कोरोना लाग्दैमा आत्तिनुहुन्न

डा.लेखनाथ आचार्य
जेठ २४, २०७८
Lekhnath

गत वर्ष कोरोनाको पहिलो लहरमा जोगिएको थिएँ । तर अहिले भने नयाँ भेरियन्टसहित कोरोनाको दोस्रो लहरले मलाई पनि समात्यो । कहाँबाट स¥यो, ठेगान छैन । आजभन्दा ठिक १ महिनाअघि संक्रमित बनेको म अहिले भने पूर्ण रुपमा निको भएको छु । खासमा कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनु त छँदैछ मानिसले दैनिक रुपमा योग, व्यायाम र खानपिन शैली छोेड्नु हुँदैन ।

अघिल्लो महिना वैशाख २१ गतेको कुरा हो । त्यस दिन मलाई ज्वरो आउने, रुघा लाग्ने, नाक थुनिने लक्षण देखा पर्‍याे । खाना पनि नियमित खाइरहेकै थिएँ । कोरोनाको लक्षण जस्तो समान लक्षण देखिएपछि आफू पनि संक्रमित बनेको आशंका भयो । तैपनि विगतमा पनि रुघाखोकी लाग्ने भएकोले सामान्य होला पनि भन्ठानेँ । तुलसीको पात, तातोपानी खानुका साथै खानापिनमा विशेष ध्यान पुर्‍याएँ । पहिले पनि ज्वरो आउँदा त्यस्तै गर्ने गर्थें ।

एक सातासम्म पनि ज्वरो घटेन । वैशाख २६ तिर डा. विश्वराज बस्ताकोटीलाई सम्पर्क गरें । डा. बस्ताकोटी पहिलेदेखि चिनेजानेका हुनुहुन्थ्यो । भएको समस्या सुनाएँ । उहाँले कोरोनाको लक्षण हो भन्दै एकदुई वटा औषधी दिनुभयो । सिटामोल लगायत औषधी थिए । यति गर्दा पनि ज्वरो निको नभएपछि वैशाख २९ मा पिसिआर चेक गराएँ । पोखरा न्युरोडस्थित लाइफ केयर डायग्नोस्टिकबाट स्वाब दिएको राति ८ बजेतिर फोन आयो । रिपोर्ट के आउला कसो होला भन्ने जिज्ञासा स्वाब दिएदेखि नै थियो । जिज्ञासु हुँदै सुनें । सोचेजस्तो भएन । ‘तपाईं कोरोना पोजेटिभ हुनुहुन्छ’ भन्ने शब्दले केही क्षण शून्यता छायो ।

मानिसले खानपान, दिनचर्यालाई संयमित रुपमा अघि बढायो भने संक्रमित भए पनि जोगिन सकिन्छ ।

फेरि डा. बस्ताकोटीलाई रिपोर्टबारे जानकारी गराएँ । उहाँको सल्लाहअनुसार छुट्टै बस्ने र स्वास्थ्य सुरक्षामा ध्यान दिन थालें । त्यसो त मलाई सुरुमै ज्वरो आउने र रुघा लागेदेखि नै छुट्ट्रै बस्न थालिसकेको थिएँ । कोभिड–१९ संक्रमण पुष्टिपछि अझै सचेत बनें । केदारेश्वर महदेवमिण सेवाश्रम समितिको आश्रमलाई नै होम आइसोलेसनको रुपमा प्रयोग गरेँ । चिकित्सकको सल्लाहमै बेलाबेलामा अक्सिजन नापिरहन्थें । यत्तिकैमा पोजेटिभ रिपोर्टको एक सातापछि जेठ ४ मा अक्सिजन मात्रा ८८ मा झ¥यो । आत्तिकै फेरि डा. बस्ताकोटीलाई फोन गरें । उहाँको सल्लाहमा जिरो किमीस्थित रिजनल अस्पताल गएँ । एकछिनपछि फर्किन्छ होला भनेको अस्पताल नै भर्ना गर्नुपर्छ भनेपछि भर्ना भएँ । अक्सिजन लगाए पनि आइसियुमा राख्नुपरेन । कोरोनाकै कारण दिनहुँ मानिसको मृत्युको खबरले आक्रान्त बनेको बेला आफू निको हुन्छु भन्नेमा आशावादी थिएँ । अस्पतालमा ५ दिनको बसाइँले केही हलुका महसुसपछि घरमै गएर बस्छु भनेँ । जेठ ८ गते डिस्चार्ज गरियो । अहिले मलाई निको भइसकेको छ । अलि बढी बोल्यो भने मुख सुकेजस्तो हुन्छ । खास अरु समस्या छैन ।

संक्रमणको बेला आफूले आफूलाई डर मान्नुभन्दा पनि आफन्त, इष्टमित्र तथा शुभचिन्तकले बारम्बार फोन गर्दा कताकता डर लागे जस्तो हुन्थ्यो । ‘बच्नुहोला, खतरा छ’ भनी सबैले एउटै कुरा भनेपछि कसैकसैलाई त फोन नगर्नु होला भनी भन्थें । मैले त पहिलेदेखि नै भन्ने गर्थे–‘कोरोना मानिसले बनाएको निर्मित भाइरस हो । जानेबुझीकन बनाइयो वा भुलवस बन्यो ।’

कोरोनाबाट खासै आत्तिनुपर्ने वा डराउनुपर्ने त्यस्तो केही छैन । मानिसले खानपान, दिनचर्यालाई संयमित रुपमा अघि बढायो भने लागे पनि जोगिन सकिन्छ । अञ्जानवश कसैको सम्पर्कमा आएपछि स्वभाविक रुपमा कोरोना सर्छ । तर, लागिसकेपछि पनि आत्तिनु हुँदैन । शारीरिक अभ्यास, प्राणायाम, योगाभ्यास पनि गर्नुपर्छ । म सधैं बिहानबेलुका १–१ घण्टा योगाभ्यास तथा ध्यानमा बस्छु । ५० वर्षको भएँ । मलाई अहिलेसम्म कुनै असाध्य रोग छैन ।

केदारेश्वरमा म बाहेक अरु २ कर्मचारीलाई पनि कोरोना देखिएको थियो । उहाँहरु होम आइसोलेसनमै निको हुनुभयो । केदारेश्वर महादेवमणि सेवाश्रम समितिद्वारा केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । विद्यार्थीलाई सरेन । कोरोनाको दोस्रो लहरपछि आसपासका विद्यार्थी अभिभावककै जिम्मामा छन् । टाढा घर भएका गरी २८ जना विद्यार्थी छन् । कर्मचारी सबै मिलाएर ३८ जना जति बस्छौं । कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सचेतना अपनाएका छौं । मेरो अनुभव पनि साट्ने गरेको छु । विद्यार्थी तथा कर्मचारी थप सचेत बनेको पाएको छु ।

(केदारेश्वरका पीठाधीश डा. आचार्यसँग विजय नेपालले गरेको कुराकानीमा आधारित)

Related News

सम्बन्धित समाचार

hero news full width

trending post