१ हप्तासम्म आएन पिसिआर रिपोर्ट

रासस
जेठ ११, २०७८
PCR

दमौली । तनहुँको व्यास नगरपालिकाले गत जेठ २ र ३ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठायो । कोरोना सङ्क्रमण बढेपछि नगरपालिकाले पिसिआरको दायरा बढाउँदै स्वाब सङ्कलन गरी परीक्षणका लागि पठायो ।

स्वाब पठाएको एक हप्ता बित्दा समेत प्रदेशले रिपोर्ट पठाएको छैन । रिपोर्ट आउनै ढिला भएपछि कोरोना जोखिम झन् बढेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका–१० का एक व्यक्तिले स्वाब दिएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा मानसिक तनाव भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिपोर्ट ढिलाई भएकोबारे प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग जानकारी माग गरिएको बताउनुभयो । “पिसिआर रिपोर्ट आउन ढिलाई भएकाले समस्या भएको छ, के कारणले ढिलाई भएको हो जानकारी मागेका छौ”, न्यौपानेले भन्नुभयो ।

नगरपालिकामा हालसम्म ६ सय ५९ जनाको पिसिआर स्वाब परीक्षण गरिएकामा तीन सय ५७ जना सङ्क्रमित भई एक सय २२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसमध्ये दुई सय २४ जना उपचारको क्रममा छन् भने ११ जनाको मृत्यु भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने प्रदेशभरबाट स्वाब थुप्रिएकाले रिपोर्टमा ढिलाई भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट पठाइएका तीन सय ५८ जनाको रिपोर्ट आउन बाँकी छ । व्यास नगरपालिकाको एक सय ७९, भिमाद नगरपालिकाको ७६, ऋषिङ गाउँपालिकाको १६, देवघाट गाउँपालिकाको २७, बन्दीपुर गाउँपालिकाको ३१ र आँबुखैरेनी गाउँपालिकाको २९ जनाको रिपोर्ट आएको छैन ।

वैशाख १ गतेदेखि यता तनहुँमा एक हजार एक सय ७३ जनालाई कोरोना सङ्क्रमण भएकामा दुई सय २६ जना निको भई हाल ९ सय १६ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । जिल्लामा वैशाख १ गतेदेखि ३१ जनाको मृत्यु भएको छ ।

पिसिआर प्रयोगशालाका लागि रु २५ लाख

व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि सरकारले रु २५ लाख बजेट विनियोजन गरेको छ । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा हप्तादिनसम्म पनि रिपोर्ट नआएपछि नगरपालिका आफैले पिसिआर परीक्षण गर्नका लागि प्रयोगशाला निर्माणको तयारी गरेको छ ।

सांसद कृष्णकुमार श्रेष्ठको पहलमा अर्थमन्त्रालयले सोमबार प्रयोगशालाको लागि उक्त रकम विनियोजन गरेको हो । केही दिनअगाडि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा श्रेष्ठले काठमाडौ फर्किएपछि प्रयोगशाला स्थापनाका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । पिसिआर परीक्षणका लागि नगरपालिकाले व्यास–१० दुम्सीमा पिसिआर प्रयोगशाला स्थापनाको तयारी गरेको छ । नगरपालिकाले प्रयोगशालाका लागि सहयोग गर्न सबैसँग अनुरोध समेत गरेको छ ।

प्रयोगशालाका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रयोगशाला निर्माणका लागि जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । उक्त बैठकमा सहभागी जनप्रतिनिधिले त्यस प्रस्तावमा सहमति जनाएको र अन्य सबै जनप्रतिनिधिलाई पनि अनुरोध गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाले प्रयोगशाला निर्माणमा सहयोग गर्न शिक्षक, कर्मचारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि लगायतलाई अनुरोध गरेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाले पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न आव्हान गरेसँगै जनस्तरबाट सहयोग जुट्न शुरु भएको छ । व्यास–४ स्थित सिर्जनशील दिदीबहिनी समूहले व्यास नगरपालिकालाई रु ५० हजार पाँच हस्तान्तरण गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width