पोखरा । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष काउ फार्म सञ्चालनका लागि सेयर लगानी गर्ने गरी ११ करोड मन्त्रिपरिषद बैठकबाट छुट्यायो । प्रदेशको दुग्ध विकास बोर्डमार्फत ५१ प्रतिशत सेयर रहने गरी लगानी गर्न लागिएको थियो । तर अध्ययन नै नगरी बजेट विनियोजन गरिदिँदा धेरै प्रश्न र आशंका उब्जिए । अहिलेसम्म बजेट निकासा नै भएन । सरकारको सपनाको काउ फार्म अलपत्र प¥यो । १ वर्षअघि माघ १५ गते प्रदेशको दुग्ध विकास बोर्ड र कम्पनीबीच आयोजना सञ्चालनसम्बन्धी सम्झौता भइसकेको छ । सम्झौता हुने वित्तिकै सञ्चारमाध्यमले आयोजनाको कार्यान्वयनमाथि प्रश्न उठाएपछि निर्णय भएको रकमसमेत निकासा दिइएको छैन । विवादकै बीच चालु आर्थिक वर्षमा पनि १२ करोड रुपैयाँ काउ फार्मका लागि छुट्याइएको छ । तर निकासा भएको छैन । चौतर्फी आशंकाका कारण प्रदेशसभाको सार्वजनिक लेखा समितिले यसको गतिलैसँग अध्ययन गरेको थियो ।
अध्ययन प्रतिवेदनले आयोजना राम्रो भए पनि व्यवस्थापकीय दक्षतामाथि प्रश्न उठाएको छ । ‘स्थानीयलाई सेयर वितरण गर्ने भनिएको छ । तर कति प्रतिशत सेयर स्थानीयलाई दिने हो ? भविष्यमा नीतिगत समस्या आउन सक्छ । त्यसतर्फ सचेत रहनुपर्छ,’ प्रतिवेदनले भनेको छ । सरकारले लगानी अनुसार चासो नदेखाएकोले आयोजना अलपत्र पर्न सक्ने लेखा समितिको आशंका छ ।
प्रदेश सरकारले नै गौरवको योजना गाई फार्मको कार्यक्रम तत्काल कार्यान्वयनमा नजाने पक्काजस्तै भएको छ
सभापति कुमार खड्का प्रस्तावनामै सैद्धान्तिक त्रुटि देख्छन् । ‘त्यति ठूलो योजना दिँदा प्रतिस्पर्धा गराउनुपर्छ । हचुवाको भरमा दिँदा कानुनको गम्भीर उल्लंघन भएको छ,’ उनले भने, ‘सरकारले पैसा दिएर सेयर किन्ने भनेको छ । त्यो कम्पनीसँग सरकारलाई दिने केही पनि छैन । उधारोमा सरकारले लगानी गर्न मिल्दैन ।’ कम्पनी सञ्चालकको विगत राम्रो नभएकोले सरकार फस्न सक्ने संकेत उनले गरे । ‘चिनियाँ कम्पनीले जनताको नाममा पठाएको सम्पत्ति कुनै व्यक्तिको हक अधिकार लाग्ने कुरा सही छैन,’ उनले भने, ‘जसले यो प्रस्ताव गरेको छ, उही व्यक्तिको छवि राम्रो छैन । जनताले प्रदेश सरकारलाई हेरेर जग्गा दिएका छन् । भोलि दुरुपयोग हुन सक्छ ।’
प्रस्तावित आयोजनामा ६ हजार जनाले रोजगारी पाउने दाबी गरिएको छ । पहिलो चरणमा ८ हजार र पछि थप ९ हजार वटा होलिस्टेन जातका गाई पाल्ने लक्ष्य छ । उक्त जातको १ गाईले दिनमा ३० लिटरसम्म दूध दिन सक्छ ।
गण्डकी सरकारले गठन भएकै वर्ष २ वर्षमा दूधमा आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको थियो । सरकार गठन भएको तेस्रो वर्ष पूरा हुँदै छ । हालसम्म प्रदेशमा कति दूध उत्पादन हुन्छ भन्ने तथ्यांक समेत निकाल्न सकेको छैन । यसका लागि दुग्ध विकास बोर्ड ऐन बनाइएको साढे २ वर्ष पूरा भयो । सरकारले बोर्ड उपाध्यक्ष अहिलेसम्म नियुक्त गर्न सकेको छैन । गण्डकी प्रदेशसहित बागमती र २ नम्बर प्रदेशमा चीनको चाइनीज एकेडेमी अफ एग्रिकल्चर मोडर्नाइजेसन साइन्स (सिएएमएस) कम्पनीसँग गाई फार्म सञ्चालनका लागि समझदारी भएपछि गण्डकीमा तनहूँको शुक्लागण्डकी १२ फिरफिरेको बाँझो जमिनमा गाईपालन गर्न लागिएको हो । हालसम्म करिब ३ हजार रोपनी जग्गा कम्पनीले आफ्नो नाममा लिइसकेको सञ्चालक रामकुमार खड्काले बताए ।
‘बुझ्न र बुझाउन गाह्रो भयो । सरकारको प्रणाली अनुदानमा चलिरहेको हो । सिधै पैसा लैजाने र खाने,’ उनले भने, ‘यो सार्वजनिक निजी साझेदारी मोडलमा छ । प्रतिफलमा आधारित हुन्छ । सरकारको सिस्टमले यसलाई बुझ्न सकेन । मैले पैसा लगेर खाने भयो भन्ने रिस भयो ।’
सरकार सहभागी भएपछि आयोजनामा सरकारकै नेतृत्व रहने उनले बताए । ‘सेयर हाल्दा त्यहाँको सम्पत्ति पाउने हो नि । लगानी गरेपछि नाफा भए नाफा पाउँछ नोक्सान भए नोक्सान पाउँछ,’ खड्का भन्छन्, ‘अब सरकारले सहयोग नगरे पनि आयोजना अघि बढ्छ । त्यहाँका जनताहरु आयोजना सञ्चालनका लागि आतुर छन् । त्यसै अनुसार काम भइरहेको छ ।’ उनका अनुसार गाईसँगै प्रविधिको विकास हुने छ । गाई फार्म सञ्चालन गर्न प्रदेश सरकारले जग्गा, बाटो, बिजुली र पानी उपलब्ध गराउनुपर्छ । सरकारले पर्याप्त अध्ययन र अनुसन्धान नगर्दा अहिलेसम्मका सबै प्रगति खेर जाने देखिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा परियोजना कार्यान्वयन हुनेमा ढुक्क छैनन् । ‘अब केही भन्न सक्ने अवस्था छैन । केही पनि काम उत्साहजनक रुपमा अघि बढेन,’ उनले भने, ‘हामीलाई निजी क्षेत्रसँग सहकार्य कसरी गर्ने भन्ने नै थाहा भएन । केन्द्रको अर्थ मन्त्रालयसँग राय मागेका छौं ।’ गण्डकी काउ फार्मको सट्टा नयाँ कम्पनी बनाएर काम गर्ने प्रस्ताव समेत अघि सारिएको छ । ‘यो कम्पनीमा केही समस्या आयो । नयाँ कम्पनी बनाउने कि भन्ने सुझाव पनि आएको छ,’ थापाले भने, ‘मोडालिटीबारे छलफल भएको छैन । काम हुँदैन भन्नु राम्रो होइन तर काममा प्रगति देखिएन ।’ अर्थ मन्त्रालयबाट सुझाव सहितको अधिकार नपाउँदा काम रोकिएको उनको भनाइ छ । प्रस्तावित आयोजना अनुसार सिएएमएसले अत्याधुनिक प्रविधिसहितको गाई फार्म सञ्चालन गरेर ४ वर्षमा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सहमति छ ।
अर्थमन्त्री किरण गुरुङले विधि निर्माण नगरी बजेट निकासा दिन नसकिने बताए । ‘अनुदान दिएजस्तो खातामा पैसा पठाइदिने होइन । सरकारले लगानी गर्ने भनेपछि एक हिसावको प्रक्रिया हुन्छ,’ उनले भने, ‘त्यो प्रक्रिया नपुगेसम्म पैसा दिन मिल्दैन । त्यसै मन्त्रालयले निकासा दिन सक्दैन ।’ क्याबिनेट मेम्बर (मन्त्रीहरु) बीचमै समझदारी नहुँदा प्रदेश सरकारले नै गौरवको योजनाको रुपमा प्रस्ताव गरेको गाई फार्मको कार्यक्रम तत्काल कार्यान्वयनमा नजाने पक्काजस्तै भएको छ ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१