पोखरा । गण्डकी प्रदेशसभा गठन भएदेखि अहिलेसम्म ४६ वटा विधेयक (संशोधन सहित) पास गरिएको छ । सांसदहरुले छैटौं अधिवेशनसम्म २ सय ५६ घन्टा ३० मिनेट २४ सेकेन्ड संसदमा विताए । उनीहरु निर्वाचित भएपछिको समय हिसाव गर्दा १ प्रतिशत समय पनि संसदलाई दिएनन् । यद्यपि समितिका बैठक र सरकारसँग सम्बन्धित अरु बैठकहरुमा भने थप सामान्य उपस्थिति देखिन्छ ।
संसदबाट पास भएका ऐनहरु जनतासँग जोडिनेभन्दा आफ्नै सेवा सुविधा र साझा अधिकार सूचीमा केन्द्रित छ । केही प्रतिष्ठान, प्राधिकरण र समिति गठन गर्ने ऐन बनाइएको छ । नयाँ संरचना अनुसार प्रणालीको विकास अझै हुन सकेको छैन ।
सिधै जनतासँग जोडिने ऐन निकै कम बने, बनेका ऐन पनि कार्यान्वयनमा गएका छैनन्
पहिलो अधिवेशनमै पारित भएको प्रदेशसभा सांसद र मन्त्रीहरुको तलब भत्ता २०७६ सालमा संशोधन गरियो । सोही बेला पास भएको स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक सम्बन्ध्ी ऐन असंवैधानिक भएपछि सुविधा शीर्षकमा मासिक तलबभन्दा महंगो रकम दिने ऐन आयो । ८ वटा ऐन बोर्ड, प्राधिकरण, समिति, प्रतिष्ठान सँग सम्बन्धित छन् । आयोग र गठन सम्बन्धी थप ५ वटा ऐन छन् ।
सिधै जनतासँग जोडिने ऐन निकै कम बने । खोप सेवा ऐन, वर पीपल चौतारो संरक्षण, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन, लोकसेवा आयोग, गण्डकी विश्वविद्यालय, सवारी तथा यातायात ऐन, सुशासनको प्रत्याभूति गराउने ऐन, वातावरण संरक्षण ऐन, प्राविधिक शिक्षा तथाा व्यावसायिक तालिम प्रतिष्ठान, प्रदेश प्रहरी ऐन र कृषि व्यवसाय प्रबद्र्धन ऐन तुलनात्मक रुपमा जनजीविकासँग जोडिएको छ । तर यी ऐन कार्यान्वयनमा भने गएको छैनन् । दुग्ध विकास बोर्ड, सहकारी, ताल संरक्षण तथा विकास प्राधिकरण पनि जनतासँगै जोडिएका छन् । सरकारले ल्याउने अधिकांश विधेयक नियमित अड्को फुकाउने खालका मात्रै छन् ।
जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले प्रदेशसभाले संघीयताको मर्मअनुसार काम गर्न नसकेको बताउँछिन् । ‘महेन्द्रकालीन विधेयक ल्याएर बहुमतको नाममा जस्ताको त्यस्तै पास गर्छन् । हामी विरोध गर्छौं तर सुनुवाई हुँदैन,’ उनले भनिन्, ‘जसको नीति उसैको नेतृत्व भएन । तत्कालीन माओवादीले संघीयता परिकल्पना ग¥यो । गणतन्त्र विरोधीहरुले यसको नेतृत्व गरे ।’ राम्रा सुझाव दिए पनि सरकारले ल्याएको विधेयकमा संशोधन नहुनु दुखद भएको उनले सुनाइन् ।
गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेका ठीक ३ वर्ष भएको छ । बितेको ३ वर्षलाई हेर्ने हो भने संघीयतालाई मजबुत बनाउने गरी प्रदेशसभामा गम्भीर छलफल भएको भेटिएन । संसद बैठक सकिने बित्तिकै जिल्ला दौडिने प्रचलनले प्रदेशसभा सांसदको प्राथमिकतामा परेन । कतिपय सांसदहरु हाजिरी किताबमा उपस्थित भए पनि बैठकमा भेटिँदैनन् । जनता नेताको प्राथमिकतामा नपरेको संघीयता खारेज गर्नुपर्ने तर्क गर्छिन् राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा । ‘आर्थिक रुपमा कमजोर देशलाई संघीयता के काम ?,’ उनले भनिन्, ‘कसले धेरै सुविधा लिने । कसले राम्रो गाडी चढ्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । जनताको लागि काम गरिएको छैन । बरु यो संघीयताको खर्च जनताका लागि लगाऔं ।’ ऐन निर्माणमा बहुमतले पेलेर हुबहु पास हुने गरेको उनको भनाइ छ । ‘ह्रस्वदीर्घ पनि परिवर्तन हुँदैन । छुटेका कुरा राखौं र केही संशोधन गरौं भन्दा बहुमत देखाउनुहुन्छ,’ उनी भन्छिन्, ‘कानुनमा प्रतिपक्षी सांसदहरु विरोध गर्ने मात्रै हो । आफ्नो विज्ञता देखाउन पाउँदैनन् ।’
नेपाली कांग्रेसकी सचेतक ओमकला चालिसेले अहिलेसम्मको संसद बैठकलाई भाँडाकुटी खेलको संज्ञा दिन्छिन् । ‘भाँडाकुटी खेलेजस्तो छ । सरकारले ल्याएका विधेयक जस्ताको त्यस्तै पास भयो । दफावार छलफल हुँदा सुझाव दिन्छौं,’ उनले भनिन्, ‘तर अल्पमतको कदर नै भएन । हाम्रा सुझाव समेटिएन । विधेयकमा हेरफेर भएन ।’
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले सरकारको आवश्यकताका आधारमा संसद क्रियाशील हुने बताए । ‘संसदले विधेयक लेऊ भनेर माग्ने होइन । सरकारलाई काम गर्दै जाँदा जे कुराको अपुग हुन्छ, त्यही ल्याउँछ,’ उनले भने, ‘विधेयकहरु सर्वसम्मत रुपमै पास भएका छन् । यहाँ राजनीतिक एकता छ ।’ प्रदेशको नामकरण र राजधानी तोक्नु सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा उनले अथ्र्याए । ‘बिना विरोध नाम र राजधानी तोकियो । केही महत्वपूर्ण ऐनहरु बनाएका छौं । यो गर्व गर्न लायक काम हो,’ उनले थपे, ‘केही समय कार्यालय र कर्मचारी व्यवस्थापनमा लाग्यो । यो बाहिर देखिने काम होइन । संघीयताको नतिजा विस्तारै देखिन थालेको छ ।’ बनेका ऐन कार्यान्वयन भने सुस्त भएको उनको भनाइ छ ।
मौन मनाङे
सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे संसदमा निकै कम उपस्थित हुन्छन् । अर्को रोचक कुरा के छ भने उनी अहिलेसम्म कुनै पनि बैठकमा बोलेका छैनन् । मौन बसेरै सरकारलाई सघाइरहे । उनीमात्रै एक यस्ता सांसद हुन्, जो प्रदेशसभाको कुनै पनि बैठकमा एक शब्दसम्म बोलेका छैनन् । ‘बैठकमा बोलेर के काम छ ?,’ उनले भने, ‘प्रदेशसभाले केही गरेन । अब जनताले सबैलाई लठ्ठी हान्छन् । म त्यही दिन कुरिरहेको छु ।’ आगामी बैठकहरुमा पनि नबोल्ने उनी बताउँछन् । जनअपेक्षा अनुसार प्रदेशले काम गर्न नसकेको उनको आरोप छ ।
निस्क्रिय संसदीय समिति
गण्डकी प्रदेशमा ४ वटा संसदीय समिति छन् । मिनि पार्लियामेन्टको रुपमा रहेका यी समितिहरु बितेका ३ वर्षमा खासै सक्रिय भएनन् । प्रदेशसभालाई सक्रिय बनाउने दायित्व पनि यिनै समितिहरुको हो । समिति नै सुतेपछि संसद सामान्य कार्यसूचीमै बित्नु नौलो होइन । समितिहरु गठन भएदेखि सबैभन्दा बढी बैठक विधायन समितिको भएको छ । १ सय ७ वटा बैठक बसेर विधेयकमाथि विभिन्न निर्णय गरिएको हो । अर्थ तथा विकास समितिको ४२ वटा, सार्वजनिक लेखा समितिको ३६ वटा र प्रदेश मामिला समितिको ३० वटा बैठक भए ।
कोरोना संक्रमणका कारण सोचेजति बैठक बस्न नसकेको बताउँछन्, प्रदेश मामिला समितिका सभापति कृष्ण थापा । ‘अहिलेको वर्ष कोभिडले प्रभाव पा¥यो । विगतका वर्षहरुमा सरकार नै बढी अन्यौलमा प¥यो । अझै पनि सिस्टमको अभाव हो । सुरुमा समिति सञ्चालनको पैसा नै भएन,’ उनले भने, ‘कतिपय अनुगमन गरिएका निर्णय कार्यान्वयन पनि भएन । सत्ता समीकरणका कारण पनि समितिको सक्रियता कम भएजस्तो लाग्छ ।’ योजनागत अनुगमन नगर्दा सक्रियता कम भएको उनले सुनाए ।
गण्डकीमा ऐन विधायन समितिमा मात्रै दफावार छलफल हुन्छ । समितिका सभापति मोहन रेग्मी सरकारको आवश्यकताका आधारमा विधेयक आउने बताउँछन् । ‘सरकारलाई काम गर्दा जुन विधेयक चाहिन्छ त्यही ल्याएको छ । हामीले फटाफट छलफल गरेर संसदमा पठाएका छौं,’ उनले भने, ‘समितिका कारण कुनै विधेयक रोकिएको छैन ।’ संसद कामविहीन हुँदा विधेयक छिटो बनाउनका लागि दबाब समेत दिएको उनले बताए ।
सार्वजनिक लेखा समितिका सभापति कुमार खड्का समितिले दिएका निर्देशन सरकारले पालना नगर्दा सक्रियता घटेको बताउँछन् । ‘कतिपय निर्देशन सरकारले इग्नोर गरेको छ । समितिले निर्देशन दिन सक्छ । सरकारले नमान्दा केही गर्न नसक्ने निरीहता छ,’ उनले भने, ‘सरकार जति इमान्दार हुन्छ, समितिको क्रियाशीलताले अर्थ पाउँछ । सकारात्मक गन्तव्य भेटिन्छ । नत्र कुनै अर्थ रहेन ।’ सरकारले समितिका निर्देशनलाई सम्पत्तिको रुपमा कार्यान्वयन गर्नुपर्ने खड्काको भनाइ छ । समितिले मागेका कागजपत्र महिनौं बित्दा समेत सरकारले उपलब्ध गराउँदैन ।
विधेयकहरुको दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनुपर्ने अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाको माग छ । ‘विधेयक बनाउने र छलफल गर्ने प्रणाली नै गलत छ । सम्बन्धित समितिमा आउँदैन । विधायन समितिमा मात्रै जान्छ,’ उनी भन्छन्, ‘हामीले त कार्यान्वयनलाई मात्रै हेरेका छौं । अर्को कुरा, विधेयक ड्राफ्ट हुँदैमा धेरै इन्ट्रेस्ट मिसिएर आउँछ । यो रोक्नुपर्छ ।’ समितिले दिएका निर्देशन सरकारले खासै पालना नगरेको उनले बताए । गणतन्त्र र संघीयताको सपना पस्किने प्रदेशसभा तत्कालीन पञ्चायतले बनाएको नगर प्रशिक्षण केन्द्रको सानो सभाहलभित्रै हरायो । संसद भवन बनाउने योजना पटक पटक प्रस्ताव भयो । तर नतिजा निस्किएन ।
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१