् ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पोखराको टोलीसँगको भेटघाटमा प्रदेश प्रमुख पौडेलले पोखरा प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको दिगो विकास लागि महिला पर्यटन व्यवसायीको सहभागिता अपरिहार्य हुने बताइन् । उनले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षको व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासमा नयाँ सोच आवश्यक हुने औंल्याइन् ।
पर्यटन क्षेत्रमा महिला संगठित भएर अगाडि बढ्नु निकै सकारात्मक र उदाहरणीय भएको जनाउँदै महिलाको श्रमको मूल्यांकन नभएसम्म महिला सशक्तिकरण सम्भव नहुने धारणा राखिन् । उनले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताइन् । एकतामा नै शक्ति हुने भएकाले पर्यटन क्षेत्रका साझा समस्या समाधानमा एकीकृत आवाज लिएर अघि बढ्न सुझाव दिइन् । प्रदेशको राजधानी पोखराको पर्यटन विकासका लागि आफ्नोतर्फबाट पनि पहल गर्ने उनले बताइन् ।
भेटमा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यान्वयनमा देखिएको जटिलता र खोप सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराइन् ।
संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुली संस्था स्थापनाको उद्देश्य र संस्थागत रुपमा गरेका कार्यबारे प्रदेश प्रमुखलाई जानकारी गराइन् । संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै