पोखरा । जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्ष पोखराले ४ अर्ब २९ करोडको बजेट बनायो । त्यसमध्ये ६७ प्रतिशत अनुदान थियो । आफ्नै स्रोतबाट डेढ अर्ब संकलन गर्ने अनुमान गरिएकोमा ९१ करोड ९ लाख मात्रै संकलन भयो । आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब २६ करोड आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ३९ करोड जम्मा भयो । त्यो वर्ष ६ अर्ब १७ करोड बजेट अनुमान गरिएको थियो । तेस्रो अर्थात् आव २०७६/७७ मा पनि महानगरले सोचेजति कर उठेन । २ अर्ब ७४ करोड उठाउने महानगरको लक्ष्य भए पनि १ अर्ब २३ करोडमात्रै उठ्यो । बजेट ७ अर्बको बनाइएको थियो । अहिले घटाएर ५ अर्ब ३४ करोडको बजेट ल्याइएको थियो । कोभिडका कारण बजेटको आकार साँघुरियो । २ अर्ब १८ करोड आन्तरिक स्रोतबाट राजस्व बटुल्ने योजना थियो । हालसम्म १ अर्ब ६६ करोडमात्रै संकलन भएको छ ।
अध्ययन नै नगरी लक्ष्य निर्धारण गर्दा पोखराले अनुमान गरेअनुसार आन्तरिक आम्दानीको लक्ष्य कहिलै पनि भेट्टाएको छैन । ‘लक्ष्य अनुसार आम्दानी कहिलै भएको छैन । मुस्किलले ५० प्रतिशत राजस्व उठ्छ,’ महानगरका लेखा प्रमुख जयराम पौडेलले भने, ‘अघिल्लो वर्ष लक्ष्यको ४० प्रतिशत उठ्यो । यो वर्ष पनि शत प्रतिशत सम्भव छैन ।’ उनले प्रमुख क्षेत्रहरुबाट आम्दानी सोचेअनुसार नभएको बताए । पोखराले सही व्यवस्थापन गर्न सके सबैभन्दा राम्रो करको स्रोत सम्पत्ति कर नै हो । व्यवसाय कर, घरजग्गा रजिस्ट्रेसन लगायत शुल्कहरु छन् । घाटगड्डीबाट राम्रै आम्दानी गर्छ । ‘सम्पत्ति करबाट १ अर्ब उठ्नुपर्ने हो, ८ करोड हाराहारीमात्रै उठ्छ । ठूला खाले २० प्रतिशत पनि करदाताहरु करको दायरामा आएका छैनन्,’ पौडेलले भने, ‘घरहरुको अभिलेखीकरण छैन । ५ तलाको घर छ, १ तलाको कर तिर्छ । यसले बहाल कर पनि छुटिरहेको छ ।’
पोखराले कुनै पनि वर्ष लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन । यसको मुख्य कारण स्रोत संकलनको क्षमता हो
तथापि अरु पालिकाभन्दा पोखराको आम्दानीलाई राम्रो मान्नुपर्ने पौडेलको तर्क छ । ‘अरुलाई हेर्दा त हाम्रो आम्दानी राम्रो छ । यही पर्याप्त होइन । अन्त ९० प्रतिशत अनुदान र १० प्रतिशत आफ्नो आय हुन्छ,’ उनले भने, ‘हाम्रोमा बजेटको ५० प्रतिशतभन्दा बढी आन्तरिक आम्दानी छ ।’ महागरपालिकाले योजना धेरै बनाउनका लागि मनपरी आन्तरिक स्रोतको आम्दानी अनुमान गरेको विज्ञहरु बताउँछन् । ‘योजना धेरै चाहियो । माथिको अनुदान धेरै नआएपछि आन्तरिक आम्दानी धेरै देखाउनेभन्दा अरु विकल्प छैन,’ जानकारहरु भन्छन्, ‘पूरा गर्नै नसक्ने लक्ष्य राख्नु घाटा बजेट सरह हो । यसलाई सुधारिएन भने बजेट प्रणाली बिग्रिन्छ ।’
पोखराले दीर्घकालीन आम्दानी हुने विशेष स्रोतको खोजी गर्न सकेको छैन । राजस्व संकलन क्षमतामा समेत कमजोरी देखिन्छ । कर्मचारीहरुले करदातासँग मिलेर व्यक्तिगत फाइदामा लाग्दा संस्थागत आम्दानी कम भएको प्रमाणहरु यसअघि महानगरबाटै सार्वजनिक भएको थियो । राजस्वका कर्मचारीहरुले आफ्नो फाइदाका लागि कम मूल्यांकन गरिदिने र तिर्नुपर्ने राजस्वमा समेत छुट गराइदिएका कारण राजस्व संकलन उत्साहजनक भएको छैन । अहिले पनि जमिन र घरसँग जोडिएको क्षेत्रबाट संकलन भएको पैसाले नगरपालिका चलिरहेको छ । खेतीयोग्य जमिन बर्सेनि घटिरहेको छ । उद्योग, कलकारखाना बढेको छैन । पर्यटनको राजधानी मानिएको पोखरामा पर्यटकीय क्षेत्रबाट राजस्वमा उल्लेख्य योगदान देखिँदैन ।
त्यसमाथि प्राकृतिक स्रोतबाहेक पोखराले पछि निर्माण गरिएका गन्तव्यहरु छैनन् भन्दा पनि फरक पर्दैन । पर्यटन क्षेत्रबाट पोखराले पौने करोड पनि उठाउन सकेको छैन । राजस्व परामर्श समितिको संयोजक तथा उपप्रमुख मन्जुदेवी गुरुङ राजस्वको प्रणाली स्थापना गरेको बताउँछिन् । ‘कर भनेपछि रिसाउँथे मान्छेहरु । अहिले सिस्टममा आयो । स्रोत थप गर्यौं,’ उनले भनिन्, ‘घर जग्गा र व्यवसाय दर्तामा जोड दियौं । वडाबाट नै दर्ता व्यवस्था मिलायौं । पूर्ण भन्न सक्दिनँ धेरै हदसम्म राम्रो भएको छ ।’ उनले नागरिकमा कर तिर्ने धारणाको विकास अझै गराउन नसकिएको बताइन् । ‘महेन्द्रपुलका घरवालाले सटर ५ हजारमा दिएको सम्झौता गर्छन् । तपाईं हामी सटर खोज्न गयौं भने पचासौं हजार लिन्छन्,’ उनले थपिन्, ‘अरु तिर पनि यस्तै छ । नागरिकहरु सकेसम्म कर छल्न खोज्छन् ।’
समयमा सबै नागरिकले नियमानुसार कर तिरे पोखराले संघको आश गर्नुपर्ने अवस्था नरहेको गुरुङको भनाइ छ । एकातिर बजेटको आकार घट्दै जाने र अर्कोतिर बजेट खर्चिने दर झन् कमजोर हुनुले पोखराको कार्य क्षमतामाथि प्रश्न उठ्छ । पोखराको बजेट खर्च यो वर्ष खासै उल्लेख्य नहुने भएको छ । वैशाख मसान्तसम्म ४२ प्रतिशत खर्च भएको छ । पूर्वाधारको खर्च ३० प्रतिशत हाराहारीमात्रै छ । प्रशासनिक खर्च करिब पूरै भए पनि विकास बजेट पूरा खर्च नहुने पक्का छ । अनुदानबाटै सुरु भएको महानगरको यात्रा अनुदानमै सीमित छ ।
स्रोत सुनिश्चित हुने दाबीसहित पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत महत्वपूर्ण केही स्रोतहरु लामो अवधिका लागि ठेक्का दिन लागेको छ । खासगरी पाताले छाँगो, सेती खोंच र यहाँका खोलाहरु निजी क्षेत्रलाई जिम्मा दिन लागिएको हो । ४० वर्षसम्म निजी क्षेत्रले ती स्रोत चलाउन पाउने गरी महानगरपालिका ठेक्का दिन तयार देखिएको छ । तर प्रस्तावित ठेक्काबाट पनि उल्लेख्य आम्दानी हुने देखिँदैन ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१