ओली कदमविरुद्ध नेकपाको प्रदर्शन

आदर्श समाज संवाददाता
पौष १५, २०७७
protest rally (2)

तस्बिर : दुर्गाप्रसाद पाैडेल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले पोखरामा मंगलबार विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।

चिप्लेढुंगाबाट सुरु विरोध र्‍याली महेन्द्रपुल, नयाँबजारहुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई नै अध्याँरो सुरुङमा धकेलेको आरोप लगाए । अरुको सेटिङमा चल्दा ओली आफै फसेको पाण्डेको टिप्पणी थियो ।

‘संसद विघटन गर्ने कुरा ओलीले भनेजस्तो आफ्नै सेटिङमा नभई अरुको सेटिङमा भएको हो,’ पाण्डेले भने, ‘भोलि तिनै सेटिङ गर्नेहरुले ओलीलाई अधिकारका निम्ति आफूहरुसँग आउने अवस्था ल्याउने छ ।’ नेकपालाई ४५ लाखभन्दा बढी भोट दिने र लोकतन्त्रका पक्षपातीहरु अहिले दुःखी बनेको र प्रधानमन्त्री ओलीको कदमलाई धिक्कारिरहेको उनले बताए ।

चुनाव चिह्न सूर्य र आधिकारिक नेकपा आफ्नै हुने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद भङ्ग गरेकोले अब संसद पुनःस्र्थापना नहुँदासम्म आन्दोलन जारी रहने बताए । ‘जबसम्म संसद पुनस्र्थापना हुँदैन, तबसम्म आन्दोलन निरन्तर रहन्छ’ उनले भने ।

नेकपाका अर्का नेता खिमलाल देवकोटाले प्रधानमन्त्री ओलीले असंवैधानिक, अराजनीतिक र अनैतिक कदम चालेको आरोप लगाए । गणतन्त्र नेपालमा महाराज बन्ने छुट कसैलाई नरहेको उनको टिप्पणी थियो । उनले संसद भङ्ग गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको भन्दै सरकार जन्माउन नसकेमात्र संसद भङ्ग हुने प्राबधान रहेको बताए ।

कोणसभामा नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य सीता गिरी ओली, नेकपा कास्की सचिव बखानसिंह गुरुङ र धनराज आचार्यलगायतले सम्बोधन गरेका थिए ।
सहभागीले ओली र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले प्रतिगामी सरकारलाई असफल पारौं, नालायक सरकार राजीनामा दे, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद, प्रतिगामीहरु होसियार, वीर सहिद लालसलाम, प्रतिगामी ओली होसियारलगायत नाराबाजी गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width