व्यासको बजेट पौने २ अर्ब

सविन लामिछाने
असार ११, २०७८
vyas

दमौली । व्यास नगरपालिकाले आगामी आव २०७८/७९ को लागि पौने २ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका व्यासले १ अर्ब ७७ करोड ८९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको हो । यो बजेट चालु आवको भन्दा २५ करोडले बढी हो ।
चालु खर्चतर्फ १ अर्ब २ करोड ८७ लाख र पुँजीगततर्फ ७५ करोड २ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये आर्थिक विकासमा १० करोड ११ लाख, सामाजिक विकासमा ९३ करोड १७ लाख, पूर्वाधारतर्फ ४५ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ६६ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ २ करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा नगरपालिकाले पुरानै योजनालाई निरन्तरता दिएको छ । हरेक वर्ष स्वास्थ्य, कृषि ,पर्यटन र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको व्यास नगरपालिकाले यस वर्ष पनि सोही क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेको छ । कोरोनाको महामारी भएकाले स्वास्थ्य क्षेत्रलाई भने मुख्य रुपमा राखेको छ । नगरपालिकाले जिल्ला अस्पताललाई नगरपालिकाअन्तर्गत ल्याउन सम्बन्धित निकायमा पहल गर्ने कार्यक्रम बनाएको छ ।
नगरपालिका उपप्रमुख मीरा जोशीले बजेट प्रस्तुत गर्दै नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेको बताइन् ।

दमौलीस्थित जिल्ला अस्पताललाई १ सय शैयामा स्तरोन्नति गरिने

कोरोना रोकथाम तथा उपचारका लागि दमौलीस्थित जिल्ला अस्पताललाई १ सय शैयामा स्तरोन्नति गर्ने गरी व्यास–११ पोल्याङमा करिब १ सय रोपनी जग्गा उपलब्ध गराउने र सोको लागि गुरुयोजना तयार गरिने जोशीले बताइन् । जिल्ला अस्पतालको स्तरउन्नतिका लागि पनि पहिलानै धेरै योजना ल्याइएको थियो । कोरोना महामारीबाट जीवनरक्षाका लागि संघीय, प्रदेश, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी वर्ष दुम्सी बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गत नगरपालिका मातहतमा रहने गरी अस्पताल सञ्चालन गर्ने नीति नगरपालिकाको छ । जिल्ला अस्पतालमा न्यूनतम १ सय शैयामा डायलायसिस, सुत्केरी, आइसियु, भेन्टिलेटरको विशेषज्ञ सेवा र सुविधा उपलब्ध गराउन पहल गरिने भएको छ । नगरपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण र यान्त्रीककरण गदै स्थानीयस्तरको उत्पादन वृद्धिमा जोड दिने भएको छ । जुन अघिल्लो वर्षको योजनामा पनि समावेश गरिएको थियो ।
गत वर्ष समावेश सार्वजनिक अवस्थाका खाली जमिनको उत्पादनशील ऊर्जा खेर जान नदिन र कृषियोग्य भूमिको उपयोग गरी कृषि उत्पादनलाई बढावा दिइने योजना आगामी वर्षमा पनि निरन्तरता दिइएको छ । कृषि उत्पादनलाई संकलन गर्न हरेक वडामा न्यूनतम एक कृषि उपज संकलन केन्द्र र बजारीकरणका लागि कृषि उपज ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ ।
नगरपालिकाले आलु, लसुन, प्याजको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा लाग्ने किसानलाई अनुदानको व्यवस्था मिलाउने भएको छ । नगरको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिकस्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासका लागि कानून निर्माण गर्ने नीति अवलम्बन गरिएको छ । १०८ फिटको व्यासमूर्ति, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला, ऐतिहासिक तनहुँसुर दरबार, मानुङकोट, गलेखामकोट, कालिका सहिद जंगलपार्क, क्यामिन कालिका, सिद्धेश्वरी राजापानी महादेव, छाङ्गावाराही मन्दिरको संरक्षण र सम्बद्र्धन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । चालु वर्षको योजनामा परेको वडा १० दुम्सीचौरमा पर्यटकीय प्रवद्र्धनका लागि नारेश्वर ताल निर्माण सम्पन्न गर्ने र भानुघाँसी स्मारक पार्कलाई व्यवस्थित गर्न यस पटक पनि समावेश गरिएको छ । पर्यटन क्षेत्रको लागि नगरपालिकाले मानुङ यात्राका लागि केबलकार, मानुङकोटमा तारे होटल निर्माण, शिशा पुल निर्माण, जिप लाइनलगायत निर्माण कार्यका लागि निजी लगानीकर्तालाई आकर्षित गरी साझेदारी गर्ने नगरपालिकाले नीति लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै