ताङतिङ चिनाउने प्रेरणादायी पुस्तक

आदर्श समाज संवाददाता
पौष २४, २०७७
tangting

पोखरा । कास्कीको पर्यटकीय गाउँ ताङतिङका शिक्षक एवं पर्यटन अभियन्ता ओमप्रकाश गुरुङको संस्मरणात्मक कृति ‘ताङतिङ मेरो गाउँ’ प्रकाशित भएको छ । पुस्तकमा ताङतिङको प्रकृति, संस्कृति, जीवनशैली, विकास र जनजीवनका विषयमा लेखिएका तीस वटा निबन्ध छन् ।

मादी गाउँपालिका–२ ताङतिङ को हिमालय मिलन माविमा प्रधानाध्यापकका रुपमा कार्यरत गुरुङको पुस्तकमा लाहुरे संस्कृति, ग्रामीण जीवनका सुखदुःख र गाउँ विकासका कथा सरल भाषामा लेखिएको छ ।

लाहुरे संस्कारमा हुर्केरबढेका गुरुङ गाउँमा बसेर शिक्षा दान गर्दै आएका छन् । पछिल्लो समय उनी ताङतिङलाई पर्यटनधाम बनाउने अभियानका नायक समेत बनेका छन् । त्यसैले आज ताङतिङ चम्किएको छ ।

एउटा गाउँको विकास कथा नयाँ पुस्ताका लागि महत्वपूर्ण हुन्छ । त्यसैले पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक एवं लेखक झलक सुवेदी लेख्छन्, ‘यो पुस्तक मादी गाउँपालिकाका विद्यालयको सामाजिक शिक्षा विषयमा रिफ्रेन्स बुकका रुपमा अध्ययन गर्न लगाउनु एकदमै राम्रो हुन्छ । यो नयाँ पुस्ताका लागि प्रेरणादायी पुस्तक बन्नेमा म विश्वस्त छु । यसमा हाल गाउँपालिकाका अध्यक्ष रहेका प्रकाशका दौंतरी वेदबहादुर गुरुङले सहयोग गर्न सक्नुहोला भन्ने मेरो आशा छ ।’

पुस्तकका रुपमा आउनुअघि नै गुरुङका निबन्धहरू सेतोपाटी डटकम, नागरिकलगायतमा प्रकाशित भएर लोकप्रिय भइसकेका थिए । पुस्तकको सम्पादक पर्यटन पत्रकार अमृत भादगाउँले हुन् । पुस्तकमा भादगाउँले लेख्छन्, ‘आफ्नो श्रम, सीप र विवेकबाट स्वदेशमै सुन फलाउन सक्रिय उनको जीवनकथा प्रेरणादायी छ । पछिल्लो समय ताङतिङलाई ग्रामीण पर्यटनको नमुना गन्तव्य बनाउने अभियानमा समर्पित गुरुङले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्दै आएका छन् । हरेक गाउँमा उनीजस्ता एकएक जना मात्र सामाजिक अभियन्ता भइदिएमा समाजले छिट्टै फड्को मार्न सक्छ ।’

आउँदो माघमा पोखरामा छोटोरमिठो कार्यक्रम गरेर पुस्तक लोकापर्ण गर्ने तयारी भैरहेको गुरुङले बताए । ‘ताङतिङ मेरो गाउँ’ उनको पहिलो कृति हो, दोस्रो कृति ‘हर्कजङ गुरुङ’ पनि भर्खरै प्रकाशित भैसकेको छ ।

पुस्तक प्रकाशक नेत्रकुमारी गुरुङ हुन् । एक सय ६४ पेजको ‘ताङतिङ मेरो गाउँ’ पुस्तकको अन्तिम खण्डमा रंगीन तस्बिरहरू समेटिएको छ । पुस्तक मोल ३ सय रुपैयाँ राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै